लन्डनमा नेपाल–झल्को
लन्डन : बेलायतमा नेपाली कला, संस्कृति र परम्परा प्रबर्द्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको नेपाली मेलाको १६ औं संस्करण आइतबार भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
लन्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा तमुधिं यूकेले आयोजना गरेको मेलामा सहभागी हुन लन्डनको केम्पटन पार्क रेसकोर्समा बेलायतका विभिन्न क्षेत्रबाट झन्डै १३ हजार नेपाली भेला भएका थिए । सन् २००९ देखि हरेक वर्ष हुँदै आएको मेला सहभागिता र सांस्कृतिक प्रस्तुति दुवै आधारमा अहिलेसम्मकै व्यापक र ऐतिहासिक बनेको आयोजकले जनाएका छन् ।
बेलायतका विभिन्न ४४ नेपाली संस्थाका तर्फबाट गरिएको आ—आफ्नो जातीय तथा सांस्कृतिक पहिचान र परम्परा झल्काउने कलात्मक झाँकी प्रस्तुति मेलाको प्रमुख आकर्षण थियो । सोही अवसरमा झन्डै दुई दर्जन संस्थाले मौलिक नेपाली सांस्कृतिक नृत्यसमेत देखाएका थिए । तमु समुदायको ट्होटे, नेवारहरूको गाईजात्रा र मौलिक बाजामा घिन्ताङ घिसी, किरातहरूको साकेला, लिम्बूहरूको हाक्पारे, धाननाच र च्याब्रुङदेखि मगर समुदायको कौरा, मारुनी र झ्याउरे, नौमति बाजासम्मका विविध मौलिक प्रस्तुतिले मेलालाई साँच्चिकै नेपालमय बनाएका थिए ।
पासा पुचः गुथिले ४० जनाको सहभागितामा मौलिक धिमे नाचको उत्कृष्ट प्रस्तुति देखाएको थियो । बन्टओर्क नेपाली समाजका तर्फबाट केयरसिंह गुरुङको संयोजनमा ससाना बालबालिकाले प्रस्तुत गरेको सारंगी र मादलको प्रस्तुतिले पनि धेरैको मन जित्यो । मेलामा प्रस्तुत झाँकी तथा मौलिक सांस्कृतिक नृत्यतर्फ उत्कृष्ट प्रस्तुति गर्दै पासा पुचः गुथि यूकेले ११ सय पाउन्ड नगद पुरस्कारसहितको एम्बासडर कप जित्यो ।
किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा क्रमशः दोस्रो र तेस्रो भए । झाँकीतर्फ मगर संघ यूके, पासा पुचः यूके र किरात याक्थुङ चुम्लुङ तथा सांस्कृतिक नृत्यतर्फ पासा पुचः गुथि यूके, तनहुँ समाज यूके र किरात याक्थुङ चुम्लुङ क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार जित्न सफल बने । मेलास्थलमा राखिएका नेपाली खाना, पोसाक र मौलिक सामग्रीहरूदेखि विभिन्न व्यापार, व्यवसाय र च्यारिटीलगायतका ७५ वटा स्टलमा मेला हेर्न आएका सहभागीको दिनभर भिड लागेको थियो ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न मेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपालको विशिष्ट पहिचान र सांस्कृतिक विविधतालाई नेपाली मेलाले बेलायतमा ल्याएकोमा खुसी व्यक्त गरे ।
बेलायतमा नेपाली परम्परा, कला र संस्कृतिको यो प्रस्तुति साँच्चिकै अपूर्व अवसर हो । मेलाले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा बिस्तार र सुदृढ गर्न योगदान गरेको छ, राजदूत घिमिरेले भने, मेलामा गैरनेपाली समुदायको पनि सहभागिता देखिनु निकै सुखद पक्ष हो । आगामी वर्षहरूमा यसलाई अझ व्यापक बनाउन दूतावासले समेत भूमिका निर्वाह गर्नेछ ।
विशेष अतिथि उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङले बेलायतमा बस्ने नेपालीहरूले आफ्नो मौलिक नेपाली परम्परा र कला, संस्कृतिलाई जगेर्ना गरेको देख्दा गौरव लागेको बताए । नेपाली मेलाले नेपाली समाजभित्रको अनेकतामा एकतालाई जस्ताको तस्तै झल्काएको उनको भनाइ थियो । आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलाको १६औं संस्करणलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे ।
लन्डनको नेपाली मेला पूर्वदेखि पश्चिमसम्मको नेपालको विविधतापूर्ण संस्कृति एउटै मञ्चमा देख्न पाइने एक मात्र मञ्च बन्न सफल भएकोमा आयोजकलाई गौरव लागेको उनले बताए । बेलायतमा नेपाली कला, संस्कृति तथा परम्परालाई जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आफूहरूको प्रयासमा साथ दिन अध्यक्ष गुरुङले सिंगो नेपाली समुदायलाई आह्वान गरे ।
मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिँदै सहयोगी सबैलाई धन्यवाद दिए । उनले नेपाली मेलामार्फत विदेशमा हुर्किएको नेपालीको नयाँ पुस्ता र विदेशी समुदायमाझ समेत नेपाली कला, संस्कृति प्रवद्र्धनको लक्ष्य राखिएको बताए ।कार्यक्रमको औपचारिक सत्र महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । सो अवसरमा तमुधिं यूकेले खेलकुद, मिडियासहितका विभिन्न क्षेत्रमा योगदान पुर्याउने आधा दर्जन व्यक्तित्व र संस्थालाई सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !