घट्टबाटै मनग्य आम्दानी

घट्टबाटै मनग्य आम्दानी
घट्ट व्यवसाय सञ्चालन गरिरहेका बैतडी पाटनका गणेश भण्डारी । तस्बिर : कृष्ण विष्ट

बैतडी : पाटन नगरपालिका–६ का ३८ वर्षीय गणेशसिंह भण्डारी बिहान सबेरै उठेर घट्ट चलाउन हिँड्छन् । दिनैभर स्थानीयहरूले पिसानीका लागि ल्याएका अन्न पिस्नमा व्यस्त हुन्छन् । उनको यो दैनिकी एक दशकदेखिको हो । घरनजिकै भएर बग्ने सुनर्या नदीकिनारमा उनले विगत १० वर्षदेखि व्यावसायिक रूपमा पानीघट्ट चलाइरहेका छन् ।

दैनिक करिब आठ क्विन्टलसम्म अन्न पिसानी गर्ने आएका भण्डारी साँझसम्म नै घट्ट चलाउन व्यस्त हुन्छन् । उनले सञ्चालन गरेको घट्टमा अन्न पिसानी गर्नेहरूको भीड नै लाग्छ । बैतडीलगायत सुदूरपहाडका खोलाहरूमा एक समय पानीघट्ट थुप्रै थिए । सामूहिक र एकल गरी ठाउँ–ठाउँमा घट्ट निर्माण गरी सञ्चालन गरिएका थिए । यातायात तथा विद्युतीय सेवा नपुगेको ठाउँमा पिसानीका लागि घट्टमै निर्भर थियो । यहाँका खोलाहरूमा पाँच सय मिटरको दूरीमा घट्टहरू भेटिने गर्थे । 

खेतमा उत्पादित अन्न, गहुँ, मकै, जौं, कोदो घट्टमै पिसानी गरिन्थ्यो । ‘यही सुनर्यामा पनि थुप्रै घट्टहरू थिए, अचेल देखिँदैनन्, मैले सुरुवातदेखि नै आधुनिक औजार प्रयोग गरी घट्ट चलाइरहेको छु,’ घट्ट व्यवसायी भण्डारी भन्छन् । पछिल्ला दिनहरूमा पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । बजार क्षेत्रमा आँटा मिलहरू सञ्चालन भइरहेका छन् । स्थानीय खोलाहरूमा छ्यापछ्याप्ती रूपमा देखिने घट्टहरू पछिल्ला वर्षहरूमा देखिनै मुस्किल हुने गरेको छ । 

भण्डारीले भने विगत १० वर्षदेखि घट्ट चलाएर मनग्य आम्दानी गरिरहेका छन् । ठाउँ–ठाउँमा घट्ट निर्माण भइरहेका क्रमदेखि नै व्यावसायिक घट्ट चलाइरहेका भण्डारीले अनवरत रूपमा व्यावसाययिक रूपमा घट्ट चलाइरहेका छन् । २०७१ सालदेखि व्यावसायिक रूपमा घट्ट व्यवसाय सुरु गरेका भण्डारीले घट्ट व्यवसायबाटै मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । भण्डारीले दिनैभर घट्ट चलाएर 
घरपरिवारमात्रै पालेका छैनन्, छोराछोरीको शिक्षादीक्षाको खर्च पनि टारेका छन् । ‘दिउँसोको समयमा घट्ट चलाउने गरेको छु, कमाइ राम्रै छ, परिवार पालेकै छु, छोराछोरी पढाउन पुगेकै छ,’ भण्डारी भन्छन् । भण्डारीको घरमा श्रीमती र दुई छोराछोरी छन् ।  आफ्नै लगानीमा घट्ट निर्माण गरेका भण्डारीले वार्षिक तीन लाख रुपैयाँसम्म बचत गर्ने गरेका छन् । भण्डारीले सुरुमा करिब दुई लाख रुपैयाँ लगानी गरेर घट्ट व्यवसाय थालेका हुन् । पानीबाटै सञ्चालन भइरहेको घट्टमा केही आधुनिक उपकरणको प्रयोग गरिएको छ ।

पिसानी गरेबापत भण्डारीले प्रतिकेजी ३ रुपैयादेखि ६ रुपैयाँसम्म लिने गरेका छन् । यस घट्टमा पाटन नगरपालिका–६ सहित वडा नं ३ र ४ का स्थानीयहरूले पिसानीका लागि गेडागुडी ल्याउने गरेका छन् । पछिल्लो समयमा बजार क्षेत्रमा छ्यापछ्याप्ती आँटा मिलहरू खुलेको भए पनि यस क्षेत्रका स्थानीयहरूले भने पानीघट्टमै आएर अन्न पिसानी गर्दै आएका छन् ।

