लुम्बिनीका ९ लाख ८२ हजार घरधुरीमा खानेपानीको आधारभूत सुविधा
अर्घाखाँची : लुम्बिनी प्रदेशका ९ लाख ८२ हजार ३५ घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ८६ प्रतिशत अर्थात् ९ लाख ८२ हजार ३५ घरधुरीमा खानेपानीको आधारभूत सुविधा पुगेको लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता गुणानिधी पोख्रेलले जानकारी दिए।
उनका अनुसार आधारभूत खानेपानी भन्नाले हेन्ड पम्प, पाइपलाइन, एक घर एक धारा, इनार, पोखरी तथा कुवाको खानेपानीको सुविधा पुग्नु हो। एक घर एक धारासहितको व्यवस्थित खानेपानी भने लुम्बिनी प्रदेशका ७४ प्रतिशत घुरधरीमा मात्र पुगेको प्रवक्ता पोख्रेलको भनाई छ।
सन् २०३० सम्ममा नेपालका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने दिगो विकासको लक्ष्यमा उल्लेख छ। लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशका सबै घरधुरीमा एक घर एक धारा पुर्याउने अभियानका साथ काम गरिरहेको छ।
प्रदेशभरि १४ सय क्रमागत आयोजनाहरू सञ्चालन भएका छन् । ती योजना सम्पन्न भइसक्दा तथा अन्य केही योजनाको काम सकिँदा सबै घरधुरीमा खानेपानीको पहुँच पुग्ने लुम्बिनी प्रदेश सरकारको आकलन छ।
खानेपानी आयोजनाका लागि यस वर्ष विभिन्न शीर्षकमा १ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। गत वर्ष अर्थात् आर्थिक वर्ष २०८१।८२ मा १ सय २४ वटा खानेपानी योजनाहरू सम्पन्न भएको र यसबाट १ लाख ५६ हजार ७ सय ३६ जना लाभान्वित भएको लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा (रोज राणा)ले जानकारी दिए।
अर्घाखाँचीका पनि ८६ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी र ३८ प्रतिशत घरधुरीमा एक घर एक धारासहितको व्यवस्थित खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख सिनियर डिभिजन इन्जिनियर राम भरोस यादवले जानकारी दिए।
२०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशको कुल जनसंख्या ५१ लाख, २२ हजार, ७८ रहेको छ। सबै घरधुरीमा इबस्थित एक घर एक धारासहितको खानेपानी पुर्याउन झण्डै २२ अर्ब रुपैयाँ आवश्यक पर्छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गर्दै गएको बताए।
प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको उनले बताए। उनले भने,‘आधारभूत पानी मात्रै होइन, स्वच्छ पानी पुर्याउने संकल्प सरकारले गरेको छ ।’
प्रतिक्रिया दिनुहोस !