रूस–युक्रेन युद्ध अन्त्यका लागि शिखर संवाद : वासिङ्टनमा शक्तिशाली राष्ट्रका सरकार प्रमुख
अमेरिका : रूस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि ऐतिहासिक पहल स्वरूप सोमबार अमेरिकामा शक्ति राष्ट्रका उच्च नेताहरू सम्मिलित बैठक बस्ने भएको छ । अमेरिका र युक्रेनका राष्ट्रपतिबीच मात्र वार्ता हुने भनिएकोमा अब त्यो शिखर शीर्षस्थ संवादका रूपमा अघि बढ्ने छ । युद्धरत एउटा पक्ष रूसको सहभागिता भने यो बैठकमा हुने छैन । तसर्थ समझदारी भए पनि युद्धविराम सम्झौता भने हुने छैन ।
अमेरिकाको राष्ट्रपतिको चुनावी अभियानका क्रममा र आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै रूस–युक्रेनबीचको युद्ध अन्त्य गराउने उदघोष गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले पछिल्ला केही महिनायता संवाद, दबाब र पहलमार्फत रूस–युक्रेनलाई स्थायी युद्धविरामनजिक पु¥याएका छन्। उनी र उनका प्रशासनका मन्त्री तथा विशिष्ट अधिकारीहरूले युद्ध अन्त्य गराउनका लागि द्वीपक्षीय र बहुपक्षीय वार्ताका साथै अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत यस मुद्दाहरूलाई अहम् रूपमा उठाउँदै आएका छन्।
यसै क्रममा युद्ध अन्त्यका लागि प्रत्यक्ष जोडिएको एउटा पक्ष रूससँग शुक्रबार अमेरिकाले ऐतिहासिक वार्ता गरेको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई १० वर्षपछि अमेरिका निम्त्याएर अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले युद्ध अन्त्यका लागि ऐतिहासिक अग्रसरता देखाएका छन्। जसले युद्ध अन्त्यको संभावना बढाएको छ । रूसी राष्ट्रपति पुटिनसँगको वार्ताको ठोस निष्कर्ष र भएका सहमतिलाई सार्वजनिक नगरी यसलाई ‘आइसब्रेक’ र सकारात्मक दिशाका लागि महत्वपूर्ण पहलका रूपमा संकेत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अब सबै कुरा युक्रेनको हातमा रहेको टिप्पणी गरेका थिए ।
उनले स्थायी युद्धविरामका लागि युक्रेनका राष्ट्रपति, नेटोमा आबद्ध युक्रेनका सहयोगी युरोपेली देशहरूसँग कुराकानी गर्ने बताएका थिए । लगत्तै पुटिनसँग वार्ता भएको अमेरिकाको अलास्काबाट ह्वाइट हाउस जाने क्रममा एयरफोर्स वनबाट नै उनीहरूसँग कुरा गरेको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्सेकीलाई ह्वाइट हाउस आमन्त्रण गरेको जनाएका थिए ।
लगत्तै, युक्रेनका राष्ट्रपति जेलेन्सेकीले पनि सो कुराको पुष्टि गर्दै आमन्त्रणका लागि धन्यवाद दिएका थिए र डिसीमा भेटेर स्थायी रूपमा युद्ध अन्त्यका लागि वार्ता गर्न आफू इच्छुक रहेको जनाएका थिए ।
सोमबार ट्रम्प र जेलेन्स्सेकीबीच अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित ह्वाइट हाउसमा वार्ता हुने तय भइरहँदा सो वार्तामा युरोपका शक्तिशाली देशहरू (जो युक्रेनलाई सहयोग गरिरहेका छन्) उनीहरूको समेत सहभागिता रहने बताइएको छ । स्थायी युद्धविराम सम्झौताको आधार मानिएको वार्तामा युकेका प्रधानमन्त्री सर केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन, युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर लेयन र नेटोका महासचिव मार्क रुटको समेत सहभागिता हुने भएको छ ।
सोमबार अमेरिका आउनुअघि युक्रेनी राष्ट्रपतिले आफ्ना सहयोगी राष्ट्रहरूका राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई भेट्न युरोपेली युनियनको राजधानी बेल्जियमको ब्रसेल्स गएका थिए । सो क्रममा उनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोर डेर लेयनलाई भेट गरेका थिए भने फ्रान्सका राष्ट्रपति म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, नेटोका महासचिव मार्क रुट्टेलाई अनलाइनमार्फत आफ्ना कुरा राखेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले भेट्नका लागि ह्वाइट हाउस आमन्त्रण गरेलगतै जेलेन्स्स्कीले आफ्ना सहयोगी देशहरूसँग सम्पर्क बढाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली युनियन र त्यसका आबद्व देशहरूका नेताहरूलाई निर्णयमा अस्थिर रहने भनी सार्वजनिक टिप्पणी गरेका थिए । युक्रेनमा युद्ध होमिनका लागि उक्साएको तर आवश्यक सहयोग नगरेको भनी आलोचनासमेत गरेका थिए । युक्रेन मामिलामा युरोपेली युनियन आबद्ध देशका प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना गरे पनि दुई देशीय सम्बन्ध भने ट्रम्पले निकै राम्रो बनाएका छन्। युरोपेली देशका सरकार प्रमुखहरूसँगको ट्रम्पको सम्बन्ध निकै उत्कृष्ट रहेको छ । उनी राष्ट्रपतिमा दोस्रोपटक आएदेखि धेरै देशका राष्ट्र र सरकार प्रमुखसँग उनको अमेरिकामै पनि द्वीपक्षीय भेट भइसकेको छ ।
अमेरिकाको सहयोगमा युक्रेनले युद्धमा सहभागिता जनाइरहेकाले सो सहयोग रोक्ने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यसअघि युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य लगायतका सहयोग रोकेका थिए, जसले गर्दा युक्रेन वार्ता आउन बाध्य भएको थियो । ट्रम्प र पुटिनबीचको वार्ताको क्रममा रूसले आफ्नो भनी दाबी गर्दै आएको र हाल कब्जामा लिएको युक्रेनको डोनबास लगायतका केही भूभाग निःशर्त छाड्नुपर्ने कुरामा सहमति रहेको बताइएको छ ।
डोनबास क्षेत्रमा लोहान्स्कको अधिकांश भूभाग र डोनेट्स्कको करिब ७० प्रतिशत भूभाग पर्छ । जहाँ महत्वपूर्ण खनिज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्र त्यहाँ युक्रेनका आदिवासीहरूको बसोबास रहँदै आएको छ । जुन क्षेत्र आफूले छाड्न नसक्ने युक्रेनी राष्ट्रपतिले बताउँदै आएका छन्। युक्रेनका राष्ट्रपतिले आफूलाई सहयोग गर्दै आएका देशहरूसँग सो भूमि भविष्यमा आवश्यक पर्दा रूसविरुद्व प्रयोग गर्न सकिनेसमेत उल्लेख गर्दै आएका छन्।
सोमबार जेलेन्स्कीलाई ह्वाइट हाउसमा ट्रम्पले भेट्दा गत फेबु्रअरीमा उनीहरूबीच ह्वाइट हाउसमा भएको तिक्तता पूर्ण भेटभन्दा फरक रहने अपेक्षा गरिएको छ । सो भेटका क्रममा ट्रम्पले अपमानजनक रूपमा जेलेन्स्कीलाई वार्ताबाट बाहिर पठाएका थिए पछि अप्रिलमा पोप फ्रान्सिसको अन्त्येष्टिका क्रममा दुई राष्ट्रपति बीत १५ मिनट वार्ता भएको थियो । जुन वार्ताले सम्बन्ध सुधारिएको थियो । त्यो वार्ताअघि अमेरिकाले युक्रेनलाई दिएको सबै प्रकारका सहयोगहरू बन्द गरी दिएको थियो । दबाबमार्फत युक्रेनलाई वार्तामा बोलाएका राष्ट्रपति ट्रम्पले युक्रनेको खनिज पदार्थमा अमेरिकी पहुँचलाई सुनिश्चितसमेत गरिसकेका छन्।
अमेरिका र रूसबीच युद्धविराम सम्झौतालाई लिएर भएको बैठक र त्यो सकारात्मक दिशामा रहेको भनी भनिएको अभिव्यक्तिले युक्रेन र युरोपेली युनियनलाई सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनको सुरक्षा र युक्रेनको भूमिका सन्दर्भमा उनीहरूको चिन्ता रहेको ती सञ्चारमाध्यमहरूले जनाएका छन्तर पनि युद्ध अन्त्यका लागि ती देशहरू पनि इच्छुक र सकारात्मक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !