बहुविवाह : निर्माण कि विनिर्माण ?

बहुविवाह : निर्माण कि विनिर्माण ?

जब बहुविवाह सामान्यीकृत हुन्छ तब समाजमा पारिवारिक सम्बन्धहरू कमजोर हुँदै जान्छन् ।

नेपाली र हिन्दु समाजमा विवाहलाई अत्यन्तै महत्वपूर्ण, पवित्र र दीर्घकालीन सम्बन्धको रूपमा हेरिन्छ । यो केवल दुई व्यक्ति (पुरुष र महिला) बीचको व्यक्तिगत सम्बन्धमात्र नभई दुई परिवारबीचको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धको आधार हो । नेपाली समाजमा विवाह पारिवारिक स्थायित्व, सामाजिक समरसता, सन्तानको उचित पालनपोषण र सांस्कृतिक निरन्तरताको माध्यम मानिन्छ । विवाहपछि पति–पत्नीले परस्पर आदर, विश्वास, समर्पण र कर्तव्य पालन गर्दै एक साझा जीवनयात्रा सुरु गर्छन् । यो सम्बन्धले सामाजिक मूल्य, धर्म, रीतिरिवाज र अनुशासनको संरक्षण गर्ने काम गर्छ, जसले समाजलाई संयमित र सुदृढ बनाउँछ ।

हिन्दु धर्मअनुसार विवाह एक धार्मिक संस्कार हो, जुन १६ प्रमुख संस्कारमध्ये सातौं (सप्तम) स्थानमा पर्छ । विवाहलाई केवल शारीरिक वा भावनात्मक सम्बन्ध नभई ‘धर्म, अर्थ र काम’ प्राप्तिको साधन मानिन्छ । हिन्दु शास्त्रमा विवाहका आठ प्रकार उल्लेख गरिएका छन्— ब्राह्म, दैव, प्राजापत्य, आर्ष, गान्धर्व, राक्षस, पिशाच र आसुर — जसमा ‘ब्राह्म विवाह’ सबैभन्दा शुद्ध र श्रेयष्कर मानिन्छ । विवाह संस्कारको मुख्य अंश ‘सप्तपदी’ हो, जसमा दम्पतीले सात पाइला चाल्दै जीवनभर साथ दिने, धर्म र कर्तव्य निर्वाह गर्ने, सन्तान उत्पादन तथा संरक्षण गर्ने, सुख–दुःखमा सहयात्री बन्ने प्रतिज्ञा गर्छन् । यसरी, हिन्दु परम्परामा विवाह केवल सामाजिक करार नभई आध्यात्मिक बन्धन पनि हो, जसले मानव जीवनलाई पूर्णता दिने विश्वास गरिन्छ ।

नेपालमा बहुविवाहको लामो इतिहास छ, जहाँ परम्परागत रूपमा पुरुषलाई एकभन्दा बढी विवाह गर्ने छुट दिइएको थियो । समाजमा गहिरो रूपमा गाडिएको पुरुषप्रधान सोचले महिलालाई दोस्रो दर्जाको हैसियतमा राखेको थियो । तर समयसँगै महिला अधिकार, लैंगिक समानता र न्यायको सवाल उठ्दै जाँदा बहुविवाहविरुद्ध आवाज उठ्न थाल्यो । त्यसकै परिणामस्वरूप नेपालको संविधान र कानुनले बहुविवाहलाई गैरकानुनी घोषणा ग¥यो । हालको मुलुकी अपराधसंहिता २०७४ मा बहुविवाहलाई स्पष्ट रूपमा निषेध गर्दै दोषीलाई कारबाहीको प्रावधान गरिएको छ । यो कानुनले महिलाको अधिकार संरक्षण गर्ने र समाजमा न्यायिक सन्तुलन कायम गर्ने उद्देश्य राखेको छ ।

यद्यपि पछिल्ला केही वर्षमा बहुविवाहसम्बन्धी कानुन पुनरावलोकन गर्नुपर्ने बहस चर्कन थालेको देखिन्छ । कतिपय समूहहरूले धार्मिक स्वतन्त्रता, सांस्कृतिक परम्परा वा व्यावहारिक कारण देखाउँदै नयाँ कानुनी व्यवस्था ल्याउनुपर्ने माग गरिरहेका छन् । उनीहरूको तर्कअनुसार केही अवस्थामा बहुविवाहलाई कानुनी मान्यता दिनु ‘प्राकृतिक आवश्यकता’ हुन सक्छ । तर यस्तो सोच अत्यन्त खतरनाक छ किनभने यसले विगतका महिलामाथि गरिएका अन्यायलाई वैधानिकता दिने खतरा निम्त्याउँछ । साथै, यसबाट महिलाको सामाजिक सुरक्षा, आत्मसम्मान र न्यायमा पहुँच कमजोर बनाउने सम्भावना बढ्छ । यसकारण बहुविवाहलाई सहज बनाउनतर्फ उन्मुख कुनै पनि कानुनी प्रयासलाई समयमै रोकेर हालको कानुनलाई थप प्रभावकारी बनाउनतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

