खडेरीले धनकुटामा पानीका स्रोत सुक्दै

खडेरीले धनकुटामा पानीका स्रोत सुक्दै
सुन्नुहोस्

धनकुटा : पछिल्ला केही वर्षयता धनकुटा नगर क्षेत्रमा रहेका खानेपानीका अधिकांश स्रोतहरू सुक्दै गएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा धनकुटा नगरपालिकाले गरेको सर्वेक्षणले नगरभरिका १४ प्रतिशत पानीका मूल तथा पोखरी सुकिसकेको देखाएको हो ।

नगरपालिकाले ७ सय ९१ वटा पानीका स्रोतको सर्वेक्षण गर्दा ७ सय ५९ मूल र ३२ पोखरीमध्ये ९० मूल र १७ पोखरी गरी कुल १ सय ७ वटा स्रोत सुकिसकेको पाइएको इसिमोडकी मूलाधार व्यवस्थापन विश्लेषक अञ्जु पण्डितले बताइन् ।

उनका अनुसार सुकेका स्रोतमध्ये ५० प्रतिशत खडेरीका कारण, १९ प्रतिशत भूकम्पका कारण, १७ प्रतिशत पूर्वाधार विकासका कारण, ८ प्रतिशत अपहेलनाका कारण र ६ प्रतिशत बाढी–पहिरोका कारण हराएको देखिएको छ ।

हाल नगर क्षेत्रमा ६ सय ८४ वटा सक्रिय स्रोत मात्र रहेका छन् । तीमध्ये ६६ प्रतिशत स्रोतको पानी प्रवाह घट्दो अवस्थामा छ भने ८० प्रतिशत प्रयोगमा रहेका छन् । सर्वेक्षणले देखाएको तथ्यांकअनुसार ५२ प्रतिशत मूल पाइपमार्फत संकलन गरिएका छन् । सक्रिय स्रोतहरूमध्ये ७ प्रतिशत धार्मिक तथा सांस्कृतिक महत्वका मानिन्छन् ।

स्रोत स्वामित्वतर्फ ६७ प्रतिशत व्यक्तिगत, २५ प्रतिशत सामुदायिक र ८ प्रतिशत सार्वजनिक क्षेत्रका रहेको देखिन्छ । गत असार धनकुटा नगरपालिकाले इसिमोडको प्राविधिक सहयोगमा नगरक्षेत्रका १० वटै वडाबाट २० जना समुदाय स्रोत व्यक्तिलाई खटाई, नगरपालिकाका २ जना प्राविधिकको परामर्शमा पानीका स्रोतहरूको सर्वेक्षण गरेको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताए ।

छथरजोरपाटीमा १६ प्रतिशत पानीका स्रोत सुक्यो
छथरजोरपाटी गाउँपालिकामा पनि पानीका स्रोत क्रमशः सुक्दै गएको छ । इसिमोडको प्राविधिक सहयोगमा गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार गाउँपालिका क्षेत्रमा रहेका ८ सय ०६ वटा पानीका स्रोतमध्ये १ सय २५ (१६ प्रतिशत) सुकेका छन् ।

सर्वेक्षणले देखाएअनुसार ७ सय ६० मूल र ४६ पोखरीमध्ये हाल सक्रिय रहेको स्रोत संख्या ६८१ मात्र छ । तीमध्ये ७५ प्रतिशतमा पानीको प्रवाह घट्दो अवस्थामा पुगेको छ । ८७ प्रतिशत स्रोत प्रयोगमा रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । हाल सक्रिय रहेका स्रोतहरूमध्ये ५७ प्रतिशत पाइपमार्फत संकलन गरिएका छन् । भने १५ प्रतिशत धार्मिक तथा साँस्कृतिक महत्वका स्रोतहरू छन् ।

स्रोत सुक्नुको प्रमुख कारणमा ५८ प्रतिशत खडेरी, १९ प्रतिशत भूकम्प, ११ प्रतिशत पूर्वाधार विकास, ६ प्रतिशत स्रोतको अपहेलना र ६ प्रतिशत बाढी–पहिरो रहेका छन् । स्वामित्वतर्फ ६७ प्रतिशत व्यक्तिगत, १९ प्रतिशत सामुदायिक र १४ प्रतिशत सार्वजनिक स्रोत रहेका छन् ।

मुहान संरक्षणमा स्थानीय तहको भूमिका

पछिल्लो समय खानेपानीका स्रोत क्रमशः सुक्न थालेपछि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले मुहान संरक्षणमा विभिन्न काम गर्दै आइरहेको छ । विशेष गरी इसिमोडसँगको सहकार्यमा पानीको स्रोतमा पुनर्भरणका लागि रिचार्ज पोखरी निर्माणको काम भइरहेको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताए ।

उनले भने,‘अधिकांश मुहान खडेरीको कारण सुकेका छन्, सुकेका मुहानलाई पुनर्भरणका लागि मुहानभन्दा माथिल्लो क्षेत्रका डाँडामा वर्षाको पानी संकलन गर्न पोखरी र खाल्डाहरू खनिएका छन् ।’ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले स्थानीयसँगको समन्वयमा मुहान संरक्षणको काम भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.