कालोपोखरीमा प्रकृति पूजापछि मात्रै गोठाला र गोठ ल्याउन अनुमति
गोरखा : ३,४६६ मिटर उचाइमा रहेको कालोपोखरीमा झाँक्रीले दिनभरि प्रकृति पूजा गरेपछि मात्र धार्चेका गोठालाहरुले यहाँ गोठ ल्याउन पाउने परम्परा छ। बोन्पो गुरुङ, घलेहरुको बसोबास रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिका–१, २ र ६ तथा धादिङको रुवीभ्याली गाउँपालिकाका किसानले पोकरचेतस्थित कालोपोखरीमा पूजा गरेपछि मात्र गोठ राख्ने परम्परा रहेको छ।
परम्परालाई निरन्तरता दिँदै केहीदिनअघि गाउँका डाङ्ग्रे(झाँक्री) बसेर कालोपोखरीको पूजा गरेका छन्।
झाँक्रीहरुले कालोपोखरीको मुल देवता ‘प्राच्यु ल्ह’को पूजाआजा गरेपछि मात्र यहाँ गोठ राख्न पाइने परम्परा रहेको धार्चे गाउँपालिका–२ का वडाअध्यक्ष सरोज गुरुङले बताए। गुरुङका अनुसार प्राच्यु ल्ह देवताले प्रकृतिमा भएको तत्त्वहरू हावा (हुरी), पानी (झरी), असिना र जंगली जनावरहरु बाघ र भालुलाई नियन्त्रण गर्न सक्ने जनविश्वास छ।
परम्परालाई निरन्तरता दिन यसवर्ष धार्चे गाउँपालिकाको आयोजना र धार्चे मनासलु पर्यटन विकास समितिले यस संस्कृतिको सम्बद्र्धन, प्रवद्र्धनमा साथ दिए। गाउँपालिका र पर्यटन विकास समितिको समन्वयमा यसवर्ष कालोपोखरी मेला आयोजना गरिएको थियो।
कालोपोखरीलाई मध्यनजर गरेर गोरखाको भार्चे र धादिङको रुवीभ्याली गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने खाले कार्यक्रमहरू गर्दै आएको छ। पर्यटन विभाग अन्तरगतको ग्रेटहिमालयन ट्रेलले पर्यटकलाई कालोपोखरी हुँदै मनासलु क्षेत्र जान पदमार्ग निर्माण गरेको छ। ग्रेट हिमालयन ट्रेलले धादिङको रुवीभ्यालीकाट कालोपोखरी हुँदै मनासलु क्षेत्र जाने पदमार्ग निर्माण गरेको हो।
प्रतिक्रिया दिनुहोस !