कक्षा १२ को परीक्षा दिए अनि मुग्लान छिरे । मजदुरी गरेर थोरै रकम जम्मा गर्ने र उच्च शिक्षा हासिल गर्ने उनको धोको थियो । दुर्भाग्य १२ कक्षा त पास गरे । नजिता सुन्न नपाउँदै भारतको उत्तरखण्डको उत्तरकाशीस्थित धरालीमा मजदुरी गर्दा गर्दै सदाका लागि विलीन भए । जाजरकोट कुशे–२ टालेगाउँका १७ वर्षीय रविन सिंहको उच्च शिक्षा हासिल गर्ने धोको अपुरै रह्यो । रविन गत जेठमा भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीको धराली प्रस्थान गरेका थिए, १२ को परीक्षा दिएर । हुन त, उनका आमा, दाइ र बहिनी केही समयअघि नै मजदुरीका लागि भारत गइसकेका थिए ।
परीक्षा सक्नेबित्तिकै अरू गाउँलेसँगै मजदुरीका लागि उनी पनि धराली पुगेका थिए । त्यहाँ पुगेर उनको ज्याला मजदुरी गरी केही पैसा कमाउने र उच्च शिक्षा पढ्ने धोको थियो । तर, सडक निर्माणको काम गर्दा गर्दै पहिरोमा बेपत्ता भए । काका कल्दर सिंहले भने, ‘रविनका दाइ खिमबहादुर सिंह (भारतमा रहेका भतिज)ले भ्वाइस म्यासेजमार्फत यस्तो दुःखद घटना पठाए । हामी सबै स्तब्ध छांै ।’
रविनका दाजु खिमबहादुरले ‘मेरो भाइसहित गाउँका पाँचजना र टालेगाउँमै ससुराली भएका जुम्ला र रोल्पाका एक–एकजना गरी सातजना बाढीमा परी बेपत्ता भएको’ म्यासेज पठाएका थिए । रविनका बुवा अवि सिंहको पनि ८ वर्षअघि भारतकै केदारनाथ तीर्थस्थलमा भएको दुर्घटनामा परी ज्यान गएको थियो ।
बाढीमा परी सोही गाउँका ४४ वर्षीय कर्णबहादुर सिंह बेपत्ता भएको खबर सुनेपछि उनको परिवारमा रुवाबासी छ । भूकम्पले घर भत्काएपछि उनको परिवार टहरामा गुजारा गरिरहेको छ । ‘कमाइ गरेर घर पनि बनाउने र आमाको पनि उपचार गर्ने भनेर जानु भएको हो तर के गर्ने त्यस्तो खबर सुनेपछि मेरो आङमा घाम नै लागेको छैन । सुनेको कुरा सत्य नहोस् हे भगवान् ! मेरा श्रीमान् सकुशल भएको सुन्न पाऊँ’, निरुताले अन्नपूर्णसँग भनिन् । उनका अनुसार उनकी सासू अशक्त छिन् । उनलाई सास बढ्ने र शरीर सुनिने समस्या छ । ‘यहाँ सन्चो हुँदैन । उतै उपचार गर्ने भनेर दुई महिनाअघि जानुभा’ हो, तर यस्तो खबर सुन्नुपर्यो,’ उनले भनिन् ।
असारको खेतीपाती लगाएर दसैं–तिहारमा घर फर्किने गरी गएकाहरू बेपत्ता भएको कुशे–२ का वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिए । ‘उहाँहरू त्यहाँ बस्ने ठाउँ होइन । सामान किन्न वा मजदुरी गर्न बजार जाँदा त्यस्तो घटनामा परेको भन्ने आएको छ,’ वडाध्यक्ष सिंहले भने,‘त्यहाँ कुनै पनि सञ्चार छैन । टेलिफोन विच्छेद भएको छ । सम्पर्क गर्ने माध्यम पनि छैन । वाइफाइमा पनि धेरै कुरा गर्न दिँदैन । हामी सुरक्षित नै छौं तर हाम्रो टोलीका गाउँका ५ र आफन्त २ गरी सातजना त्यही बाढीमा परेर ज्यान गइसकेको छ ।’ आत्तिएको स्वरमा भ्वाइस म्यासेजमार्फत गाउँकै खिमबहादुर सिंहले आफन्तलाई पठाएको सन्देशमा भनिएको छ ।
हामीले पानी पिउने गरेको सानो कुलोको ढिकमा पाल टाँगेरै गुजारा गथ्र्यौं । बर्दियाका विभिन्न स्थानबाट मजदुरीका लागि आएका साथीहरू त्यसमा बस्थ्यो । हामी बस्ने ठाउँमा २८ जनाको टोली थियो । यो क्षेत्रमा मजदुरी गर्ने ७३ जना नेपालीहरू थियौं । सबै जना सडकको काम गथ्र्यौ ।
बुधबार, बिहान करिब ९ देखि साढे ९ बजेको समय थियो । पानी पिउने गरेको कुलोमै बाढी आयो । भताभुंग बनायो । आँखाअगाडि नै एकै गाउँका ५ जना साथीहरू बगेको देख्यौं ।
घटनाको १० मिनेटअगाडि म पनि त्यही सानो कुलोमा थिएँ । मलाई शौचालय लाग्यो र म गएँ । फर्किएर आउँदा त सबै नाश भइसकेको थियो । मलाई जोगिन लेखेको रहेछ । परिवारसहितका साथीहरूलाई खोलाले बगायो । साह्रै दुःखद् एवं कहालीलाग्दो घटना भयो । परिवारै बगेका खड्का परिवार आएको २५ दिनजति भयो होला । के गर्नु यस्तै लेखेको रहेछ । प्रकृतिको खेल हो, कसले रोक्न सक्छ ।
हामी १ सय मिटरको दूरीमा लगातार पाल लगाएर बसेका थियौं । अघिल्लो दिन र सोही दिन पनि बाढी आउने पूर्वसूचना भइरहेको थियो । खड्का परिवार अबेरसम्म टेन्डमै हुनुहुन्थ्यो । एक्कासि बादल फाटेर खोलामा बाढी आयो । उहाँसँगै अन्य त्रिपालमा रहेका साथीहरूलाई पनि बगाएर लग्यो । तत्काल हामीले बगेका साथीहरूलाई खोज्यौं कतै फेला पार्न सकेका छैनौं । खेतमा पानी लगाउने जत्रो कुलो हामीले पानी पिउने गथ्यौं । त्यही कुलोमा आएको बाढीले सर्वनाश गर्यो ।
चित्रबहादुर पौडेल
मधुवन, बर्दिया
कुशे–२ का वडाध्यक्ष सिंहले दिएको जानकारीअनुसार जाजरकोट जिल्ला कुशे गाउँपालिका–२ ढाडगाउँ निवासी ४३ वर्षका मानबहादुर सिंह, वर्ष ४० का रामबहादुर सिंह, वर्ष १७ का रविन सिंह, वर्ष ३५ निमबहादुर सिंह र वर्ष ४५ का कर्णबहादुर सिंह बेपत्ता छन् । त्यस्तै, जाजरकोट कुशे गाउँपालिका–२, टालेगाउँ ससुराली घर भई जुम्ला तिला गाउँपालिका–३, कुडारी बस्ने वर्ष ४५ का जनकबहादुर शाही र जाजरकोट कुशे गाउँपालिका–२, डोग्री ससुराली घर भई रोल्पा जिल्ला निवासी वर्ष २२ का दीपक राना बेपत्ता छन् । धेरैजसो परिवारसहित र केही आफन्तको साथमा त्यहाँ गएको बताइएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रतीले गाउँपालिकाले निकालेको शोक विज्ञप्ति र वडाध्यक्षले बेपत्ता भएका भनी दिएको सूचनाका आधारमा आवश्यक उद्धार तथा खोजका लागि कूटनीतिक पहलका लागि गृह मन्त्रालयमा रिपोर्टिङ गरिएको बताए । गृह मन्त्रालयले सबै पालिकाहरूलाई सम्पर्कमा नरहेका नागरिकको सूचना उपलब्ध गराउन आग्रह गरेअनुसार जिल्लाका सातवटै पालिकामा पत्राचार गरिएको उनले बताए । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले भारतमा बेपत्ता भएको आशंका गरिएका जनकको खोजीका लागि उनका आफन्त भतिजाहरू भारत गएको खबर बुझिएको बताए ।
