चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत-चीन सम्बन्ध उचाइमा पुग्ने संकेत

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत-चीन सम्बन्ध उचाइमा पुग्ने संकेत
सुन्नुहोस्

नयाँ दिल्ली : भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सोमबार भएको वार्ताले भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत देखाएको छ। यस वर्ष भारत-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव मनाइँदै गर्दा दुवै देशले द्विपक्षीय सम्बन्धको गति कायम राख्ने सहमति जनाएका छन्।

सिन्ह्वाका अनुसार वाङ यी र जयशंकरबीचको वार्तामा परिवर्तनशील विश्व परिस्थिति, स्वतन्त्र व्यापारका चुनौती, प्रमुख शक्तिका रूपमा भारत र चीनको भूमिका, विकासशील मुलुकका लागि उदाहरण कसरी प्रस्तुत गर्ने भन्नेलगायतका विषयहरूमा व्यापक छलफल भएको थियो।

चिनियाँ विदेशमन्त्री यीले वर्तमान विश्व अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको, धम्कीपूर्ण अभ्यासहरू बढिरहेको र स्वतन्त्र व्यापार तथा अन्तर्राष्ट्रिय व्यवस्थाले गम्भीर चुनौती सामना गरिरहेको बताएका थिए। '२.८ अर्बभन्दा बढी जनसंख्या भएका दुई ठूला विकासशील मुलुकको रूपमा भारत र चीनले विश्वव्यापी जिम्मेवारी प्रदर्शन गर्नुपर्छ। प्रमुख शक्तिको रूपमा काम गर्नुपर्छ। विकासशील राष्ट्रहरूका लागि उदाहरण प्रस्तुत गर्नुपर्छ र विश्व ध्रुवीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकीकरणलाई प्रवर्द्धन गर्न योगदान दिनुपर्छ,' सिन्ह्वासँग यीले भनेका छन्।

विदेशमन्त्री यीले दुवै देशका नेताहरूबीच भएका सहमति कार्यान्वयनमा जोड दिँदै सबै तहमा संवाद र आदानप्रदान पुनः सुरु गर्ने, सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्ने र तिब्बतका पवित्र पहाड-तालहरूमा भारतीय तीर्थयात्रीलाई सहजरूपमा तीर्थयात्रा गर्नसक्ने वातावरण बनाउनुपर्ने बताएका थिए।

२०२५ लाई कूटनीतिक सम्बन्धको ७५औं वर्षको रूपमा विशेष अवसरको रूपमा लिँदै विगतबाट पाठ सिकेर दुई देशले एकअर्कालाई प्रतिद्वन्द्वी वा खतराको रूपमा नभई साझेदार र अवसरको रूपमा हेर्नुपर्ने उनको जोड थियो। 'भारत-चीन सम्बन्धले सहयोगतर्फ फर्कने सकारात्मक प्रवृत्ति देखाइरहेको छ। चीनले भारतसहित छिमेकी मुलुकसँग 'मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशीताको सिद्धान्त' कायम राख्दै शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण वातावरण निर्माण गर्न इच्छुक छ,' उनले भने।

विदेशमन्त्री यीले भारत र चीनले आपसी विश्वास कायम गर्दै एउटै दिशामा अघि बढ्नुपर्ने बताएको एएनआईले उल्लेख गरेको छ। एएनआईका अनुसार यीले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन र दुई ठूला सभ्यताको पुनरुत्थानलाई पारस्परिक रूपमा लाभदायक बनाउनुपर्ने बताएका थिए। यसले एशिया र विश्वमा निश्चितता र स्थिरता प्रदान गर्ने यीको विश्वास छ। 

त्यस्तै भारतीय विदेशमन्त्री जयशंकरले पनि द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार राखेका थिए। उनले भने, 'वार्ताले आर्थिक र व्यापारिक मुद्दा, तीर्थयात्रा, जनता-जनता सम्पर्क, नदीसम्बन्धी साझेदारी, सीमा व्यापार, कनेक्टिभिटी र द्विपक्षीय आदानप्रदानलाई समेट्नेछ।'

जयशंकरले भारत-चीन सम्बन्धलाई बहुआयामिक बताउँदै छिमेकी राष्ट्रका रूपमा दुवै मुलुक विश्वका प्रमुख अर्थतन्त्र पनि भएकाले आपसी सहयोग अपरिहार्य रहेको बताएका थिए। मतभेदहरूलाई द्वन्द्वमा परिणत गर्न नहुने बताउँदै उनले वार्ताको माध्यमबाट आपसी विश्वासलाई बलियो बनाउनुपर्ने बताएका थिए। 

(एएनआईबाट)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.