भू-स्वर्ग बडीमालिका : धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अद्वितीय संगम (फोटो फिचर)
बाजुरा : समुद्री सतहबाट ४,२०० मिटर उचाइमा अवस्थित बाजुरामा अवस्थित बडीमालिका धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अपूर्व संगम हो। प्रत्येक वर्ष साउने जनैपूर्णिमाको अघिल्लो दिन धार्मिक मेला र पूजापाठमा हजारौं भक्तजनको भीड लाग्छ।
हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्लो केही वर्ष यता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढेको छ। प्रत्येक वर्ष साउने जनैपूर्णिमाको अघिल्लो दिन यहाँ विशेष धार्मिक मेला आयोजना हुन्छ। यस अवसरमा बाजुरा, अछाम, कालिकोट, डोटी, डडेल्धुरा, हुम्ला, जुम्लालगायत देश तथा विदेशबाट आएका हजारौं भक्तजन बडीमालिका माताको दर्शन गर्न यहाँ पुग्छन्। विगतका वर्षहरूमा भक्तजनहरु धार्मिक विधि अनुसार पूजापाठ, प्रसाद ग्रहण र आशीर्वाद लिने क्रम बिहानैदेखि बेलुकीसम्म चल्ने गर्थ्यो भने पछिल्लो समय भक्तजनहरुको संख्यामा वृद्धि हुँदै भएकोले यो वर्ष अघिल्लै दिनदेखि रातभर दिनभर लाइनमा लागेर बडीमालिका देवीको पूजा गरे।
नेपाली सेनाले यो वर्ष बडीमालिका माताको मन्दिर पेगोडा सैलीकोको नयाँ बनेकोले विशेष आकर्षणको केन्द्र बनेको छ। भव्य ढाँचा, कलात्मक शिल्प र शान्त वातावरणका कारण भक्तजनहरू लामबद्ध भएर दर्शनका लागि प्रतिक्षा गरेका देखिन्थे। मन्दिर परिसरमा धामी–झाँक्रीको सांस्कृतिक प्रदर्शन, परम्परागत बाजागाजा र भक्तजनको उत्साहपूर्ण सहभागिताले माहोल अझै जीवन्त बनाएको थियो।
बडीमालिकाको टुप्पोबाट देखिने अपूर्व हिमश्रृंखला यहाँको अर्को मुख्य विशेषता हो। सफा मौसममा अपि, सैपाल, र विभिन्न हिमशिखर स्पष्ट देखिन्छन्। प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीयरुपले बडीमालिका पर्यटक र भक्तजन दुवैका लागि अविस्मरणीय गन्तव्य बन्दै गएको छ।
बाजुरा जिल्लाको बडीमालिका हिन्दू धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र हो। श्रावण शुक्ल त्रयोदशी र चतुर्दशीमा लाग्ने मेलामा नेपालका विभिन्न जिल्ला र भारतको कुमाऊ–गढवाल क्षेत्रबाट समेत हजारौं भक्तजन यहाँ पुग्छन्।
बडीमालिका पुग्न कठिन भएपनि त्यहाँको आध्यात्मिक शान्ति, हरियाली पाटन, हिमश्रृंखला र प्राकृतिक सौन्दर्यका अगाडि यात्रा कठिनाइ गौण हुन्छ। यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वासहरू प्रचलित छन्।
बाईस पाटनमध्ये त्रिवेणी, खेतिबेति, लाटेको पाटन, हाटपाटा पाटन लगायतका पाटनहरु प्रसिद्ध छन्। खेतिबेति क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ। यहाँ डाफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन्।
धार्मिक र पर्यटकीय दृष्टिले बडिमालिकाको महत्व अत्यन्त उच्च भएपनि सरकारी ध्यान अझै पुगेको छैन। पानी र शौचालयको अभाव, धर्मशाला र बासको कमी, बाटोमा संकेत चिह्न नहुँदा तिर्थालुहरूलाई कठिनाइ भइरहेको छ। पैदल मार्गसमेत बन्न नसकेका कारण बाटोमै चिप्लिएर बर्सेनि यात्रुको मृत्यु हुने गरेको छन्। दुर्गन्ध र फोहोर व्यवस्थापनका चुनौती समाधान गर्न नसकिएकोले तत्काल संरक्षण र पूर्वाधार विकासमा राज्यको ध्यान आवश्यक छ।





























प्रतिक्रिया दिनुहोस !