नेपालको संविधानले सबै नागरिकलाई समानता, सम्मान र गरिमायुक्त जीवनको ग्यारेन्टी गरेको छ । त्यसमाथि हालको कानुनले महिलालाई बहुविवाहबाट हुने अन्याय, हिंसा र विभेदबाट जोगाउने उद्देश्य राखेको छ । यदि अब नयाँ कानुनमार्फत बहुविवाहलाई कुनै रूपमा वैधानिकता दिन थालियो भने त्यसको अर्थ विगतमा महिला अधिकारको लडाइँले जितेका सफलताहरू उल्ट्याउने कार्य हुनेछ । यतिमात्र होइन, नयाँ कानुनले पुरुषप्रधान सोचलाई कानुनी हैसियत दिने खतरा निम्त्याउँछ । यसले महिलाको सामाजिक हैसियत कमजोर बनाउने मात्र होइन, उनीहरूलाई प्राप्त कानुनी संरक्षणसमेत समाप्त पार्न सक्छ ।

नेपालमा आज पनि हजारौं महिला वैवाहिक हिंसा, मानसिक यातना, आर्थिक शोषण र पारिवारिक उपेक्षाको चपेटामा परिरहेका छन् । महिलाहरूले घरभित्रै अपमान, तिरस्कार र असुरक्षा भोग्नुपरेको यथार्थलाई राज्यले गम्भीरतापूर्वक लिइरहेको छैन । यस्ता पीडादायी अवस्थामा राज्यले पीडित महिलाको संरक्षण र पुनस्र्थापनाका लागि कडा तथा प्रभावकारी कानुनी व्यवस्था गर्नुपर्ने हो । तर त्यस्ता प्रयासको सट्टा बहुविवाहजस्ता कुरीतिलाई कानुनी रूपमा सहज बनाउने दिशामा पाइला चाल्नु अत्यन्त दुर्भाग्यपूर्ण र जोखिमपूर्ण छ । यसले महिला अधिकारको संरक्षण गर्नुको सट्टा उनीहरूको संघर्षमाथि प्रहार गर्छ ।

यदि बहुविवाहलाई सहज रूपमा कानुनी मान्यता दिने ढोका खोलियो भने यसको प्रत्यक्ष असर महिलाको आत्मसम्मान, सुरक्षाबोध र पारिवारिक स्थायित्वमा पर्नेछ । यस्तो अवस्थाले समाजमा महिला हिंसा थप बढ्नेमात्र होइन, परिवार विघटन, मानसिक तनाव र असमानताको लहर फैलिने निश्चित छ । महिलालाई जीवनकी बराबरी सहयात्रीका रूपमा होइन, पुरुषको स्वार्थ र इच्छाको साधन झैं व्यवहार गरिने खतरा पनि बढ्छ । यसले समाजलाई नै पछाडि धकेल्ने छ र महिलाले लामो समयदेखि पाउँदै आएको न्यूनतम अधिकारसमेत गुमाउने अवस्था सिर्जना हुनेछ । यस्तो कानुनी परिवर्तनले नेपाली समाजमा नकारात्मक मनोवृत्तिको विकास गर्नेछ जहाँ महिलालाई दोस्रो दर्जाको नागरिक झैं व्यवहार गरिनेछ । विवाहलाई पवित्र सम्बन्धको रूपमा हेर्ने सामाजिक मान्यता नै खल्बलिनेछ । जब एक पुरुषले सजिलै कानुनी रूपमा एकभन्दा बढी विवाह गर्न सक्नेछ भने उसले पहिलो श्रीमती र उसका सन्तानप्रति आफ्नो दायित्वबाट पन्छिने सम्भावना अत्यन्त बढी हुनेछ । दोस्रो वा तेस्रो विवाह गर्ने पुरुषहरूले कुनै कानुनी डर नपाउँदा, पहिलो परिवारलाई बेवास्ता गर्ने, सम्पत्तिमा अधिकार दिन नचाहने, वा सम्बन्धविच्छेद नगरिकनै नयाँ सम्बन्ध बनाउने प्रवृत्ति बढ्नेछ ।