रोजगारीका लागि काला पहाड जानुपर्ने बाध्यता
रोजगारीका लागि काला पहाड(भारत) जानुपर्ने बाध्यता कर्णालीबासीमा रहेको जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत बताउँछन् । ‘बर्सेनि जाजरकोटबाट मात्रै होइन, कर्णालीको अधिकांश जिल्लाबाट मजदुरीका लागि भारत जाने चलन छ । त्यो बाढी आएको पर्यटकीय क्षेत्र भएका कारण पनि बलिया मान्छेहरू त्यहाँ भारी बोक्न र अन्य कामका लागि जाने चलन छ,’ उनले भने ।
कर्णालीका मानिसहरू वर्षको दुईपटक कमाइका लागि भारत जाने गरेका छन् । असार अन्त्यतिर जाने अधिकांश नेपालीहरू स्याउ टिप्ने कामका लागि पुग्छन् भने हिउँद सकिएपछि जाने नेपालीहरूले गोडमेल गर्ने, होटेलमा र ज्याला मजदुरीलगायत अन्य काम पाउँछन् ।
‘क्लाउड बस्र्ट’ भएर बाढी आएको उत्तरकाशी र भारतको चर्चित तीर्थस्थल केदारनाथ क्षेत्रमा चाहिँ भरियाका रूपमा काम गर्न पनि नेपालीहरू जाने गरेका छन् । युवाहरू खाडी जाने प्रचलन बढ्दै गए पनि अधबैंसे उमेरका मानिसहरू सपरिवार भारत जाने गरेको जिल्ला समन्वय समिति जाजरकोटका संयोजक कालीबहादुर खत्री बताउँछन् । गरिबी र बेरोजगार समस्याले गर्दा वर्षभरिको खानाको जोहो गर्न, उपचार र पढाइ खर्च जुटाउन काला पहाड (भारत) जाने चलन वर्षौंदेखिको रहेको खत्रीको भनाइ छ । पहाडमा प्रशस्त उब्जनी हुँदैन । वर्षभरि खानलाउन पुग्दैन, त्यही भएर पनि दुई छाकको जोहो गर्न भारत जानुपर्ने बाध्यता छ । गाउँबाट गएका पुरुषहरू सामानको भारी र तीर्थयात्रीलाई बोक्ने काम गर्छन् भने महिलाहरू होटेलमा काम गर्छन् । भारतमा गएका मजदुरहरू बर्सेनि विभिन्न दुर्घटनामा परी ज्यान गुमाउन बाध्य छन् ।
नाबालकसँगै बगे खड्कादम्पती
बुधबार बिहान करिब ९ बजे सिद्धु खोलामा एक्कासि बाढीले बबन्डर मच्चायो । एकाएक बादल फाटेर पानी ओइरिएपछि पानी पिउन प्रयोग भइरहेको सानो कुलो नदीमै परिणत भयो । ज्याला मजदुरी गर्दै खोला किनारमा पाल टाँगेर बस्दै आएका साढे १ दर्जन नेपाली सम्पर्कविहीन बने, कतिपय घाइते भए ।
एक्कासि आएको बाढीमा परी बर्दिया जिल्लाको मधुवन नगरपालिका निवासी एकै परिवारका ३ जना र अन्य २ जना गरी ५ जना सम्पर्कविहीन छन् । बाढीमा परी मधुवन नगरपालिका–६, गाउँ नम्बर ४ निवासी अन्दाजी ३९ वर्षीय नरेन्द्र खड्का, पत्नी सरस्वती भण्डारी खड्का र नाबालक छोरा २ वर्षीय रोमन खड्का बेपत्ता परेको मधुवन नगरपालिकाका प्रवक्ता मेकबहादुर गुरुङले बताए । मधुवनकै वडा नम्बर ५ गाउँ नम्बर ८ निवासी रामु परियारकी पत्नी अमृता परियार र सुकुम्बासी टोल बस्ने अन्दाजी २०/२१ वर्षीय सुवास परियार पनि बाढीमा बेपत्ता भएका छन् ।
उनीहरू नयाँ वर्ष मनाएर सडक मजदुरको रूपमा भारत पुगेका थिए । भारतको उत्तराखण्डमा बाढी आएपछि केही नेपाली घाइते भएको र स्थानीय मेडिकलमा औषधी उपचार भइरहेको प्रवक्ता गुरुङले बताए । स्थानीय प्रशासनसँग समन्वय गरी बेपत्ता भएका ब्यक्तिहरूको खोजतलास भइरहेको छ । उनले भने, ‘मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले घटनापश्चात् प्रहरीसहित पीडितका घरघरमा पुगी वस्तुस्थिति बुझ्नु भएको छ । बेपत्ताका कतिपय परिवारहरू खोजतलासका लागि घटना स्थलतर्फ गइसक्नु भएको छ ।’
गुरुङले थपे, पीडितका परिवारलाई जनही २५ हजार रुपैयाका दरले काजकिरिया खर्च उपलब्ध गराउने तयारी नगरपालिकाको छ । पालिकाभित्रका पाँचैजना बाढीमा सम्पर्कविहीन भएपछि सबैजना दुःखी भएका छन् । पालिकाले पनि जिल्ला प्रशासन कार्यालय, प्रहरीसँग समन्वय र सहकार्य गरिरहेको उनले बताए । नाबालकसँगै खड्का परिवारका ३ जना नै बाढीमा बेपत्ता भएपछि गाउँ नै स्तब्ध र मर्माहत भएको छ ।
कमाइ गर्न जाँदा पनि मजदुर सुरक्षित नरहने गरी घटनाले झस्काएको स्थानीय होमबहादुर केसीले बताए । ‘पीडितको घरमा रुवाबासी छ । छिमेकका आँखासमेत रसाएका छन् । पारिवारिक तनावसँगै छर छिमेकसमेत पीडामा छौं,’ उनले भने,‘बेपत्ता व्यक्ति सकुशल पाउने आशामा परिवारलगायत छरछिमेक बसेका छौं । कसरी हुन्छ प्रभावकारी रूपमा खोजतलास गरिदिनुपर्यो ।
नरेन्द्रका बुवा उत्तराखण्डस्थित घटना स्थलमा पुगिसकेका छन् । घटना स्थल क्षेत्रमा कुनै सामान जान सक्ने ठाउँ छैन ।’
बेपत्ता नरेन्द्रका कान्छा बुवा युद्ध खड्काले भने, ‘घटना स्थल हेर्दा हाम्रो आस मर्यो । कि त सास चाहियो कित लास । नरेन्द्रका बुवा घटना स्थलमा जानु भएको छ । अवस्था भेटिएला जस्तो देखिँदैन । उनले थपे,‘मृतक नरेन्द्रका २ छोरी छन् । उनीहरू पनि टुहुरा भए । १२ कक्षामा अध्ययनरत २२ वर्षीया र कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छोरी बावुआमा गुमेपछि बेसहारा बनेका छन् ।’ छोरीहरूको हेरचाह, राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग उनले माग गरे ।
बाढीपछि बेहाल
बाढीबाट सम्पर्कविहीन बनेकाहरूको खोजी भइरहे पनि फेला नपरेको घटनास्थलमा रहेका बर्दियाका चित्रबहादुर पौडेलले जानकारी दिए । ‘तीन दिनदेखि खोजतलास भइरहेको छ । हामीसँगै भारतीय सुरक्षाकर्मीहरूले पनि खोजी गरेका छन्,’ उनले भने,‘तर कसैलाई फेला पार्न सकिएको छैन । नदी, भासलगायत दलदलमा पनि खोजिरहेका छौं । उत्तराखण्डका मुख्यमन्त्री धनसिंह रावत पनि आउनुभएको थियो । उहाँसँग हामीले खोजी गर्न माग राखेका थियौं आश्वासन दिनुभएको छ । घाइते साथीहरूको उपचारमा अस्पतालले पैसा मागेको थियो । मुख्यमन्त्रीसँग कुरा राखेपछि उपचार निःशुल्क भएको छ ।’
