बर्सेनि त्रिशूलीमा खस्छन् गाडी, कहाँ पुग्छन् होला बेपत्ता यात्रु ?

बर्सेनि त्रिशूलीमा खस्छन् गाडी, कहाँ पुग्छन् होला बेपत्ता यात्रु ?

बुटवल : २०८१ असार २८ गते चितवनको सिमलतालबाट दुईवटा डिलक्स बस पहिरोले बगाएर त्रिशूलीमा खसाल्यो । दुवै बसका ३९ जना यात्रु बेपत्ता छन् । बसमा भारतीय नागरिक पनि थिए । त्यसैकारण भारतबाट गोताखोर आए ।

नेपाल र भारतका गोताखोरले बेपत्ता यात्रुको निकै दिन लगाएर खोजी गरे । तर, फेला पार्न सकेनन् । आफन्तका शवसमेत नपाउँदा बेपत्ताका परिवार खिन्न छन् । यो घटना मात्र होइन, बर्सेनि त्रिशूलीमा दर्जनौं सवारी खस्छन्, कैयौं यात्रुको फेला पर्दैनन् । त्यसैकारण एउटा प्रश्न उब्जेको छ–त्रिशूलीमा बेपत्ताहरू कहाँ जान्छन् होला ? कसरी खोज्ने होला  ?  त्रिशूलीले उनीहरूलाई कहाँ पुर्‍याउँछ होला ? 

आमाबुवा भेटिने आशामा वर्ष बित्यो

रौतहटको बोधीमाई नगरपालिका—३ का ५० वर्षीय पर्शुराम साह बनिया, श्रीमती ४५ वर्षीया मीनादेवी शाह बनिया, छोरी ३० वर्षीय रिन्कुदेवी शाह र ज्वाइँ ३५ वर्षीय नरेश शाह (भारत) एउटै गाडीमा सवार थिए । अर्का छोरा सरोज साह बनिया पनि उनीसँगै यात्रामा निस्किएका थिए । तर, त्रिशूलीको सिमलताल दुर्घटनामा छोरा सरोज साहबाहेक सबै बेपत्ता भए । सरोज गाडीबाट हाम फालेर बाँच्न सफल भएको उनका दाइ सुकनकुमार साहले बताए । 

सिमलतालमा दुईवटा डिलक्स बस दुर्घटना हुनुको प्रमुख कारण जथाभावी सडक निर्माण रहेको गृह मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘खोलामा बस खसेर बुवा, आमा, बहिनी र भिनाजुलाई गुमायौं’, उनले भने, ‘भेटिनुहुन्छ कि भन्दाभन्दै एक वर्ष बित्यो । भेटिने आशा अहिले मर्‍यो ।’ उनले कसैलाई पनि जीवित उद्धार र शवसमेत फेला पार्न नसकेपछि आफ्नो संस्कारअनुसार दाहसंस्कार र दान दिने काम गरिएको सुनाए । ‘अहिले खोजतलास गरेको भन्ने सुनेको छैन’, २९ वर्षीय साहले भने, ‘घर परिवारले पनि आशा मार्‍यौं ।’ मृतकका परिवारलाई १/१ लाख रुपैयाँ राहत रकम स्वरूप दिने भनिएको मधेस प्रदेश सरकारको रकम बुवाआमाको नाममा दिए पनि बहिनीको नाममा नदिएको उनको गुनासो छ । सानोभाइ अहिले नेपाली सेनामा कार्यरत छन् । उनै भाइले त्रिशूलीमा हुन लागेको कार्यक्रममा बोलाएकाले घर फर्किन लाग्दा दुर्घटना भएको साहको भनाइ छ । 

त्यसबेला त्रिशूलीमा कार्यरत उनका भाइ अहिले रौतहटमै कार्यरत छन् । बोधीमाई नगरपालिका—३ का अध्यक्ष मणिभूषणप्रसाद साहले मृतकका परिवारलाई दाहसंस्कारबापत नगरपालिकाले ५० हजार रुपैयाँ राहत रकम दिएको जनाए । 

सिमलताल दुर्घटनामा १६ जना भारतीय र २३ जना नेपालीसहित ३९ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएका हुन । सिमलताल दुर्घटनामा बा प्र ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा २६ जना र बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना गरी ६२ जना यात्रुहरू सवार थिए । ६ जना भारतीय र ३३ जना नेपाली नागरिक बेपत्ता छन् । बेपत्ता हुनेमा सात जना महिला र ३२ जना पुरुष छन् ।

nullचितवनको सिमलताल दुर्घटनापछि त्रिशूली नदीमा उद्धार गर्दै सुरक्षाकर्मीहरू ।

९ वर्षदेखि पूर्वगृहमन्त्री त्रिशूलीमै बेपत्ता
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे ९ वर्षदेखि त्रिशूलीमै बेपत्ता छन् । उनी चढेको कार २०७३ सालको असोजमा चितवनको घोप्टेभिर भन्ने स्थानबाट करिब ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । आमालाई मुक्तिनाथको दर्शन गराएर काठमाडौं फर्किँदै गर्दा उनी दुर्घटनामा परे । आमाको घटनास्थलमै मृत्यु भयो ।

