डेढी कदममा पाइताला देब्रेबाट दाहिनेतर्फ बढाउँदै खेलिने भएकाले ड्यौणा भनियो। देवताका गाथा पनि देवनागरिक लिपिमै गाइने देवस्तुति भएकाले वर्तमानमा ‘देउडा’ शब्द बढी प्रचलनमा आयो।
डडेलधुरा, डोटी, अछाम, बझाङ र दार्चुला
कैलाली, कञ्चनपुर, पश्चिमका किल्ला।
झम्क्यो डालीमा...।
२०४७ सालमा ‘चूलीय फूलीय’ नामक गीति क्यासेटमा पंक्तिकारद्वारा स्वरांकन गरिएको यो गीतले सुदूरपश्चिम र कर्णाली प्रदेशका संस्कृतिकर्मी एवं गायकगायिकालाई अझै आकर्षित गर्छ। वरिष्ठ संगीतकार स्व. गणेश परियारद्वारा संगीत संयोजन गरिएको उक्त गीत म्युजिक नेपालमा रेकर्ड गरिएको थियो।
नेपाल लोकगीत, लोकसंगीत र भाषाभाषीको मूल केन्द्र हो। अझ नेपाली भाषाको जननी कर्णाली र सुदूरपश्चिमलाई त संस्कृतिको राजधानीभन्दा फरक पर्दैन। माल (तराई) देखि हिमालसम्मका बस्तीबस्तीमा गुञ्जने लोकसंस्कृतिका भाकाहरूले सबैथरी नरनारीलाई आपसमा जोड्ने काम गरेको छ। त्यही संस्कृतिले बेलायतमा पनि गण्डकी र पूर्व नं. १ प्रदेशबाट यो भूमिमा वर्षौंदेखि बस्दै आएका आदिवासी जनजाति कार्यक्रमलाई सफल पार्न आएका संस्कृतिकर्मीलाई जोड्ने काम गर्यो। एक किसिमले समावेशी संस्कृतिको नमुना बेलायतको लन्डन सहरमा ताजा रूपमा देखा पर्यो।
कौरा, सालैजो भाकाको भूमि गण्डक प्रदेश र मारुनी, हाकपारे संस्कृतिको उर्बरभूमि पूर्वाञ्चलसँग कालीकर्णालीको मौलिक प्रचलन संस्कृति ड्यौणा (देउडा) ले कसिलो साइनो जोडेको देख्दा आयोजकहरू दंगदास देखिन्थे। उपस्थित महिलाहरूले जानी, नजानी डेढ कदम चलाए, राम्ररी गीतको भाकासँगै घुमे। यता पुरुषवर्ग आआफ्नो शैलीमा ढंगले नाचिरहे। नाच्नु र डेढ कदम उचालेर घुम्नुमा फरक छ। राई, लिम्बू, गुरुङ, मगर, दुरा जाति लोकगीत, लोकसंस्कृति भनेपछि हुरुक्कै हुनेजात हो। नेपालको आदिम संस्कृति र सभ्यता गाउँका मानिसले जोगाएका छन्।
तराईको मिथिलाञ्चलको संस्कृति होस् या अवध संस्कृति, अथवा हिमाली भेगको सेब्रो संस्कृतिको रखवारी गाउँका नरनारीले जतनसँग बचाइराखेका देखिन्छन्। जसको ज्वलन्त उदाहरण पछिल्लो पटक नेपाल आदिवासी जनजाति महासंघको ३१औं विश्व आदिवासी दिवस मनाइरहँदा प्रवासी भूमि लन्डनमा पनि प्रत्यक्ष देखियो। संगीत अन्तर्राष्ट्रिय भाषा हो, सबैका लागि मनको शान्ति र आध्यात्मिक शक्ति दिने मसला हो। आकर्षक मञ्चमा गीत गाइरहँदा गीतका शब्दहरू कतिले बुझे, कतिले कम बुझे तर संगीत मन पराए।
त्यति भए हामी गायकगायिकालाई पुगिहाल्यो।
जनजाति महासंघ बेलायतका वर्तमान सभापति पूर्वमेजर योगेशकोमी राई महासचिव कारम दुरा, सचिव अवकाश प्राप्त मेजर इन्द्रप्रसाद राई, दूतबहादुर पुन (सम्पादक एभरेस्ट टाइम), चन्द्र लिम्बू, सामाजिक अभियन्ता मनिकला राई, प्रसिद्ध गायक राजेशपायल राईका दाजु राकेश राई, लमजुङका ठाडो भाकाका गायक बुद्धिमान् (धम्पु) दुरा, होमकिरात सुनुवार (रामेछाप), नरहाङ राई (भोजपुर), राधिका याखातुम्बा (तेह्रथुम), मीना हुप्पा, चङवाङ याक्सो (ताप्लेजुङ) र नेपाल पत्रकार महासंघ लन्डनका सभापति विमला सेनलगायतका संस्कृतिकर्मीहरू, समाजसेवीहरू पंक्तिकारसँग खुसी हुँदै ड्यौणा (देउडा) मा घुमी घुमी नाचेको सम्झन लायक थियो।
डेढी कदममा पाइताला देब्रेबाट दाहिनेतर्फ बढाउँदै खेलिने भएकाले ड्यौणा भनिएको हो। देवताका गाथा पनि देवनागरिक लिपिमै गाइने देवस्तुति भएकाले वर्तमानमा ‘देउडा’ शब्द बढी प्रचलनमा आएको हो भनी बताइरहँदा ‘देउडाका गुरु’ भनी उपमा दिए। संस्कृतिकर्मीलाई गीत गाइरहँदा शिरमा फेटा बाँधी रुपैयाँ कानमा घुसारी दिनुलाई धर्म मान्दा रहेछन्। यहाँ पनि कलाकारलाई त्यसै गरे। चौरमा जम्मा भएका सयौं संस्कृतिकर्मीलाई प्रार्थनाले हात समातेर देउडामा खेल्न लगाइन्।
हाम्रो प्यारो नेपाल भूमि संस्कृतिका धनी
हामी सबै मिली बस्छौं हिमालको मुनि।
शब्द मिलाएर गाइरहँदा खर्कबहादुर राना, शोभा राना (पैंयुखोला पर्वत), कृष्णकुमार राई थुलुङ (सोलुखुम्बु) नेपालको याद गर्दै भन्दै थिए– नेपालका हिमालले हामीलाई बचाएका छन्। आदिवासी जनजातिको सुरुमा भेला गराउने व्यक्ति रहेछन्, पर्वत जिल्लाका खर्क। सुरुका दिनमा प्रवासमा सामाजिक काम गर्दा कठिनाइ भयो। अहिले बेलायतमा बस्दै आएका जनजातिको उपस्थितिले नेपालको शान बढेको छ– संक्षिप्त टिप्पणी गरे खर्कले। कार्यक्रममा केवल देउडा गीतको मात्र प्रस्तुति रहेन, युवराज मगरले म्याग्दी र बाग्लुङका भाकाहरू पस्के, पूर्वका मीठामीठा गीतहरू गाइन् गायिकाले।
निकै संघर्ष गरेर बेलायतमा बस्दै आएका सबैथरी जनजाति वर्गले ग्याम्बल लाइनमा झन्डै १६÷१७ रोपनी जति जमिन सस्तो मूल्यमा खरिद गरेका रहेछन्। जसको नाम किराँत हाउस रहेछ। सहरबाट टाढा रहे पनि दसैं, तिहारजस्ता विशेष पर्वमा उपस्थित भएर नेपाली संस्कृति र परम्परालाई मनाउँदै आएका रहेछन्। ठाउँ अत्यन्त सुन्दर छ, हरियाली जंगलले घेरिएको छ, बीचमा ठूलो चौर छ। यही चौरमा दुई दिनसम्म महासंघले विविध कार्यक्रम सम्पन्न गरे। म्याग्दी, लमजुङतिरको तीर हान्ने खेल (धनुषवाण) नेपाली झाँकी, छेलो प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न भएको देख्दा बेलायतमा पनि नेपाल छ भन्ने अनुभूति भयो। घरबुना कपडा, चोयाबाट निर्मित सामग्री ठेकीमदानीलगायतका काठबाट निर्मित सामग्री प्रदर्शनीमा राखेका देखिए। एकजना बेलायती नागरिकले नेपाली भोजपुरी खुकुरी खरिद गरेको देखियो।
लोग्ने मानिसहरूले दौरा–सुरुवाल, कोट, बाहिर गादो (काँधमा सुर्को लगाएको) र महिलाहरू सबैजना बुलाकी गुरुङ, मगर र राई सजिएका देख्दा के नेपालको संस्कृति र परम्परा कमजोर छ र ? सोध्न मन लाग्यो। किराँतहरूको उभौली र उधौली पर्वमा लगाउने पहिरन नि देखियो। तुम्बा पनि सँगै थियो। ढोल, झ्याम्टा बजाएको कति ढंगले तान्यो। हँसिलो पाराले नेपाली नानीहरू पंक्तिकारलाई भन्दै थिए– यी बाजा र पहिरनको पनि देउडागीत बनाएर गाइदिनुहोस्।
तत्कालै देउडाको पुरानो भाका र्याट्टी... र्याट्टी फर्क छोर्याट्टीमा गीत बनाएर सुनाइदिएँ। हाम्रो दाजु भन्दै भाइबहिनीले सेलरोटी थपिदिए। पंक्तिकारले पनि आगामी भदौ १५ गते गौरापर्वमा सबैलाई निम्तो छ भन्दै आआफ्नो गन्तव्यमा लाग्यौं। आगामी भदौ १५ गते गौरापर्व परेको छ। गत हप्ता नेपाल पत्रकार महासंघ बेलायतको कार्यक्रममा देउडागीत पस्केकाले आयोजकले खुसी हुँदै आदिवासी जनजाति महासंघको कार्यक्रममा निम्ता दिए, सम्मान गरे।
अध्यक्ष मेजर योगेश र राकेश राईले सुझाव दिए– संस्कृतिजन्य कलाकार भएकाले हजुरलाई सम्मान गरेका हौं। संस्कृति, देउडागीत गाउन नछाड्नु होला। हामीलाई त कैलाली कञ्चनपुर, बाँके, बर्दियासम्म पुर्याइदिनु भयो। मनमनै मातृभूमि नेपाललाई नमन गरें। सबैलाई धन्यवाद दिएँ। बेलायतमा तीन लाखभन्दा बढी नेपालीको बसोबास छ। इङल्यान्ड, स्कटल्यान्ड, आयरल्यान्ड र न्वइल्स मिलेर ग्रेट ब्रिटेन बनेको छ। ती हरेक प्रान्तमा नेपाली छन् तर बढी लन्डनमा। अब बाँकी जिन्दगी मातृभूमिको संस्कृति सेवाका लागि, सुदूरपश्चिम र कर्णाली प्रदेशको लुकेको देउडा, मागल, धमारी, हुड्क्या, न्याउल्या, पैसेरुलगायतका संस्कृति संरक्षणका लागि लागिपर्नु छ।
हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट
सौराईले बाणुली लाग्दा कैले होला भेट।
प्रतिक्रिया दिनुहोस !