एमाले लेटाङको अध्यक्षमा संस्थापन पक्षका भण्डारी निर्वाचित
विराटनगर : मोरङको लेटाङमा सम्पन्न नेकपा (एमाले)को दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा खगेन्द्रराज भण्डारी निर्वाचित भएका छन्।
अधिवेशनबाट सम्पूर्ण पदाधिकारीमा संस्थापन पक्षकै उम्मेदवार विजयी भएका छन्। शुक्रबार भएको मतदानमा भण्डारीले १ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नन्दलाल धिमालले ६० मत मात्र पाए। भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक मानिन्छन् भने धिमाल विद्या भण्डारी समूहका हुन्।
पार्टीको नगर अधिवेशनलाई मोरङ एमालेभित्र लामो समयदेखि चल्दै आएको दुई लाइन शक्ति संघर्षका रूपमा हेरिएको थियो। अध्यक्षसँगै उपाध्यक्षमा पनि संस्थापन पक्षका उम्मेदवार विजयी भए। विष्णुकुमार मगरले १ सय ६४ मत ल्याएर यामनाथ सुवेदीलाई पराजित गरे। सचिवमा उर्गेन तामाङ समान मत १ सय ६४ ल्याउँदै निर्वाचित भए भने उनका प्रतिस्पर्धी जितबहादुर लामाले ५२ मत मात्र ल्याए।
उपसचिवतर्फ नगेन्द्रराज पराजुली १ सय ५५ मत प्राप्त गर्दै विजयी भए। टेकनाथ निरौलालाई पराजित गरेका पराजुली संस्थापन पक्षकै उम्मेदवार हुन्। महिला उपसचिवमा चिजमाया लिम्बू १ सय ५४ मतसहित निर्वाचित भइन् भने प्रतिस्पर्धी पुनम मस्की मगर ६४ मतमै सीमित भइन्।
नगर कमिटीका सदस्यहरू भने सहमतिका आधारमा चयन भएका छन्। लेटाङमा भएको यस अधिवेशनले पार्टीको संस्थापन पक्ष मजबुत रहेको देखाउँछ।
प्रतिक्रिया दिनुहोस !