सरकारी गाडीमा आगजनीको आरोप लागेका विद्यार्थी नेताले पाए सफाइ
विराटनगर : विराटनगरमा आन्दोलनका नाममा सरकारी गाडीमा आगजनी र तोडफोड गरेको आरोप लागेका सबै विद्यार्थी नेताहरूले अभियोगबाट सफाइ पाएका छन्।
जिल्ला अदालत मोरङले विद्यार्थी नेतालाई सफाइ दिने फैसला गरेको हो। असार २२ गतेको फैसलाको पूर्णपाठ हालसालै तयार भएको छ। प्रमाणको अभाव देखाउँदै न्यायाधीश मेघनाथ चापागाईंको इजलासले आपराधिक उपद्रव मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका कार्यकर्ताले २०८१ साल जेठ २७ गते बिहान रोडशेष चोकबाट सरकारी गाडीमा आगजनी गरेका थिए। कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गरेको को १ झ ६४४ नम्बरको गाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि जलाइएको थियो।
त्यसलगत्तै कञ्चनजंघा पार्टी प्यालेसमा नेपाल विद्युत प्राधिकरणको सभा भइरहेका बेला बाहिर पार्किङ गरेर राखिएका बा १ ञ १८८७, बीएबी ८१८०, बा १ ञ २४१९, बागमती प्रदेश ०१–००१ ञ २७०१ र बागमती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडी तोडफोड गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विद्यार्थी नेताहरू सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशनकुमार पासमान, मोहमद सलमान, भानु चेल, जयनारायण पाण्डे, देवकुमार साह, अभिमन्यू यादव र प्रोज्वल अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। अभिमन्यू यादव र जयनारायण पाण्ड अखिल क्रान्तिकारीका नेता हुन्।
अन्य प्रतिवादी नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाइका नेता र ठकुरी महेन्द्र मोरङका पूर्वस्ववियु सचिव हुन्। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग लगाइएको थियो। तोडफोड र आगजनीबाट २७ लाख ७० हजार ५ सय ९६ रुपैयाँ २१ पैसा बराबरको क्षति पुगेको अनुसन्धानबाट खुल्यो।
अभियोग पत्रमा क्षतिपूर्ति पनि प्रतिवादीहरूबाटै भराउन माग गरिएको थियो। अदालतमा बयान दिने क्रममा प्रतिवादीहरूले आफूहरू घटनामा संलग्न नरहेको र राजनीतिक कारणले फसाउन खोजिएको जिकिर गरेका थिए। अधिकांशले घटनाको समयमा आफूहरू अर्कै स्थानमा रहेको बयान दिए।
प्रहरीले घटनास्थल वरपरको सीसी टिभी फुटेज, विभिन्न सञ्चारमाध्यममा प्रसारित भिडियो तथा प्रत्यक्षदर्शीको बयानको आधारमा अनुसन्धान अगाडि बढाएको थियो। तर, अदालतमा पेस गरिएको सीसी टिभी फुटेजको सीडी स्क्र्याच भएका कारण खुलेन। अदालतमा कागज गर्ने व्यक्तिहरूले पनि प्रतिवादीहरूले नै कसूर गरेको भनी किटानी बयान दिन सकेनन्। ‘वारदातस्थल वरपर प्राप्त सीसी टिभी फुटेजको भिडियोको इमेज उतार गरी यी प्रतिवादीहरू उक्त कसूरमा संलग्न रहेको भनी अनुसन्धानको क्रममा वारदात देख्ने व्यक्तिहरूबाट सनाखत गराइ मिसिल संलग्न राखेको भन्ने देखिँदैन।
यस अदालतको आदेशानुसार अभियोग साथ पेस भएको सीसी टिभीको फुटेज रहेको सिडी/डिभिडी फाँटका कर्मचारी, सूचना प्रविधि सहायक तथा वादीप्रतिवादीका कानुन व्यवसायीको रोहबरमा हेरी इमेज प्रिन्ट गर्न लाग्दा उक्त सिडी/डिभिडी स्क्रयाच भएको कारण नखुलेकोले फुटेजको इमेज फोटो प्रिन्ट गर्न नसकिएको समेत भन्ने व्यहोराको कागज मिसिल सामेल रहेको पाइन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ।
अदालतले सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशनकुमार पासमान, मोहमद सलमान, भानु चेल, देवकुमार साह र प्रोज्वल अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिइसकेको छ। मुद्दाका अन्य प्रतिवादीहरू जयनारायण पाण्डे र अभिमन्यू यादव अदालतमा हाजिर नभएकाले उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको छ।
मोरङको रंगेलीमा दीपक यादवसहित ४ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलित विद्यार्थीहरूले सरकारी सवारीसाधनमा आगजनी र तोडफोड गरेका थिए। नेपाल विद्युत प्राधिकरण र कोशी प्रदेश योजना आयोगको गाडीहरूमा आगजनी र तोडफोड गरिएको हो।
प्रतिक्रिया दिनुहोस !