बजारमा सञ्चालन गरिने आँटा मिलहरूको भन्दा पानीघट्टबाट पिसानी गरिएको पिठो स्वस्थ र स्वादिलो हुने गरेको सेवाग्राहीको बुझाइ छ । बजारमा चल्ने पिसानी मेसिनमा तातोपना बढी हुने भएकाले रोटी स्वादिलो नहुने स्थानीय मैनादेवी चन्द बताउँछिन् । ‘विद्युत्बाट चल्ने ठूलो मिलमा पिसिएको पिठो निकै तातो हुन्छ, त्यसमा पिसिएको पिठोबाट बनेको रोटीको स्वाद मर्छ, पानीघट्टमा पिसानी गरिएको पिठोबाट बनेका रोटी स्वादिला हुन्छन्, हामी त घट्टकै पिठो राम्रो मान्छौं, बानी परिसक्यो,’ चन्द भन्छिन् । आफ्नै क्षेत्रमा सहजै पिसानीको व्यवस्था भएपछि गेडागुडी पिसानीकै लागि बजार चाहानुपर्ने झन्झट पनि हटेको चन्द बताउँछिन् ।  आफ्नै गाउँठाउँमा उपलब्ध स्रोतसाधनको उपयोग गरी पर्याप्त आम्दानी गर्न सकिने घट्ट व्यवसायी भण्डारीको भनाइ छ । ‘मैले घरमा बंगुरपालन पनि गरेको छु, बिहान बेलुका बंगुरको पनि हेरचाह गर्ने गर्छु, परिवारका सदस्यहरूले पनि मेरो पेसामा सहयोग गरेका छन् । परिवार पाल्न र छोरीछोरी पढाउनकै लागि विदेश चाहार्नु आवश्यक ठान्दिनँ, यही अवसरहरू छन्,’ भण्डारी भन्छन् । 

आफ्नै घरनजिकै स्थानीय स्रोतसाधनको उपयोग गरी घट्ट व्यवसाय सञ्चालन गरेका भण्डारी आफ्नो कामप्रति सन्तुष्ट छन् । ‘घरकै खाना खाएर दिनभरि घट्टमै काममा व्यस्त हुन्छु, घरका सदस्यहरूले पनि यस काममा सहयोग गरेका छन्,’ भण्डारी भन्छन् । घट्ट व्यवसायी भण्डारी राज्यस्तरबाट कुनै सहयोग नपाउँदा उनी खिन्न देखिन्छन् । ‘स्थानीय तह, घरेलुको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा फर्म दर्ता गरेर घट्ट व्यवसाय गरिरहेको छु, तर हालसम्म कुनै पनि निकायबाट सहयोग पाइएन,’ भण्डारी भन्छन्, ‘गत वर्ष बाढीका कारण घट्ट सञ्चालन गरेको घरमा क्षति पुग्यो, सहयोगका लागि पालिकामा निवेदन दिएको थिएँ, तर कुनै सहयोग भएन,’ भण्डारी भन्छन् । 

विभिन्न निकायमा व्यावसायिक परियोजना पठाएको भए पनि कतैबाट सहयोग प्राप्त नभएको भण्डारीको दुःखेसो छ । ‘आफ्नो ठाउँमा उपलब्ध स्रोतसाधनको उपयोग गर्दै सञ्चालन गरेको सानो व्यवसाय हो, यहाँ राज्यस्तरले सहयोग गरेमा यसलाई थप विस्तार गरी ठूलो क्षमताको बनाउने मन थियो, तर कतैबाट सहयोग जुटेको छैन । छानो मर्मतका लागि पनि सहयोग गरेनन्,’ भण्डारी भन्छन् । 

बजार क्षेत्रमा विद्युत्बाट चलेको मिलभन्दा ठूलो क्षमताको पानीघट्ट सञ्चालन गरेर क्षमता विस्तार गर्ने योजना भए पनि राज्यस्तबाट सहयोग नपाउँदा अहिलेकै अवस्थामा सीमित भएको भण्डारीको भनाइ छ ।  तीन सय मिटर दूरीबाट कुलो ल्याएर घट्ट चलाइरहेका भण्डारीलाई वर्षाद्को समयमा सुनर्या नदीले कुलो बगाउने गरेको छ । उक्त समयमा उनी पुनः मर्मत गरी घट्ट सञ्चालन गरिरहन्छन् । नदीले कटान गर्न थालेपछि अहिले घट्ट सञ्चालन गरिरहेको घर पनि जोखिममा परेको छ । कुनै निकायबाट तटबन्धनको व्यवस्थापन गर्न सके सहयोग पुग्ने भण्डारीको भनाइ छ । घट्ट चलाएबापत उनले सरकारबाट कुनै सहयोग नपाएको गुनासो छ । 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.