खडेरीले धनकुटामा पानीका स्रोत सुक्दै
धनकुटा : पछिल्ला केही वर्षयता धनकुटा नगर क्षेत्रमा रहेका खानेपानीका अधिकांश स्रोतहरू सुक्दै गएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा धनकुटा नगरपालिकाले गरेको सर्वेक्षणले नगरभरिका १४ प्रतिशत पानीका मूल तथा पोखरी सुकिसकेको देखाएको हो ।
नगरपालिकाले ७ सय ९१ वटा पानीका स्रोतको सर्वेक्षण गर्दा ७ सय ५९ मूल र ३२ पोखरीमध्ये ९० मूल र १७ पोखरी गरी कुल १ सय ७ वटा स्रोत सुकिसकेको पाइएको इसिमोडकी मूलाधार व्यवस्थापन विश्लेषक अञ्जु पण्डितले बताइन् ।
उनका अनुसार सुकेका स्रोतमध्ये ५० प्रतिशत खडेरीका कारण, १९ प्रतिशत भूकम्पका कारण, १७ प्रतिशत पूर्वाधार विकासका कारण, ८ प्रतिशत अपहेलनाका कारण र ६ प्रतिशत बाढी–पहिरोका कारण हराएको देखिएको छ ।
हाल नगर क्षेत्रमा ६ सय ८४ वटा सक्रिय स्रोत मात्र रहेका छन् । तीमध्ये ६६ प्रतिशत स्रोतको पानी प्रवाह घट्दो अवस्थामा छ भने ८० प्रतिशत प्रयोगमा रहेका छन् । सर्वेक्षणले देखाएको तथ्यांकअनुसार ५२ प्रतिशत मूल पाइपमार्फत संकलन गरिएका छन् । सक्रिय स्रोतहरूमध्ये ७ प्रतिशत धार्मिक तथा सांस्कृतिक महत्वका मानिन्छन् ।
स्रोत स्वामित्वतर्फ ६७ प्रतिशत व्यक्तिगत, २५ प्रतिशत सामुदायिक र ८ प्रतिशत सार्वजनिक क्षेत्रका रहेको देखिन्छ । गत असार धनकुटा नगरपालिकाले इसिमोडको प्राविधिक सहयोगमा नगरक्षेत्रका १० वटै वडाबाट २० जना समुदाय स्रोत व्यक्तिलाई खटाई, नगरपालिकाका २ जना प्राविधिकको परामर्शमा पानीका स्रोतहरूको सर्वेक्षण गरेको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताए ।
छथरजोरपाटीमा १६ प्रतिशत पानीका स्रोत सुक्यो
छथरजोरपाटी गाउँपालिकामा पनि पानीका स्रोत क्रमशः सुक्दै गएको छ । इसिमोडको प्राविधिक सहयोगमा गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार गाउँपालिका क्षेत्रमा रहेका ८ सय ०६ वटा पानीका स्रोतमध्ये १ सय २५ (१६ प्रतिशत) सुकेका छन् ।
सर्वेक्षणले देखाएअनुसार ७ सय ६० मूल र ४६ पोखरीमध्ये हाल सक्रिय रहेको स्रोत संख्या ६८१ मात्र छ । तीमध्ये ७५ प्रतिशतमा पानीको प्रवाह घट्दो अवस्थामा पुगेको छ । ८७ प्रतिशत स्रोत प्रयोगमा रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । हाल सक्रिय रहेका स्रोतहरूमध्ये ५७ प्रतिशत पाइपमार्फत संकलन गरिएका छन् । भने १५ प्रतिशत धार्मिक तथा साँस्कृतिक महत्वका स्रोतहरू छन् ।
स्रोत सुक्नुको प्रमुख कारणमा ५८ प्रतिशत खडेरी, १९ प्रतिशत भूकम्प, ११ प्रतिशत पूर्वाधार विकास, ६ प्रतिशत स्रोतको अपहेलना र ६ प्रतिशत बाढी–पहिरो रहेका छन् । स्वामित्वतर्फ ६७ प्रतिशत व्यक्तिगत, १९ प्रतिशत सामुदायिक र १४ प्रतिशत सार्वजनिक स्रोत रहेका छन् ।
मुहान संरक्षणमा स्थानीय तहको भूमिका
पछिल्लो समय खानेपानीका स्रोत क्रमशः सुक्न थालेपछि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले मुहान संरक्षणमा विभिन्न काम गर्दै आइरहेको छ । विशेष गरी इसिमोडसँगको सहकार्यमा पानीको स्रोतमा पुनर्भरणका लागि रिचार्ज पोखरी निर्माणको काम भइरहेको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताए ।
उनले भने,‘अधिकांश मुहान खडेरीको कारण सुकेका छन्, सुकेका मुहानलाई पुनर्भरणका लागि मुहानभन्दा माथिल्लो क्षेत्रका डाँडामा वर्षाको पानी संकलन गर्न पोखरी र खाल्डाहरू खनिएका छन् ।’ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले स्थानीयसँगको समन्वयमा मुहान संरक्षणको काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस !