आदिलको ‘नयाँ इनिङ्स’
सिमरा : 'स्पट फिस्किङ'को आरोप लागेको ३१ महिनापछि अलराउण्डर क्रिकेटर महमद आदिल आलम (आदिल अन्सारी) राष्ट्रिय टोलीमा फर्किँदैछन् । भारतको गुवाहटीमा आसाम राज्यविरुद्ध हुने टी-२० सिरिजमा नेपाल ‘ए’को टोलीबाट आदिलको पुनरागमन हुन लागेको हो।
नेपाल क्रिकेट एसोशिएसन (क्यान)ले घोषणा गरेको १६ सदस्यीय टोलीमा बारा सिम्रौनगढ घर भएका आलम पनि समेटिएका छन्। आलमले दुई वर्ष सात महिनापछि नेपाल ‘ए’मार्फत राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
अनिललाई यो सिरिज राष्ट्रिय टोलीमा पुनः स्थान बनाउनका लागि महत्वपूर्ण हुनेछ। अनिलले अनुभवी खेलाडीको रूपमा टोलीको नेतृत्व गरिरहँदा आदिललाई भने यो सिरिज राष्ट्रिय क्रिकेटमा नयाँ इनिङ्स हुनेछ।
स्पष्ट फिक्सिङको आरोपपछि आदिल क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रतिबन्धमा थिए। काठमाडौं जिल्ला अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै २०८० चैत १२ गते सफाइ दिए पनि क्यान र आइसीसीबाट फुकुवा पाउन आदिललाई दुई वर्ष लाग्यो। क्यानले आदिललाई २०८२ वैशाख २१ गते निलम्बन फुकुवा गरेको थियो।
राष्ट्रिय टोलीबाट अवसर पाएर केही अन्तर्राष्ट्रिय खेलहरू खेलेका आदिलमाथि २०७९ पुसमा 'स्पष्ट फिक्सिङ'को आरोप लागेको थियो। नेपाल टी-२० लिग अन्तर्गतको दुई खेलमा जनकपुर रोयल्सका आदिलले स्पष्ट फिक्सिङ गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र आइसीसीको एन्टी करप्सन युनिट (एसीयु)ले अनुसन्धान गरेको थियो।
अनुसन्धानपछि सिआइबीले आदिलसहित पूर्व राष्ट्रिय खेलाडी महमुद आलम, नितेश गुप्ता, रवी माझी र नविन कँडेलमाथि २०७९ फागुनमा मुद्दा दायर गरेको थियो। पुस १२ गते काठमाडौं नाइट्सविरुद्ध र पुस १४ गते फारवेष्ट युनाइटेडविरुद्धको खेलमा आदिलले स्पट फिक्सिङ गरेको आरोप थियो। तर, काठमाडौं जिल्ला अदालतले 'स्पट फिक्सिङ'को प्रमाण नदेखिएको भन्दै आदिलसहित सबैलाई सफाइ दिएको थियो।
स्पष्ट फिक्सिङको आरोपबाट सफाइ पाए पनि आदिललाई क्यान र एसीयुबाट सफाइ पाउनुका साथै राष्ट्रिय टोलीमा पुनरागमन गर्न दुई वर्ष पर्खनुपर्यो। यसबीचमा आदिलले आफ्नो अभ्यास भने छोडेनन्। उनले आफूलाई तिखार्दै गए। जसको फलस्वरुप आदिलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनि अक्सनमा शानदार इन्ट्री गरे।
प्रतिबन्धकै कारण पहिलो संस्करण गुमाएका आदिलमाथि २०८२ साउन २४ गते भएको मिनि अक्सनमा एनपीएलका आठवटै टोलीले बोली लगाएका थिए। गोलाप्रथाबाट आदिल १५ लाखमा काठमाडौं गुर्खाजमा आबद्ध भए। गोलाप्रथाबाट आदिललाई भित्र्याउन पाउँदा काठमाडौं गुर्खाजको अफिसियलसमेत उत्साहित देखिन्थे। आठवटै टोलीले बोली लगाएपछि आदिलको चर्चा थप चुलिएको छ।
आदिल बिष्फोट ब्याटरका रूपमा चिनिन्छिन्। उनले हालसम्म ६ वटा अन्तर्राष्ट्रिय एक दिवसीय र आठवटा अन्तर्राष्ट्रिय टी-२० खेलेका छन्। जसमा उनले एक दिवसीय खेलमा ७० रन र टी-२० मा ११० रन प्रहार गरेका छन्। बलिङतर्फ आदिलले एक दिवसीयमा ६ विकेट र टी-२० मा पाँच विकेट हात पारेका छन्।
नेपाल ‘ए’बाट राष्ट्रिय जर्सीमा फर्किएका आदिलले आफू अत्यन्तै खुसी रहेको प्रतिक्रिया दिए। उनले अब राम्रो खेल देखाउनका लागि निकै मेहनत गर्ने पनि बताए। ‘मेरा लागि अन्त्यन्तै कठिन समय थियो। सबैको साथ र मायाले पुनः फर्कने अवसर पाएको छु,’ आदिलले भने ‘निकै मेहनत गरेर राम्रो गरेर देखाउनु छ। त्यसतर्फ मेरो ध्यान जानेछ।’
आदिलले ३१ महिनाको समयमा परिवार, साथी, फ्यानबाट राम्रो साथ पाएको बताए। उनले यसबीचमा अन्य विषयमा सोच्नेभन्दा पनि आफूलाई क्रिकेटमा व्यस्त राख्दै भारतका विभिन्न स्थानमा पुगेर खेलेको बताए। आफूलाई खेलमै व्यस्त राखेर पुनः देशका लागि खेल्ने लक्ष्य राखेको र त्यसमा सफलता प्राप्त गरेको आदिलको भनाइ छ।
आदिलले एनपीएलमा पाएको रेस्पोन्सले पनि आफूलाई निकै उत्साहित बनाएको बताएका छन्। ‘एनपीएलमा केही इच्छुक हुन सक्छन् भन्ने लागेको थियो। तर, सबै टिमले बोली लगाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘यो विश्वास कायम राख्न निकै मेहनत गरेर खेल्नुपर्नेछ। त्यसका लागि तयार छु।’
प्रतिक्रिया दिनुहोस !