बिजनेस क्लासमा यात्रु आकर्षित
काठमाडौं : विश्व हवाईयात्रामा बिजनेस क्लास र प्रिमियम चढ्ने यात्रुको संख्या बढेको तथ्यांकले देखाएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईटा) ले गत साता सार्वजनिक गरेको सन् २०२४ को तथ्यांकअनुसार विश्वका कुल हवाई उडानमा बिजनेस क्लास चढ्ने यात्रुको संख्या ११.८ प्रतिशतले बढेको उल्लेख छ ।
आईटाले जारी गरेको विश्व हवाई यातायात तथ्यांक (डब्लूएटीएस) को पछिल्लो संस्करणले २४० भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको तथ्यांकको विश्लेषण गरेको छ । उक्त तथ्यांकअनुसार इकोनोमि क्लासको प्रतिशत ११.५ रहेको छ । कुल बिजनेस र प्रिमियम क्लास यात्रुको संख्या करिब ११ करोड ६० लाख रहेको छ । यो संख्या कुल अन्तर्राष्ट्रिय यात्रुको ६ प्रतिशत हिस्सा हो ।
प्रतिवेदनले सञ्चालन लागत र राजस्व, विमान उपयोग र एयरलाइन्स कर्मचारीहरूको संख्या र उद्योगको वित्तीय स्वास्थ्यको विश्लेषणसहित उक्त तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकअनुसार कुल अन्तर्राष्ट्रिय यात्रुको संख्या करिब २ अर्ब रहेको छ ।
अन्तर्राष्ट्रिय यात्रु संख्या वृद्धिमा सबैभन्दा अघि एसिया प्यासफिक क्षेत्र रहेको छ । यस क्षेत्रको कुल अन्तर्राष्ट्रिय यात्रु वृद्धिदर २८.३ प्रतिशत रहेको छ । जहाँ बिजनेस क्लास यात्रुको वृद्धि २२.८ प्रतिशत र इकोनोमी यात्रुको वृद्धिदर २८.६ प्रतिशत रहेको छ । कम अन्तर्राष्ट्रिय यात्रु वृद्धिदर भने नर्थ अमेरिका क्षेत्रको रहेको छ । जहाँ कुल यात्रु वृद्धिदर ५.९ प्रतिशत, इकोनोमि क्लास ५.६ प्रतिशत र बिजनेस क्लास ९.४ प्रतिशतको
वृद्धिदर रहेको छ ।
विश्वका व्यस्त विमानस्थल
आईटाको तथ्यांकअनुसार सन् २०२४ मा विश्वको सबैभन्दा व्यस्त विमानस्थल जोडीमा एसिया प्यासिफिक क्षेत्रको जेजु–सियोल रहेको छ । यी विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय मार्गका रूपमा रहेको यी विमानस्थलबीच १ करोड ३२ लाख यात्रुहरूले उडान गरेका थिए । १० व्यस्त विमानस्थलमा एसिया प्यासफिक क्षेत्रको नै प्रभुत्व रहेको छ ।
- जेजु–सियोल गिम्पोः
१३.२ मिलिनियम
- साप्पोरो– टोकियो हानेडाः
९.२ मिलिनियम
- फुकुओका–टोकियो हानेडाः
९ मिलिनियम
- हानोइ–हो चि मिन्ह सिटि ः
८ मिलिनियम
- मेलवर्न टुल्लामरिन–सिड्नीः
७.२ मिलिनियम
- जेद्दा–रियादः ६.३ मिलिनियम
- मुम्बई–दिल्लीः ५.९ मिलिनियम
- टोकियो हनेडा–ओकिनावाः
५.६ मिलिनियम
- सांघाई होङ्किअओ–सेन्झेनः
५.३ मिलिनियम
- बेइजिङ क्यापिटल–सांघाई
होङ्किअओः ५.३ मिलिनियम
बोगोटा–मेडेलिन ३८ लाख यात्रुसहित ल्याटिन अमेरिकाको सबैभन्दा व्यस्त रुट थियो भने केप टाउन–जोहान्सबर्ग ३३ लाख यात्रुसहित अफ्रिकाको सबैभन्दा व्यस्त रुट थियो । न्युयोर्क जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल–लस एन्जलस २२ लाख यात्रुसहित उत्तर अमेरिकाको सबैभन्दा व्यस्त रुट थियो भने बार्सिलोना–पाल्मा डे मलोर्का २० लाख यात्रुसहित युरोपभित्र सबैभन्दा व्यस्त रुट थियो ।
सन् २०२४ मा बोइङ र एयरबसका न्यारोबडी विमानहरू सबैभन्दा धेरै प्रयोग भएका छन् । बोइङ ७३७ विमान (सबै भेरियन्टहरू सहित) ले २०२४ मा २.४ ट्रिलियन उपलब्ध सिट किलोमिटर (एएसकेज) सहित १ करोड उडान गरेको छ । यसपछि एयरबस ए३२० ले ७.९ मिलियन उडान र १.७ ट्रिलियन एएसकेज तथा एयरबस ए३२१ ले ३.४ मिलियन उडान र १.१ ट्रिलियन एएसकेज रहेको थियो ।
यता, अमेरिका २०२४ मा ८७ करोड ६० लाख यात्रुसहित विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । यहाँ हुने घरेलु उडानमा अघिल्लो वर्षको तुलनामा ५.२ प्रतिशतको वृद्धिले अमेरिका विश्वको ठूलो उड्डयन बजार बनेको हो । अमेरिका पछि ७४ करोड १० लाख यात्रुसहित चीन दोस्रो ठूलो उड्डयन बजार भनेको छ, जुन २०२३ को तुलनामा १८.७ प्रतिशतले वृद्धि हो ।
प्रतिक्रिया दिनुहोस !