पूर्व मुख्य सचिवसमेत रहेका घिमिरे पाल्पा तानसेन नगरपालिका १२ निवासी हुन् । २०१७ माघ २५ गते उनको जन्म भएको थियो । २०६९ चैत १ गते खिलराज रेग्मीको अध्यक्षतामा बनेको चुनावी सरकारको पालामा घिमिरे गृह तथा परराष्ट्रमन्त्री बनेका थिए । घिमिरेका एक छोरा र एक छोरी छन् । 

दुर्घटनाको कारण जथाभावी सडक निर्माण 
सिमलतालमा दुईवटा डिलक्स बस दुर्घटना हुनुको प्रमुख कारण जथाभावी सडक निर्माण रहेको गृह मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । दुर्घटना भएलगत्तै २०८१ साउनमा गृह मन्त्रालयका तत्कालीन सहसचिव छवि रिजालको संयोजकत्वमा सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदन समिति गठन गरेको थियो । उक्त प्रतिवेदनले मुख्य कारण सिमलताल–बाँगेसाल–डुम्रेगाउँ सडक इन्जिनियरिङ डिजाइन बिना गर्दा सडकमा लेदो खसेको निष्कर्ष निकालेको छ ।

सडक निर्माण क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र सडक निर्माण गर्दा कट एन्ड फिल एप्रोचमा कार्य नगरी कटिङबाट मात्र गरेको, निस्केको माटो सडक छेउको पाखामा त्यत्तिकै फ्याँकिएको, सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा अत्यधिक वर्षाको समयमा त्यस स्थानमा पहिरो जाने गरेकोजस्ता त्रुटिहरू केलाएको छ । 

त्यस्तै, पहिरो नै डेब्रिज बहावको स्रोत बन्न पुगी डेब्रिज बग्दै सिन्दूरे खोल्सा हुँदै तलतर्फ झर्दा खोल्साको तल्लो भागमा ससाना पहिरोसमेत गएको, खोल्सामा केही वर्ष पहिला बनेका चेक ड्याम तथा ग्याबिन वालले सोको प्रेसर थाम्न नसक्दा बाढीसँगै आएको ठूलो परिमाणको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवटा सवारीसाधनलाई धकेलेर त्रिशूली नदीमा खसालेको प्रतिवेदनमा उल्लेख छ । चितवनस्थित भरतपुर महानगरपालिकाले वडा नं २९ मा निर्माण गरेको सिमलताल–बाँगेसाल–डुम्रेगाउँ सडक खण्डको समग्र वातावरणीय पक्षमा समेत ख्यालै नगरेको प्रतिवेदनमा भनिएको छ । 

अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल यात्रुहरू, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो । सडक दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति र बिमाबापतको रकम दिन ढिलाइ नगर्नसमेत प्रतिवेदनले सुझाव दिएको छ । बेपत्ता भएका ३९ जनाको खोजी यथाशक्य गर्न भनिए पनि उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ । 
अध्ययन प्रतिवेदनले सडक डिभिजन भरतपुर चितवनलाई समेत दोषी देखाएको छ । डिभिजन कार्यालयले डेब्रिज सफा गर्दा सडकको माथिल्लो साइडतर्फ थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्ने कुरामा कत्ति पनि ख्याल नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

कार्यालयले जोखिमको आकलनसमेत नगरी त्यहाँ रहेको कल्भर्ट र क्याचपिट नियमित रूपमा सफा नगरेको पाइएको छ । सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएको कारण सडकको अवस्थाबारे सवारी चालकले पूर्वानुमान गर्न नसकेको र सुरक्षाकर्मीले सवारी रोक्न आवश्यक नठानेको पनि प्रतिवेदनमा भनिएको छ । 
सिमलतालसहित नारायणगढ–मुग्लिन सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिए पनि सवारी चलाउँदा ‘सेफ्टी फस्ट’ भन्ने मूल विषयलाई बेवास्ता गरिएको पाइएको देखिएको छ । रातको समयमा उक्त कुरामा ध्यान दिन सरोकारवाला निकायलाई प्रतिवेदनमार्फत सचेत गराइएको छ । 
प्रतिवेदनको सुझाव कार्यान्वयन गरेका छौं : प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गृह मन्त्रालयले सार्वजनिक गरेका सुझावहरूलाई कार्यान्वयन गर्ने कुरामा गम्भीरताका साथ काम गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘मन्त्रालयले निकालेको निष्कर्ष र दिएका सुझावहरूलाई अक्षरशः पालना गरेका छौं’, घिमिरेले भने, ‘सिमलताल दुर्घटनामा बेपत्ता ३९ जना यात्रुहरू अझै पनि भेटिनु भएको छैन । त्यस क्षेत्रलगायत देशभर दुर्घटना नहोस् भन्नका लागि सवारी आवागमनको अनुगमनलाई चुस्तदुरुस्त पारेका छौं ।’

