विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै , सुरक्षा व्यवस्था कडा पारियो

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै , सुरक्षा व्यवस्था कडा पारियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै छ । नेपालकै ठूलो र दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको ऐतिहासिक रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने परम्परा छ । 

रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे निकालिने रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर दुरी तय गर्नेछ । 

यात्राको समापन राति ९ बजे हुने बताइएको छ । वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ । यात्रामा हजारौं भक्तजनहरू सहभागी हुन्छन् । रथयात्राका लागि कोशी प्रदेश सरकारले झापा मोरङ र सुनसरी जिल्लामा बिदा दिएको छ । रथयात्राले धार्मिक आस्था मात्र नभइ धार्मिक विश्वास,एकता र सामुदायिक भावनालाई बढावा दिँदै सामाजिक एकता र सद्भाव पनि बढाउँछ ।

विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भयो । मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्न थालिएको इतिहास छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी, मेनरोड,ट्राफिक चोक,महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका क्रममा रथलाई ४३ स्थानमा विश्राम दिइनेछ । विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । 

रथयात्राका क्रममा भक्तजनहरूले भगवानको दर्शन गर्न नपाएको गुनासो धेरै आएपछि यसपटक सबै जनाले देख्नेगरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रेग्मीले बताए । २०२२ सालदेखि बायलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ ।

रथयात्रा सुरु हुनुअघि करिब १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ । रथयात्रामा स्वदेश तथा विदेश अर्थात् छिमेकी मुलुक भारतबाट हजारौं भक्तजनहरू आउने हुँदा सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै सुरक्षा निकायले सक्रियताका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने छन् । नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाबाट रथयात्रा र भक्तजनहरुको सुरक्षाको प्रबन्ध मिलाइएको छ । सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुने छैन ।’रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको यादवले बताए । 

‘रथयात्राका क्रममा चोरी, हुलहुज्जत तथा उच्छृङ्खल गतिविधि गर्नेहरु पनि आउँछन् । त्यस्ता गलत कार्यमा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिने छ,’ उनले भने । अवाञ्छित गतिविधिमा संलग्नलाई तत्कालै पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने तयारी रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.