बाजुराको बाम खोलामा बाढी : बस्ती, पुल र विद्यालय बगायो
बाजुरा: हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती र खेतीयोग्य जमिन, पुल, विद्यालयका संरचना, जलविद्युत आयोजना लगायतका संरचनामा बगाएको छ । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर र खेती योग्य जमिन बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
स्थानीय साजन थापाका अनुसार बाढीले विशेष गरी खोला किनारका बस्ती र खेतबारी, पुल, जलविद्युत आयोजना लगायतमा ठूलो क्षति भएको बताए। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले भने, 'अहिलेसम्म बिच्छाया खोला किनारा नजिकका ८, १० वटा घरहरु बगाएको र खोला किनाराका खबै खेती योग्य जमिन बगाएको सुन्नमा आएको छ । बिच्छायामा टेलिफोन समेत नलाग्ने भएकोले के कति क्षति भएको भन्ने विवरण आई नसकेको अध्यक्ष मल्लले बताए । आफूसहित गाउँपालिकाको टिम घटनास्थलतर्फ जाँदै छौं ।' उनले थप विवरण पुगेपछि मात्र प्राप्त हुने बताए ।
मल्लका अनुसार बिच्छ्या खोलामा आएको बाढीले वडा नं. १, ३ र ५ मा क्षति पुर्याएको छ । तर प्रभावित परिवार र खेति योग्य जमित तथा अन्य सम्पत्तिको विस्तृत विवरण अझै संकलन हुन सकेको छैन ।
घटनापछि नेपाल प्रहरीको टोली उद्धार तथा अनुगमनका लागि प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि, सम्पर्कका लागि स्थानीय टेलिफोन तथा मोबाइल नेटवर्क नचलेका कारण जानकारी संकलनमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षा अझै जारी रहेकाले थप बाढी र पहिरोको जोखिम रहँदा स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्यायले बताए ।
प्रतिक्रिया दिनुहोस !