थप दुर्घटना नहोस् भनेर जीपीएसमार्फत अनुगमन गर्ने, बर्खाको मौसममा बढी सतकर्ता अपनाउने र सवारी चापलाई व्यवस्थित गरेर सञ्चालन गर्न दिने जस्ता कामहरू त्यस क्षेत्रमा खटिने प्रहरीहरूले गर्ने गरेको उनले जानकारी दिए । 

मदन भण्डारीको पनि त्रिशूलीमै गएको थियो ज्यान 
जननेता मदन भण्डारी चितवनको दासढुंगामा दुर्घटनामा परेर मृत्यु भएको ३२ वर्ष भयो । २०५० साल जेठ ३ गते उनी सवार जिप त्रिशूली नदीमा दुर्घटना भएको थियो । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीसँगै जिपमा यात्रा गरेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि सोही दुर्घटनामा निधन भयो । 

आश्रितको शव भोलिपल्ट घटनास्थलमै र भण्डारीको शव तीन दिनपछि घटनास्थलबाट २७ किलोमिटर दक्षिणतर्फ गाजीपुरमा भेटिएको थियो । भण्डारीको शव भेटिएकै ठाउँमा नेता भण्डारीको अर्धकदको शालिक निर्माण गरिएको छ । 

‘वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र सडक बनाउँछौं’

सिमलताल दुर्घटनापछि गृह मन्त्रालयले सार्वजनिक गरेको स्थलगत प्रतिवेदनले भरतपुर महानगरपालिकाको पनि कमजोरी देखाएको छ । महानगरले सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन नगरेको प्रतिवेदनमा लेखिएको छ । प्रतिवेदन आइसकेपछि गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र सडक निर्माण गर्न परिपत्र आएपछि चालु आर्थिक वर्षदेखि महानगरले यसलाई कार्यान्वयन गर्ने योजना ल्याएको छ । 

‘सिमलताल क्षेत्रमा निर्माण गरिएको सडक योजनामा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन भएको रहेनछ’, महानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख एवं वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले भने, ‘चालु आवमा आवश्यकता देखिएका सवै योजनाहरूमा वातावरणीय प्रभाव मूल्यांकन हुन्छ ।’ उनले चालु आवमा महानगरपालिका भित्र करिब ८० वटा सडकका योजनाहरू सञ्चालन हुने जानकारी दिए । तीमध्ये सबै योजनाहरू ग्रामीण भेगमा निर्माण हुनेछन् । नयाँ सडक निर्माण सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमै हुने गरेको उनको भनाइ छ । सहरी क्षेत्रमा सडक मर्मतको काम बढी हुने गर्छ । 

तर, आचार्यले एक आर्थिक वर्षभित्र निर्माण गरिसक्नुपर्ने योजनाहरूमा आईई (प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन) र ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) गर्दा समयले साथ नदिने गरेको अनुभव सुनाए । ‘आईई गर्दा कम्तीमा पनि तीन महिना र ईआईए गर्दा चार, पाँच महिना समय लाग्छ’, उनले भने, ‘बजेट पनि कम हुने र समय पनि लाग्ने हुँदा कार्यान्वयनमा समस्या हुने गरेको 
देखिएको छ ।’ 

देशभर २८७ बेपत्ता
पाँच आर्थिक वर्षमा देशभर २ सय ८७ जना नागरिक बाढीमा पुरिएर र खोलामा बगेर बेपत्ता भए । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म उक्त संख्यामा नागरिक बेपत्ता भएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा ९२ जना, २०७८/०७९ मा ३३ जना, २०७९/०८० मा ५९ जना, २०८०/०८१ मा ५३ जना र २०८१/०८२ मा ५० जना नागरिक बेपत्ता भएका छन् ।

त्यस्तै, बाढी–पहिरोमै परेर सोही अवधिमा १ हजार १ सय ३० जना मानिसको मृत्यु भएको प्रहरीको तथ्यांक छ । आव २०७७/०७८ मा २ सय ९३ जना, २०७८/०७९ मा २ सय ११ जना, २०७९/०८० मा १ सय २ जना, २०८०/०८१ मा १ सय ४९ जना र २०८१/०८२ मा ३ सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै पहिरोमा पुरिएका छन् । पाँच वर्षकै अवधिमा बाढी पहिरोमा परेर ८ सय ९७ जना घाइते भएका छन् । 