उनले अगाडि थपे, नेपाल सरकारले कूटनीतिक हिसाबले राजदूतावासमार्फत भारतीय सरकारसँग मेसिन प्रयोग गरी बेपत्ताहरूको खोजतलास गर्न र पीडितहरूका परिवारलाई राहत उपलब्ध गराउन पहल गरिदिनुपर्यो । हामीले भन्नुभन्दा सरकारले कूटनीतिक रूपमा भारतीय सरकारसँग गरेको सहकार्य थप बलियो हुन्छ । जतिसक्यो छिटो सहकार्य गर्न उनले माग गरे ।
निरन्तर सम्पर्कमा बर्दिया प्रशासन
भारतको उत्तराखण्ड स्थित पौडी जिल्लामा आएको बाढीमा बेपत्ता भएकाहरूको खोज, उद्धार र पहिचानका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले पीडित परिवार, स्थानीयलगायत घटना क्षेत्रमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्क बढाएको छ । बर्दियाबाट रोजगारीका लागि उत्तराखण्ड गएका ५ जना नेपाली बाढीमा परी सम्पर्कविहीन भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पुष्टि गरे । उनले भने,‘ दिल्ली स्थित नेपाली दूतावासबाट जानकारी आएअनुसार बाढीमा परी घाइते भएका ४ जनामध्ये ३ जना आफ्नो निवासमा फर्किएका र १ जनाको उपचार भइरहेको छ ।’
‘दिल्ली स्थित दूतावास र स्थानीय पालिकासँग निरन्तर सम्पर्कमा छौं । त्यहाँ रहेका नेपालीले बताएअनुसार ७३ जना कामदारमध्ये बाँकी सकुशल छन् । त्यहाँबाट फर्किन चाहने नेपालीले भनेको खण्डमा फर्किने व्यवस्था प्रशासनले मिलाउँछ,’प्रजिअ पौडेलले थपे,‘घटना स्थलमा कहिले पानी पर्ने, कहिले घाम लाग्ने भइरहेकाले खोज,
उद्धारमा केही कठिनाइ भएको बुझेका छौं । भारतीय सुरक्षाकर्मीहरूसँग पनि समन्वय भइरहेकाले सुरक्षाकर्मीमार्फत बेपत्ताहरूको खोजी कार्य जारी रहेको उनले प्रस्ट्याए ।
कूटनीतिक पहल सुरु : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् ।
सो बाढीमा केही नेपाली पनि बेपत्ता भएको समाचार आएलगत्तै उनीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी मन्त्री राणाले दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरू पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको बताइन् ।
उनले भनिन्, ‘हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छु ।’
कोही नेपाली मृत फेला परेका छैनन् : नेपाली दूतावास
भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढीपहिरोमा बेपत्ता भए पनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ ।
दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीको खोजी तथा उद्धारका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।
‘बाढीपहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुईजनाको शव फेला परेको छ । उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात आएको बाढीमा पाँचजना नेपाली बेपत्ता भएका छन् । घाइते भएका ४ जना नेपालीमध्ये उपचारपछि ३ जना घर फर्किएको र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !