इजरायल र प्यालेस्टाइनबीचको पुरानो द्वन्द्वले गाजापट्टी तनावग्रस्त छ । त्यसका कारण बेलाबखत हमासले इजरायलका विभिन्न स्थानमा खुलेआम बमबारुदका साथ आक्रमण गर्छन् । यो नै इजरायलमा बस्ने सबै देशका नागरिकका लागि समस्याको विषय हो । इरानसँगको पछिल्लो द्वन्द्वले आगोमा घिउ थपेको छ । तर, अर्कोतिर विश्वकै महँगो सहरमध्ये एक हो, इजरायलको तेल अविभ । अनि इजरायल विश्वको धनीमध्ये १६औं देश । झैंझगडा र आक्रमण नहुने हो भने कमाइका दृष्टिले उत्तम छ इजरायल । जी–टू–जी, अर्न एन्ड लर्न आदि कार्यक्रममा झन्डै ६ हजार नेपाली इजरायलमा छन् । केही मानसिक त्रास भए पनि उनीहरू सहज र गुणस्तरीय जीवनयापनसँगै राम्रो आम्दानीका कारण इजरायल छोड्न मान्दैनन् ।
‘घटना सम्झँदा नेपाल फर्किउँ लाग्छ, कमाइ सम्झँदा इजरायल नै बसौं लाग्छ’
‘तिबेरियामा मिसाइल खस्दैछ, तिमेरु जतिसक्दो चाँडो बंकरभित्र पस र सुरक्षित भएर बस... ।’ इजरायलको तिबेरियामा डेढ वर्षदेखि केयर गिभरमा कार्यरत इटहरी सुनसरीकी गीता दाहाललाई आफ्नै कार्यालय (केयर गिभर सेन्टर)को चालकले फोन गर्दै हिब्रो भाषामा बोल्यो । यसरी कहिल्यै सूचना नदिएको चालकका कुरा सुरुमा त उनले पत्याइनन् । सामान्य अवस्थामै काम गरिरहिन् । ‘तिमेरु बसेको घरमा ढोका ढकढक गरेर घरबेटीलाई खोलिमाग । खुरुक्क जाओ, मिसायल आउँदैछ ।’, चालकले फेरि गम्भीरताका साथ दोहोर्यायो ।
‘केही साताअघि जब इजरायलले इरानलाई हान्यो तब इरानले पनि इजरायलको नामोनिसान मेटाइदिन्छु भन्यो रे ! अनि त डर नलाग्ने कुरै भएन । त्यसपछि त ओठ तालु सुक्न थाल्यो ।’, डेढ वर्षअघि ‘जी–टू–जी’ कार्यक्रममार्फत इजरायल पुगेकी गीताले सुनाइन् ।
चालकले भन्दै गर्दा अचानक साइरन बज्यो । एउटी साथीसँग भएकी गीता अत्तालिन थालिन् । उनीहरूलाई थाहा छ, ‘साइरन बजेपछि दुई मिनेटभित्र मिसायल खस्छ ।’ साइरन बजेको बज्यै थियो । चालकले भनेको भन्यै छ मोबाइल सेटमा, ‘छिट्टो जाओ, छिट्टो ।’ काम गरेको स्थानबाट दौडिएर घरको माथिल्लो भागमा रहेको बंकर पुग्दा ढोका बन्द भइसकेको हुन्छ । ‘घरबेटी बंकरभित्र छिरिछन्, हामीले चिच्याएको पनि सुनिनछन् । ढोकै खोलिनन् । घरैमाथि मिसायल खसेको आवाज आयो ।’, गीता अत्तालिँदै केही साताअघिको घटना सुनाउँछिन्, ‘कुनै झर्दै थिए । हाम्रो हंशले ठाउँ छोडिसकेको थियो । धन्न चोइटाचोइटीमात्र खसेका रहेछन् ।’ उनका अनुसार, केही समयअघि त ४/५ सय वटा मिसायल एकैपटक हान्थ्यो रे इरानले इजरायलमा । थप्छिन्, ‘इजरायलीले सुनाउँथे, इरानले मिसायलमा पेट्रोल पनि हालेर फ्याँक्थ्यो रे !’
‘घरबेटीलाई नामले रोनी रोनी भनेर चिच्यायौं र भन्यौं, आकाशभरि ‘अजाका’ (मिसायल) फ्याँक्दैछ । उता चालकले फेरि फोन गरेर सिकाउँछ, ढोकामा बेस्सरी हान्नू ।’, गीताले सुनाइन् । भने जसरी ढोकामा आवाज दिएपछि केहीबेरमा रोनी आएर ढोका खोलिन् । गतसाता तेल अविभमा भेट्दा यो घटना सुनाइरहेकी गीताको ओठतालु सुकेको थियो, आवाज क्रमश: भासियो । उनले बंकरभित्रको बसाइमा कुइनाभरि चोट लागेको देखाइन् ।
‘बरु पैसा चाहिँदैन, घर जान्छु भन्ने पनि आयो मनमा । बमबारुद नहान्ने हो भने त फेरि कमाइ राम्रो छ यहाँ । दु:ख गरे पनि पारिश्रमिक भनेजस्तो छ ।’, नेपाल फर्किने कि इजरायल नै बस्ने ? भन्ने प्रश्नमा दुविधायुक्त जवाफ दिँदै उनी भन्छिन्, ‘नेपालबाट कमाउन आएका सबै नेपाली बाध्यताले बसेका छन् । युद्ध चले पनि धेरैले नजाने भनेको सुनेको छु । नेपालमा बेरोजगारी पीडाले होला, सहेर बस्छु भन्ने धेरै भेटेकी छु ।’
इजरायल पुगेका नेपालीले सुनेका छन्, ‘इजरायलले देशभित्र हानेका बम, बारुद र मिसायललाई आकाशमै डिस्पोज गराउँछ । कतिपय सिधै ध्वस्त पार्न सकेन भने सहरबाहिर ओल्टोकोल्टो ठाउँमा खसाल्छ । कहिलेकाहीँ धेरै थोरै मात्र चोइटाचोइटी झर्छन् ।’ त्यही भएर डरबाट मुक्त पनि छन् इजरायली र नेपाली नागरिक । गीता भन्छिन्, ‘नेपालबाट बमबारुद हानेको टेलिभिजनमा हेर्यौं भन्नुहुन्छ तर इजरायलमा अहिले त्यस्तो छैन । कुनै कुनै घटनालाई अपवाद मान्ने हो भने सुरक्षित नै छौं ।’
‘सुरुसुरुमा डर लाग्थ्यो, अचेल लाग्दैन’
भारतको मणिपुरबाट सात वर्षअघि इजरायल पुगेकी गीता पौडेल जेरुसेलमस्थित घरमा केयर गिभरका रूपमा कार्यरत छिन् । ‘सुरुसुरुमा एकदमै डर लाग्थ्यो । राजधानी भएर होला, जेरुसेलममा त त्यस्तो हुँदैनथ्यो ।’, उनी भन्छिन्, ‘तर इजरायल आएपछि पहिलोपटक दुई वर्षअघि एक दिन बिहानै पडकएको आवाज आयो । मर्निङ वाक सकेर नास्ता बनाउँदै गर्दा सातो गयो । किनकि जताततै हानेको सुनियो ।’ त्यसपछि उनले भारतस्थित घर जान काटेको टिकट पनि स्थगित गर्नुपर्यो । ‘गत अक्टोबरमा जान खोजेको जेरुसेलममै पड्काएपछि यात्रा रोक्नुपर्यो । तर एक सातापछि गएँ’, उनी सम्झन्छिन् ।
पौडेलले पनि इजरायलको ‘सिस्टम’ राम्रो छ भनेको सुनेकी छन् । ‘सरकारको प्रतिकार गर्ने शैली र क्षमता राम्रो भएको बुझेकी छु, सुरक्षित हुन सकिन्छ भन्ने बुझेकाले अचेल धेरै ढुक्क लाग्छ’, जेरुसलाम पुग्दा अन्नपूर्णसँगको कुराकानीमा पौडेलले भनिन्, ‘म चौबिसै घण्टा केयर गिभरमा हुन्छु एउटा घरमा । घरमुनि बंकर छ । पछिल्लो समय त नयाँ घर बनाउनेले हरेक तलामा बनाउन थालेका छन् ।’
पौडेलका अनुसार, ‘बंकरमा भ्यान्टिलेसन हुन्छ । जहाँ बलिया रड राखिएको हुन्छ । बंकरभित्र बस्न कुर्सीको सुविधा हुन्छ । कतिपय बंकरमा इन्टरनेट पनि पक्रिँदैन । बंकर हेरी कति मानिस बस्न मिल्छ भन्ने हुन्छ । हाम्रो घरमा १५/२० जनामात्र बस्न मिल्छ । कति काम गर्नेलाई त बस्नकै लागि बंकरमा कोठा दिएको हुन्छ ।’ जब ‘अलर्ट साइरन’ बज्छ तब सबै दौडिएर बंकरमा पस्छन् र अब सुरक्षित छ भन्ने भएपछि मेसेज आउँछ, ‘फर्किन सक्छौ, शान्त भयो’ भनेर । नेपालबाट विपिन जोशीलगायतको समूह कृषिमा आएको पौडेलले थाहा पाएकी थिइन्, जब दक्षिणी इजरायलको आलुमिममा ७ अक्टोबर २०२३ मा हमासले एकाबिहानै बमबारुद बर्साए । ‘सबैका लागि दु:खकै कुरो थियो त्यो ७ अक्टोबरको घटना । हामीलाई त धेरै नै पीडा महसुस भयो । नेपालकै भाइहरू मारिए, विपिन भाइ अपहरणमा परिरहेकै छन् । सम्झेर ल्याउँदा मुटु फुट्छ ।’, पौडेल पीडा सुनाउँछिन्, ‘सीमा नाका खुला हुँदा इजरायलमा आतंककारी चाहिँ जतिबेला जसरी पनि पस्न सक्छन् र यस्ता घटना दोहोर्याउन सक्छन् । यस कुराले चाहिँ मनभरि डर भइरहन्छ ।’ भनिन्, ‘विपिनको विषय एउटा भयो । यो दुर्घटना हो, सधैं यस्तो भइरहँदैन । तर यहाँ बसेका हामी सबै उनको तत्काल रिहाइको माग र कामना गरिरहेका हुन्छौं ।’
पौडेल दाहाल जसरी नेपाल र इजरायल सरकारको ‘जी–टू–जी’ कार्यक्रमबाट नभई एजेन्टको सहयोगमा इजरायल आएकी हुन् । नेपाल माइती बताउने उनी हाल काम गरिरहेको घरकी आमा बाँचुञ्जेल काम गर्न पाउँछिन् । बाहिरफेर घुम्दा होस् वा किनमेल गर्न बजारतिर जाँदा, साइरन बज्नेबित्तिकै नजिकको बंकरमा पस्न पाइने उनले बताइन् । ‘बाटोमै आपत्कालीन अवस्था आए हातले टाउको छोपेर सुत्नुपर्ने हुन्छ, चोइटाचोइटी उछिट्टिएर नलागोस् भनेर’, पौडेलले भनिन्, ‘बस, रेल चलिरहेको अवस्थामा साइरन बज्यो भने पनि रोक्छन् ।’ कुन क्षेत्रमा बमबारुद वा मिसायल खसाल्ने हो, त्यो क्षेत्र वा सहरमा मात्र साइरन बज्ने उनको भनाइ छ । होसियारी अपनाए खासै समस्या नहुने उनको बुझाइ छ ।
क्रमश: बानी परेका कारण मरिन्छ भन्ने डर त लाग्दैन अचेल पौडेललाई । ‘बानी पनि पर्दै गयो । युद्धग्रस्त क्षेत्र हो भनेर मानसिक रूपमा तयार भएकै हो । मर्न त एक दिन मर्नैपर्छ । जहाँ जतिखेर जे भएर पनि मान्छे मर्न सक्छ भनेर सम्झन्छु’, उनले सुनाइन् । उनी केही दिनअघि इरानले हमला गर्यो भन्दामात्रै बंकर पसेको बताउँछिन् । ‘नत्र त्यसरी बंकरमा गएको थिइनँ । डराउनु पर्दैन, आत्तिनु पर्दैन भनेर नेपालबाट आउने नयाँहरूलाई हामी नै सम्झाउँछौं’, उनी थप्छिन्, ‘आफूले हेरचाह गर्नुपर्ने वृद्धवृद्धा हिँड्न सक्दैनन् भने आपत्कालीन अवस्थामा भित्तामा कतै सुरक्षित बनाए आफू बंकरमा जान इजरायल सरकारले नै अनुमति दिएको छ । तिनलाई लैजानै पर्छ भन्ने छैन ।’ जेरुसेलममा पुरानो सहर भएकाले सबै घरमा बंकर छैनन् । ‘त्यस्तो हुँदा सिँढीमुनि बस्ने गर्छन् । दुर्भाग्य, भिडियो बनाउन निस्कनेहरू घाइते हुन्छन्’, उनी सुनाउँछिन्, ‘त्यसो नगर्नु भनिरहेको हुन्छ टेलिभिजनले तर कति टेर्दैनन् र घाइते हुन्छन् । तर पनि यहाँका बालबालिकासमेत तालिम प्राप्त र सिपालु हुन्छन् कसरी सुरक्षित हुने भनेर ।’
