चाडपर्व आए, भद्रपुर भन्सार भने सुनसान

चाडपर्व आए, भद्रपुर भन्सार भने सुनसान
पहिले र अहिले

झापा : भद्रपुर भन्सार कार्यालय सुनसान छ । कर्मचारी फुर्सदिला छन् । मजदुरहरू भन्सारभित्रै मोबाइलमा लुडो खेलेर दिन कटाउँछन् । यस्तो दृश्य विगतका वर्षहरूमा यसबेला तिर देख्न पाइँदैन थियो । 

भद्रपुर भन्सार भन्नेबित्तिकै लत्ताकपडा भारतबाट आयात हुने पूर्वकै मुख्य नाका भनेर चिनिन्थ्यो । तर, अहिले चाडपर्व होस् या अन्य समय भद्रपुर नाका भएर आयात हुने लत्ताकपडा ठप्पजस्तै छ । भन्सारमा बसेर दिन कटाइरहेका मजदुरहरू भन्छन्, ‘दसैं, तिहार आउन तीन महिनाअघिदेखि नै भन्सार खचाखच हुन्थ्यो । कर्मचारी होस् वा व्यापारी खाजा खाने फुर्सद हुँदैनथ्यो ।’

कारोबारी र व्यापारीहरू हातमा फारम लिएर सामन जाँच गराउन कर्मचारीको पालो कुर्नुपर्ने अवस्था थियो । यसपालि दसैं आउन एक महिना पनि छैन । ‘चोरी–तस्करी बढ्दा भन्सार सुनसान बन्यो, हाम्रो रोजीरोटी पनि मर्‍यो,’ एक मजदुरले भने । 

विगत सम्झिँदै भद्रपुर भन्सार प्रमुख अर्जुनप्रसाद सिटौला भन्छन्, ‘मलाई याद छ, २०७३/७४ सालतिरको कुरा हो । हामी मेची भन्सारबाट खटिएर यहाँ आउँथ्यौ । त्यसबेला यो सिजनमा मेची नदी तैराएर ल्याउने लत्ताकपडा भन्सारको गोदाममा राख्ने ठाउँ नै हुँदैनथ्यो । भन्सार प्रमुख अमित तिवारीको समयमा पनि यस्तो सिजनमा भन्सार भरिभराउ हुन्थ्यो । 

अहिले ठिक्क उल्टो भएको छ । भन्सारका गोदामहरू खाली छन् । लत्ताकपडा ल्याउने कारोबारी र व्यापारीको अनुहार नै भन्सारमा देख्न पाइँदैन । ‘अहिले भन्सारमा काम नभएर हामी फुर्सदिला भएका छौँ, भन्सारको अवस्था हेर्दा दिक्क लाग्छ, कहिलेकाहीँ त समय कटाउनै गाह्रो पो हुन्छ,’ भन्सार प्रमुख सिटौलाले थपे । 

भन्सारको तथ्यांक केलाउँदा विशेषगरी चाडपर्व लक्षित महिनाहरू (साउन, भदौ, असोज र कात्तिक)मा सबैभन्दा बढी राजस्व संकलन हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि गत आव २०८१/८२ सम्म चार वर्षको अवधिमा राजस्व संकलनमा थपघटसमेत भइरहेको तथ्यांकले देखाएको छ । 

आव २०७८/७९ मा २४ करोड १३ लाख, आव २०७९/८० मा ९ करोड ४७ लाख, आव २०८०/८१ मा २४ करोड ३४ लाख र २०८१/८२ मा २० करोड ४६ लाख रुपैयाँ राजस्व असुली भएको भन्सार प्रमुख सिटौलाले बताए । उनका अनुसार अन्य महिनान्दा चार महिना सबैभन्दा बढी राजस्व असुली हुने भन्सारमध्ये भद्रपुर पर्छ । आव २०७८/७९ को साउनमा २ करोड ७२ लाख, भदौमा ३ करोड ६७ लाख, असोजमा ५ करोड ७ लाख र कात्तिकमा ३ करोड ७४ लाख लक्ष्यभन्दा बढी राजस्व असुलीसम्म भएको यस भन्सारमा २०८१/८२ को साउनमा १ करोड २५ लाख, भदौमा १ करोड ७५ लाख, असोजमा १ करोड ८२ लाख र कात्तिकमा १ करोड २७ लाख रुपैयाँ राजस्व लक्ष्यभन्दा कम उठेको थियो । 

अघिल्लो वर्षको तुलनामा चार वर्षअघि २०७८/७९ को राजस्व असुलीमा वृद्धि भएको थियो । चालु आव २०८२/८३ को चाड पर्वलक्षित महिनाअनुसार साउनमा १ करोड ९७ लाख राजस्व असुली लक्ष्य राखेकोमा १ करोड ६८ लाख राजस्व उठेको छ । भदौमा २ करोड १४ लाख लक्ष्य असुली राखेकोमा भदौ १० गतेसम्म ५१ लाख ८० राजस्व उठेको भन्सार प्रमुख सिटौलाको भनाइ छ । 

‘भन्सारमा क्रमशः राजस्व संकलन गिरावटको मुख्य कारण नै सीमा नाकाबाट चोरी–तस्करी नरोकिँदाको परिणाम हो,’ भन्सार प्रमुख सिटौलाले भने, ‘भन्सारमा लत्ताकपडा आउन छाड्यो, चाडपर्वमा आवश्यक पर्ने लत्ताकपडा बजारमा कहाँबाट आइरहेको छ त ? ’ 
‘हामीसँग हतियार पनि छैन, सीमा नाकामा गस्ती गर्ने जनशक्ति पनि छैन,’ उनले थपे । गत असार २६ गते जिल्ला प्रशासन कार्यालय झापामा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा भद्रपुर भन्सारले राजस्व संकलनमा गिरावट आइरहेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी अध्यक्षतामा भएको बैठकमा भन्सारले मुख्य १० माल वस्तुको विवरण राजस्वका आधारमा तुलनात्मक विवरण प्रस्तुत गरेको बताइएको छ । त्यसमध्ये धुलो सुर्ती ४ सय ६५ प्रतिशतले वृद्धि र प्लाई उद्योगमा प्रयोग हुने रेजिन १ सय ३५ प्रतिशत वृद्धि भएको कार्यपत्रमा उल्लेख छ । त्यसबाहेक लेडिज कुर्ता सलवार ३७ प्रतिशतले, अन्यरेसा कपडा २७, अन्यरेसा सारी २६, सुती सादा कपडा ४०, सुती सारी, लुुंगी, धोती ४९, सुती प्रिन्ट कपडा २७, रेडिमेट भेस्ट ११ र जुत्ता चप्पल २४ प्रतिशतले राजस्व घटेको कार्यपत्रमा छ ।

‘भन्सारमा अहिले सुती कपडामा ५० प्रतिशत राजस्व छुट, टिकन, मार्किन र पूजा कपडा कहिलेकाहीँ आउने गरेको छ । सटिङसुटिङ, रेडिमेट, टिसर्ट, बनारसी सारी, जुत्ताचप्पल, कुर्ता सलवार, इलोक्टोनिक्स, हार्डवेयरको सामान आउनै छाडिसकेको भन्सार प्रमुख सिटौलाले बताए । भन्सार नाका भएर भित्रिने सरसामान कहाँ गयो भनेर त्यसतर्फ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी सीमा क्षेत्रमा निगरानी बढाउन लगाउने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । ‘खुला सिमाना हो, चोरी तस्करी भइरहेको हुन सक्छ,’ प्रजिअ अधिकारीले भने, ‘राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा पनि भन्सार आउने सरसामानमा कमी आइरहेको विषयमा कुराहरू उठिरहेका छन्, राजस्वका प्रमुख नयाँ आउनु भएकोले अब छिट्टै समितिको बैठक बसेर यसतर्फ गम्भीरतापूर्वक चासो देखाउनेछु ।’

यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी तुलाबहादुर भण्डारीले भन्सारमा सामान आउन छाडेको विषयमा भन्सारका कर्मचारीसँग सहकार्य र समन्वय गरी सीमा नाकामा गस्ती बढाउने बताए । भन्सारमा आउने सरसामान तस्करीको माध्यमबाट भित्रिरहेको बारेमा जिज्ञासा राख्दा एसपी भण्डारीले भने, ‘चोरी तस्करी बढेर पनि हुनसक्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.