त्यसको असर केवल महिलामा सीमित हुने छैन । समाजमा बढ्दो बहुविवाहले सन्तानहरूका लागि पहिचानको संकट, नागरिकता, सम्पत्ति अधिकार, शिक्षामा पहुँच र मनोवैज्ञानिक सन्तुलन गुमाउने अवस्था ल्याउनेछ । जन्मदर्ता प्रमाणपत्र, नागरिकता वा अन्य कानुनी कागजातहरूमा बाबु–आमाको स्पष्ट पहिचान नहुनाले ती बालबालिकाले जीवनभर सामाजिक उपेक्षा भोग्नु पर्नेछ । यो अवस्था कानुनले उत्पन्न गर्ने नयाँ अन्याय हुनेछ । अझ खतरनाक पक्ष त के हो भने यस्तो कानुनी सहजीकरणले समाजमा ‘राज्यले महिलामाथि हुने अन्याय र विभेदलाई अनुमोदन ग¥यो’ भन्ने सन्देश दिन सक्छ । यसले महिलाको विश्वास राज्यप्रतिको प्रणाली र न्याय प्रणालीबाट हराउनेछ । महिलाहरू कानुनी संरक्षण नपाउँदा मौन पीडा सहन बाध्य हुनेछन् । विशेषगरी गरिब, ग्रामीण, अशिक्षित र पहुँचहीन महिलाहरू बहुविवाहको नयाँ कानुनबाट सबैभन्दा बढी प्रभावित हुनेछन् । उनीहरू न्याय माग्ने अधिकारसमेत गुमाउनेछिन् ।

यदि नयाँ कानुनले बहुविवाहलाई स्वीकायो भने यसको सामाजिक असर तुरुन्तै देखिन थाल्नेछ र त्यो असर निकै गहिरो र दीर्घकालीन हुनेछ । विवाह, जुन परम्परागत रूपमा विश्वास, प्रतिबद्धता, सम्मान र पारिवारिक स्थायित्वको आधार मानिन्छ, त्यसको अर्थ नै विकृत हुन सक्छ । जब राज्यले नै बहुविवाहलाई वैधानिक मान्यता दिन्छ तब मानिसहरू विवाहलाई अस्थायी, इच्छामुखी र स्वार्थ–केन्द्रित सम्बन्धको रूपमा लिन थाल्नेछन् । विवाहमा भावनात्मक सम्बन्ध, परस्पर सहयोग र उत्तरदायित्वभन्दा बढी व्यक्तिगत सुविधा, स्वार्थ र ‘हक’को बहस हावी हुन थाल्नेछ । यसले वैवाहिक सम्बन्धको सामाजिक मूल्य घटाउनेछ । त्यसको असर पारिवारिक संरचना, सन्तानको विकास र समग्र सामाजिक अनुशासनमा पर्नेछ ।

यदि नयाँ कानुनले बहुविवाहलाई स्वीकायो भने यसको सामाजिक असर तुरुन्तै देखिन थाल्नेछ र त्यो असर निकै गहिरो र दीर्घकालीन हुनेछ। किनकि विवाहको स्थायित्व र परम्परागत मूल्यहरू कमजोर हुँदै जानु व्यक्तिगत समस्यामात्र होइन, समाजकै स्थायित्वमा प्रत्यक्ष असर पार्ने विषय हो।

त्यतिमात्र होइन, जब बहुविवाह सामान्यीकृत हुन्छ तब समाजमा पारिवारिक सम्बन्धहरू कमजोर हुँदै जान्छन् । महिलाहरूको आत्मसम्मान, सुरक्षाबोध र सामाजिक पहिचान संकटमा पर्छ । विशेषतः आर्थिक रूपमा कमजोर वा पहुँचविहीन महिलाहरू यस्तो बहुविवाहको सिकार बन्ने सम्भावना बढी हुन्छ, जसले सामाजिक असमानता झन् बढाउँछ । विवाहको स्थायित्व र परम्परागत मूल्यहरू कमजोर हुँदै जानु केवल व्यक्तिगत समस्या होइन, समाजकै स्थायित्वमा प्रत्यक्ष असर पार्ने विषय हो । यस्ता कानुनी परिवर्तनले सामाजिक अनुशासन, महिला अधिकार र पारिवारिक मूल्य, मान्यतामाथि गम्भीर प्रश्न उठाउनेछ । त्यसैले बहुविवाहलाई कानुनी मान्यता दिनु भनेको समाजमा अस्थिरता र असमानता बढाउने मार्ग खोल्नु हो ।

अर्को गम्भीर पक्ष के हो भने यस्तो कानुनी प्रयासले विभिन्न धार्मिक, जातीय वा सांस्कृतिक समूहबीच वैवाहिक अधिकारको असमानता सिर्जना गर्न सक्छ । कुनै समुदायमा बहुविवाह वैध र अर्काेमा अवैध भयो भने यसले समानताको सिद्धान्तमा चोट पु¥याउँछ । जब समान नागरिक अधिकारमा भिन्नता आउँछ, तब सामाजिक टकराव, अन्याय र असन्तोषले उग्ररूप लिन सक्छ । यसले केवल कानुनी वा सामाजिकमात्र होइन, नैतिक संकट पनि ल्याउनेछ । राज्यको कानुनी प्रणालीले नै एउटा यस्तो अभ्यासलाई वैधानिकता दिँदा, जसले मानिसका मौलिक अधिकारलाई कमजोर बनाउँछ, त्यसले समाजमा नैतिकता, नैतिक मूल्य र मानवीय संवेदनशीलताको ह्रास निम्त्याउँछ । कानुन केवल कारबाहीको साधन होइन, समाजलाई मूल्य र दिशा दिने साधन पनि हो । यस्तो बेला कानुनले नै बहुविवाहजस्तो सामाजिक कुरीतिलाई संरक्षण दियो भने यसको नैतिक धरातल खिया लाग्नेछ ।

यो सबै सन्दर्भमा स्पष्ट हुन्छ कि बहुविवाहको समस्या समाधान नयाँ कानुनमार्फत होइन, हालको कानुनको प्रभावकारी कार्यान्वयनमार्फत सम्भव छ । कानून निर्माणभन्दा पहिले कार्यान्वयनमा सुधार, पीडितको पहुँच सुनिश्चित गर्ने व्यवस्था, प्रमाण संकलनमा सहजीकरण, महिला–मैत्री न्याय प्रणाली र सामाजिक चेतनाको अभिवृद्धि आवश्यक छ । विवाहको अनिवार्य दर्ता, सम्पत्ति र सन्तानको अधिकार सुनिश्चित गर्ने कानुनी सुधार र पीडित महिलाको पुनस्र्थापनाका लागि राज्यको स्पष्ट जिम्मेवारी हुनुपर्छ । यदि कानुन कार्यान्वयनमा चुकिएको छ भने त्यसको समाधान कानुन खुकुलो बनाउनु होइन, कार्यान्वयन सुदृढ गर्नु हो । राज्यले त्यस्ता संरचना बनाउनु पर्छ, जहाँ पीडित महिलाले सजिलै उजुरी गर्न सकून्, कानुनी सहायता पाउन सकून् र आफ्नो अधिकारका लागि लड्न सकून् । प्रहरी, अदालत र प्रशासनलाई महिला हिंसासम्बन्धी मुद्दा बुझ्ने र निष्पक्ष निर्णय दिने गरी आवश्यक तालिम र संरचना दिनुपर्छ ।

बहुविवाहका कारण उत्पन्न हुने सम्पत्ति विवाद, बाल अधिकार, नागरिकताको समस्या आदिका लागि स्पष्ट मार्गनिर्देशनसहितको कानुनी तथा प्रशासनिक संयन्त्र आवश्यक छ । अन्ततः बहुविवाह नेपालमा केवल कानुनी मुद्दा होइन, सामाजिक अन्याय, लैंगिक विभेद र नैतिक संकटसँग जोडिएको विषय हो । राज्यले यदि नयाँ कानुनमार्फत यसलाई सहज बनाउने बाटो खोल्यो भने त्यसले वर्तमान र भविष्य दुवै पुस्ताका महिलालाई जोखिममा पार्नेछ । बहुविवाहको अन्त्य केवल कानुनी निषेधबाट होइन, सामाजिक सोचको रूपान्तरण, कानुनी कार्यान्वयनको मजबुती र महिलाको अधिकारप्रति राज्यको स्पष्ट प्रतिबद्धताबाट मात्र सम्भव छ । त्यसैले, बहुविवाहविरुद्धको संघर्ष अझ मजबुत बनाउनुपर्ने समय हो— न कि त्यसको कानुनी ढोका खोल्ने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.