केयर गिभरमा हुने नेपाली भन्छन्, ‘हामीलाई राम्रो छ, बरु म्याद थपिदिए हुन्थ्यो ।’
दाङ घोराहीका गिरीराज ओली सन् २०२२ को अगस्टमा इजरायल आए । जी–टू–जी कार्यक्रमबाट आएका उनी सुरुमा तिबेरिया र अहिले तेल अविभमा कार्यरत छन् । उनले भने, ‘इजरायलको श्रम कानुन एकदमै राम्रो छ, म त खुसी छु ।’ सुनसरीबाट इजरायल आएकी आश्मा शिवाकोटीले थपिन्, ‘तेल अविभस्थित याफाको यो हाउरा एज केयरिङ सेन्टरमा काम गर्दैछु । जे जस्तो आशा लिएर आएकी थिएँ, पूरा हुँदैछ । यहाँको व्यवस्थापन राम्रो छ ।’
सिन्धुपाल्चोकबाट आएकी सपना कार्कीले नेपालबाट इजरायल भ्रमणमा पुगेका पत्रकारको टोलीसँग भनिन्, ‘काम गर्ने ठाउँ पनि पारिवारिक लाग्छ ।’ साढे तीन वर्षअघि आएकी हेटौंडाकी रक्षा गौतमले सुनाइन्, ‘सुरुमा कामबारे जानकारी नहुँदा पनि राम्ररी सिकाए । गल्ती गर्दा पनि होच्याउने र कराउने हुँदैन । त्यसैले हामीले पनि सकेको राम्रो गर्दैछौं ।’ यो सेन्टरमा २६ र यसकै अर्को शाखामा ४४ गरी ७० नेपाली युवकयुवती कार्यरत छन् । इजरायलमा केयर गिभरमा करिब पाँच हजार नेपाली कार्यरत छन् । विराटनगरकी मञ्जु भुजेल मन्टेश्वरी बेस्ड टिचर हुन् ।
राम्रो कमाइ हुने र महिलालाई इज्जत हुने सुनेर इजरायल आएको बताउने उनले भनिन्, ‘जी–टू–जीबाट आउनेलाई सोचेभन्दा राम्रो छ । म त भन्छु, नेपाल सरकारले सकेसम्म धेरैलाई यता पठाओस् ।’ तीन वर्षदेखि कार्यरत दोलखाकी सीता जिरेल पनि कामको सम्मान देखेर मख्ख छिन् । सुरुमा उत्तरी इजरायलको अफुल्लामा काम गरेका बाराका गणेश वाग्लेले कामलाई महŒव र सम्मान दिएको देखेर खुसी प्रकट गरे । उनले भने, ‘बाहिर लडाइँ झगडा जे भए पनि अलिकति ध्यान दिने हो भने यसरी काम गर्दा सुरक्षित भइन्छ ।’
काठमाडौं चन्द्रागिरिका अमृत सापकोटाले भने, ‘टेलिभिजनमा देखेजस्तो, हल्ला सुनेजस्तो असुरक्षित छैन इजरायल । काममा पनि जबरजस्ती छैन, सम्झौताअनुसार काम र दाम पाएका छौं ।’ २०२२ को अगस्ट १६ मा इजरायल आएको वर्ष दिन कट्नै लाग्दा ७ अक्टोबरको घटना भयो संखुवासभाका लेखनाथ कार्कीको सन्दर्भमा । तर त्यसले उनलाई असर पारेन । उनले भने, ‘मलाई सुरुमा भाषाले समस्या भयो, अलि समय भिजेपछि सहज छ काम गर्न ।’
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले भने, ‘इजरायलमा १४ हजार केयर होम छन् । इजरायलमा यसको माग छ तर माग गरेअनुसार तयार पारेको एक हजार नेपालीलाई समयमै ल्याउन नसक्दा श्रीलंकाले मौका पाएको छ ।’ सेन्टरमा भेटिएका यी नेपाली युवाले भने, ‘पाँचवर्षे सम्झौता सकिन एक, डेढ वर्ष बाँकी छ, सरकारले म्याद थपिदिए हुने । यहाँ मासिक कमाइ कम्तीमा अढाइ लाख र बढीमा साढे तीन लाख रुपैयाँसम्म हुन्छ । नेपाल फर्किएपछि फेरि बेरोजगार हुन बेर छैन ।’
शुक्रबार र शनिबार खुसियाली मनाउँछन् इजरायलमा
युद्ध चलिरहेका बेला तत्तत् कार्यालयले कर्मचारीलाई हिँड्न दिँदैनथ्यो । हाइफा, तेल अविभ र हाइफातिर बढी बमबारी हुने स्थानीयवासी बताउँछन् । चार वर्षयता ठूलो घटना भएका रहेछन् । हुन त झन्डै २४ वर्षदेखि इजरायलीले यस किसिमको पीडा र तनाव खेपिरहेका छन् । ढुक्कले सुत्ने र खाने पनि कथाजस्तो लाग्छ उनीहरूलाई ।
‘यहाँका नागरिक कति त रुनु न हाँस्नु, सुत्नु कि नसुत्नुको अवस्थामा पनि हुन्छन् । आक्रमणका समयमा बम खसेको खस्यौ ।’, तिबेरियामा कार्यरत गीता दाहाल भन्छिन्, ‘कत्तिको प्रेसर हाई हुन्छ, औषधि खाँदा पनि नछुने हुन्छ । भन्दा कसलाई के भन्नु ? सुनाउँदा कसलाई सुनाउनु कहिले युद्धविराम हुन्छ भनेर ? ’ कतिबेला के हुन्छ ? सुरक्षाको ग्यारेन्टी नभएको भन्दै बाँचुञ्जेल रमाइलो गर्ने यहाँको चलन भइसकेको छ । यहाँका नागरिक शुक्रबार ६ बजेदेखि मोबाइल नचलाउने, टेलिभिजन नहेर्ने अनि गाडी नकुदाउने बरु परिवारसँग बसेर खानपिन गर्ने, खुसीयाली मनाउने इजरायली नागरिक माया लुस्तिज सुनाउँछिन् । यो क्रम शनिबार रातको ८ बजेसम्म चल्छ । शबबाद सलोम (बिदा)को नाममा उनीहरू खुसीयाली मनाउँछन् । आइतबार शबवातोप भन्छन् अर्थात् साताभरि राम्रो होस् भनेर कामना गर्छन् ।
किन फैलियो त्रास इजरायलमा ?
इजरायलसँग नेपालले मित्रता गाँसेको ६५ वर्ष पुगेको छ । नेपाली युवाको वैदेशिक गन्तव्य बनेको छ इजरायल । ७ अक्टोबर २०२३ मा हमासले विभिन्न स्थानमा गरेको आक्रमणबाट १० नेपालीसहित झन्डै १२ सयले ज्यान गुमाएका थिए भने सयौं घाइते भए । नेपाली युवा विपिन जोशीसहित झन्डै ६० जनालाई हमासले अपहरण गरेका छन् जसको अवस्था अझै अज्ञात छ । खासगरी इजरायलले गाजापट्टी (सिटी)लाई सैन्य नियन्त्रणमा लिने नयाँ योजना अघि सारेपछि आक्रमण चर्किएको हो । योजना पूरा गर्न करिब छ महिना लाग्ने अनुमान इजरायल सरकारको छ । त्यहाँका सञ्चारमाध्यमले उक्त योजना देशको सुरक्षा परिषद्ले स्वीकृत गरेको हो । नेपालका लागि पूर्वराजदूत हनान गोदारले नेपाली पत्रकारको टोलीसँग भने, ‘हामी आक्रमण गरेर आतंककारी हमासको अन्त्य गर्न चाहन्छौं र उनीहरूको बन्धकमा रहेका नेपाली विपिन जोशी, इजरायली जनता र अन्य देशका नागरिकलाई मुक्त गर्न चाहन्छौं ।’
१९ नेपाली पत्रकारको ‘स्पेसल डेलिगेसन’को इजरायलमा नेतृत्व गरेकी काठमाडौंस्थित इजरायली दूतावासकी डीसीएम जनान बिबरले भनिन्, ‘इजरायल सरकारको द्वन्द्व नीति स्पष्ट छ, त्यो हो आतंककारीको अन्त्य अनि इजरायली जनताले शान्तिपूर्वक बाँच्न पाउने अधिकार ।’ हामी नेपाली पत्रकारसँग उनले उत्तरी इजरायलको गोलन हाइटस् पुग्दा भनिन्, ‘आतंककारी हमासले बालबालिका, गर्भवती, महिला, वृद्धवृद्धा केही भनेनन् । सबैको निर्मम हत्या गरेका छन् ।’ अनेक ठाउँमा मान्छेलाई दिनदहाडै गोली हानेर हत्या गर्दा पनि इजरायली सेना संयमित भएर बसेको उनको भनाइ छ । इजरायलले आक्रमण गर्दा पनि निर्दोष मानिस नपरून् भन्ने सरकारको धारणा रहेको उनले सुनाइन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि पाँचबुँदे घोषणा सार्वजनिक गरेको छ । जसमा गाजापट्टीलाई गैरसैनिकीकरण गरिनुपर्ने, गाजामाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने, हमास समूह नि:शस्त्रीकरण हुनुपर्ने, उसले बनाएका सबै बन्धक फिर्ता गर्नुपर्ने र हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकार बनाउने उल्लेख गरिएको छ । त्यसमा युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउने क्रममा इजरायली सुरक्षा बलले गाजा सहर कब्जामा लिने पनि उल्लेख छ । पूर्वराजदूत गोदारले अडान सुनाउँदै भने, ‘इजरायल अरू सबै कुरामा लचिलो हुन तयार छ तर आतंकवाद, इजरायली जनता र भूमिका लागि भने कुनै सम्झौता गर्दैन ।’
विपिनकी आमा र बहिनी इजरायलमा
इजरायल पुगेर हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा सोमबार इजरायल पुगेका छन् । नेपालस्थित इजरायली दूतावासको पहलमा यो यात्रा भएको हो । नेपालका लागि इजरायली राजदूत स्यामुलिक ए. बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विपिनकी आमा र बैनीलाई बिदाइ गरेका हुन् । उनीहरूले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारीलाई भेट्ने कार्यक्रम छ ।
भीमदत्त नगरपालिका–३, भासी निवासी आमाछोरीले विपिनलाई लिन आएको भन्दै सहयोगको याचना गर्ने छन् । इजरायलको सरकारले नै उनीहरूलाई राष्ट्रसंघको कार्यालयमा पुर्याएर विपिनको रिहाइका लागि दबाब दिने भएको छ । इजरायल टेकेपछि भक्कानिएकी पद्माले भनिन्, ‘हामी विपिनलाई लिन आएका हौं । छोरालाई छुटाउन सबैले सहयोग गरिदिनोस् ।’ ‘सिक्दै कमाउँदै’ (अर्न एन्ड लर्न) कार्यक्रमका लागि विपिन २०८० असोज २० गते इजरायल पुगेका थिए । प्यालेस्टाइनी विद्रोही समूह हमासले ७ अक्टोबरमा कब्जामा लिएपछि विपिनको अवस्था अज्ञात छ ।
‘बंकरमा नपसेको भए एकै चिहान बनाउने रहेछन्, भगवान्ले बचाए’
वजय राई (४६), खोटाङ
७ अक्टोबर २०२३ का दिन घटना हुँदा म परिवारसहित घरमै थिएँ । भारतमा भेट भएपछि मैले इजरायली युवतीसँग प्रेमविवाह गरेकाले यतै बस्दै आएको हुँ । प्रक्रिया पूरा गरेर मैले पनि यतैको सिटिजनसिप लिइसकेको छु । दक्षिणी इजरायलको यो किबुजमा त्यो दिन एकाबिहानै तीन किलोमिटर दूरीमा रहेको गाजा क्षेत्रबाट हमास आतंककारी केही संख्यामा हातहतियारसहित आएछन् । र, अन्धाधुन्ध गोली चलाउन थाले ।
इजरायलमा बमबारुद र मिसायल हान्ने र इजरायलले पनि प्रतिवाद गर्ने त भइरहन्थ्यो । तर यो शान्त क्षेत्रमा म बसेको २० वर्षमा भएको यस्तो घटना पहिलो हो । हामी सुरक्षित कोठामा थियौं । बाहिर गोली भुटुटु पारेको आवाजपछि ढोका बन्द गरेर साँचो लगाएर अनि ठेलेर बस्यौं । १३ वर्षकी ठूली, ११ वर्षकी कान्छी छोरी र ९ वर्षको छोरा साथमा थिए । गोलीले घरका भित्ताभरि हान्छन्, हामी भित्र छौं ।
बाहिर साइरन बज्न थाल्यो । साइरन बजेको १५ सेकेन्डभित्र बंकरभित्र पस्नुपर्छ । हामी पनि भित्र पस्यौं । नत्र रकेट जहाँ पनि खस्न सक्छ र ध्वस्त पार्न सक्छ । बंकरले रकेट रोक्छ । किबुजमा झन्डै चार सय थियौं । दुई सयमध्ये केहीलाई हमासले गोली हानेर मारे, केहीलाई अपहरण गरेर लगे । मलाई संख्या यकिन छैन । एउटा घरमा ग्यासको पाइप काटेर घरमै आगो लगाइदिए । सयौंको संख्यामा आतंककारी आएका थिए ।
म आज नेपालबाट पत्रकारहरू आउनुभएको छ, इजरायल सरकारले ल्याएको भन्ने सुनेर मात्र आएको यो ठाउँ । यहाँ आयो कि साथीसंगी मारेको दृश्यले बहुलाए झैं हुन्छु । मन थाम्नै सक्दिनँ । तपाईंहरूसँग यी कथाहरू लामो समय सुनाइरहें भने बेहोस भएर ढल्न सक्छु । अहिले अलिपर ५०/६० घर बनाएर सर्न खोज्दैछौं । हामीलाई यहाँको सरकारको सबैथोकमा सहयोग छ । नेपाल फर्किउँ कि पनि लाग्छ तर पत्नी र छोराछोरी मान्दैनन् । नेपाल गएर फेरि बेरोजगार भएर बस्नेमात्र हो ।
बंकरबाट निस्कौंला भनेर पर्खिएका हामी त्यो दिन झन्डै ६/७ घण्टाभित्रै थुनियौं । बाहिर डाङडाङ र डुङडुङ गोली बर्सिरहेको सुनिन्छ । मान्छे भागदौड गरेको अन्दाज हुन्छ । हाम्रै घरमा आएर कोठाकोठामा लात्ताले बजार्छन् । अल्लाह अल्लाह भनेर चिच्याउँछन् । भान्छा कोठामा यता र उता गोली हान्छन् । बंकरभित्र पस्न नभ्याएको भए हामी सबैलाई एकै चिहान बनाउने रहेछन् । भगवान्ले बचाए । त्यसपछि त्यस्तो केही घटना भएको छैन तर यो किबुज सुनसान छ । त्यो दिन सम्झिँदा पनि जिउ फुलेर आउँछ । टाउको भारी हुन्छ ।
आलुमिम आधा घण्टा परको ठाउँ हो जहाँ विपिन जोशीलाई अपहरण गरे । जहाँ १० नेपाली मारिए अनि चार घाइते भए । विपिनलाई अस्पताल लगेको देखेको जुन दृश्यमा उनी खुट्टामा चोट लागेर घिस्रिँदै भित्र पसेको देखिन्थ्यो । आलमिममा पनि किबुजमा जसरी नै अन्धाधुन्ध गोली बर्साएछन् । आज ६७० दिन भयो, अक्टोबर ७ को घटना भएको । यहाँका स्थानीयले हरेक दिन ६७१, ६७२ गर्दै लेखेको लोगो छातीमा टाँस्छौं । घटना किन भयो ? मलाई थाहा छैन । सुनेको चाहिँ यो क्षेत्र कब्जा गर्न खोजेको हो रे ! नसकेपछि गुन्डागर्दी गरेका रे ! आक्रमण गरेर मार्ने, अपहरण गर्ने, घाइते बनाउने र सकेसम्मको दु:ख दिने उनीहरूको योजना रे !
प्रतिक्रिया दिनुहोस !