प्रदेशले काटेको दूध अनुदान रकम बर्दघाटद्वारा निरन्तरता
परासी : लुम्बिनी प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि नवलपरासीका पशुपालक किसानहरू निराश भएका छन्। अनुदान कटौतीपछि जिल्लाको दूध उत्पादनमा समेत कमी आउने देखिएको छ।
आर्थिक वर्ष २०८१/०८२ सम्म प्रदेश सरकारले किसानहरूलाई प्रति लिटर २ रुपैयाँ अनुदान दिँदै आएको थियो। चालु आर्थिक वर्ष (२०८२/०८३) देखि उक्त रकम कटौती गरिएको छ। प्रदेश सरकारले अनुदानमा कटौती गरेपनि नवलपरासीको बर्दघाट नगरपालिकाले भने नगर क्षेत्रका किसानहरूलाई अनुदान रकमलाई निरन्तरता दिएको छ।
जिल्लाका अन्य पालिकाहरूले दुग्ध किसानलाई अनुदान रकमका लागि बजेट छुट्टाएका छैनन्। तर बर्दघाट नगरपालिकाले भने प्रति लिटर २ रुपैयाँका दरले अनुदान उपलब्ध गराउन बजेट छुट्टाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।
लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष (२०८१/०८२/) मा नवलपरासीका दुग्ध किसानलाई ७० लाख रुपैयाँ बजेट पठाएको थियो। जसमध्ये ६९ लाख ८६ हजार रकम किसानलाई वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा अधिकृत सुरेशप्रसाद मिश्रले जानकारी दिए। जिल्लामा झन्डै वार्षिक ३० हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ।
गत आर्थिक वर्ष (२०८१/०८२) मा जिल्लामा २९ हजार ७७५ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले जनाएको छ। सरकारी तथ्याङ्कअनुसार जिल्लामा २६ सय पशुपालक किसान छन्। व्यवसायिकसहित अन्य गरी झन्डै ३ हजारभन्दा बढी पशुपालक किसान रहेको अनुमान छ।
प्रतिक्रिया दिनुहोस !