लुम्बिनीमा ३ वर्षमा १२८ को मृत्यु
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी तीन आर्थिक वर्षमा बाढी, पहिरो, डुवान र अविरल वर्षातका कारण १ सय २८ जना नागरिकको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० देखि आर्थिक वर्ष २०८१/०८२ सम्म उक्त संख्यामा नागरिकले ज्यान गुमाएका हुन् । 
आव २०७९/०८० मा ५३ जना, २०८०/०८१ मा ४१ जना र २०८१/०८२ मा ३४ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा १ सय ५५ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार तीन आर्थिक वर्षमा बाढी–पहिरो, डुवान, अविलरल बर्षा र चट्याङबाट अनुमानित एक अर्ब रुपैयाँ बढीले क्षति भएको छ । ५ सय १६ वटा पशु, चौपायाहरू मरेका छन् । १ हजार २ सय ६७ वटा घर र १ सय २८ वटा गोठमा पूर्ण रूपमा क्षति पुगेको छ । 

६ वर्षमा १ लाख २० हजार सवारी दुर्घटना
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बितेको ६ वर्षमा देशभर सवारी दुर्घटनाको संख्या १ लाख २० हजार ६ सय २६ पुगेको छ । यो तथ्यांक आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्मको हो । उक्त सवारी दुर्घटनाबाट १५ हजार १ सय ६८ जनाको ज्यान गएको छ । ३४ हजार ६ सय २८ जना गम्भीर घाइते भएका छन् । सबैभन्दा धेरै आर्थिक वर्ष २०७८/०७९ मा २४ हजार ५ सय ३७ वटा सवारी दुर्घटना भएका छन् । 

आर्थिक वर्ष २०७५/०७६ मा १३ हजार ३ सय ६६ वटा सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १५ हजार ५ सय ५९ वटा, २०७७/०७८ मा २० हजार ६ सय ४० वटा, २०७९/०८० मा २३ हजार ५ सय ९७ वटा र आर्थिक वर्ष २०८०/०८१ मा २२ हजार ९ सय २७ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै सवारी दुर्घटनामा परी २ हजार ८ सय ८३ जनाले ज्यान गुमाएका छन् । 

सडक खन्नमात्र ध्यान, छैन सुरक्षा

संघीय सरकारमार्फत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा देशभर कुल १८ हजार ५२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । ७ हजार ६ सय ९६ किमि ग्राबेल र ८ हजार ४ सय ९१ किमि कच्ची सडक निर्माण भएको छ । सबै गरेर कुल ३४ हजार २ सय ३९ किमि सडक निर्माण भएको नेपाल सरकारको सोह्रौं योजनाले देखाएको छ । प्रदेश र स्थानीय सरकारबाट गरी कुल ६६ हजार किमि सडक निर्माण गरिएको तथ्यांक छ । 

तर, जति सडक निर्माणमा सरकारी निकायले चासो देखाएका छन्, त्यसको सुरक्षामा भने ख्यालै नगरेको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । वातावरणीय पक्ष र सडक सुरक्षालाई ध्यानमा नराखेको कुरा सिमलताल दुर्घटनामा पनि उल्लेख छ । पहाडी र भिरालो जमिनमा पनि जथाभावी भारी उपकरणको प्रयोग गरी सडक खनिनु, सडक खन्दा वातावरणीय पक्षमा पर्ने प्रभावलाई पटक्कै ख्याल नगर्नु, सडक निर्माणका क्रममा कट एन्ड फिल सिद्धान्तको प्रयोग नहुनु, वर्षात्को पानीको उचित व्यवस्थापन नहुनु तथा सडक खनेको कारणबाट उत्पन्न हुन सक्ने पहिरोलगायत विपद् जोखिमको आकलन गरी त्यसको उचित व्यवस्थापन गर्ने परिपाटी विकास हुन नसक्नुलगायतका कमजोरी सरकारी पक्षबाट हुने गरेका छन् । 

  •     बर्सेनि त्रिशूलीमा दर्जनांै सवारी खस्छन्, कैयांै यात्रु फेला पर्दैनन् । 
  •     त्रिशूलीमा बेपत्तााहरू कहाँ जान्छन् होला ? कसरी खोज्ने होला ? त्रिशूलीले उनीहरूलाई कहाँ पुर्‍याउँछ होला ? 
  •     सिमलताल दुर्घटनामा १६ जना भारतीय र २३ जना नेपालीसहित ३९ जना यात्रु त्रिशूली नदीमा बेपत्ताा भए।
  •     पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे ९ वर्षदेखि त्रिशूलीमै बेपत्ताा छन्।
  •     जति सडक निर्माणमा सरकारी निकायले चासो देखाएका छन्, त्यसको सुरक्षामा भने ख्यालै नगरेको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएका छन्।


विनोद घिमिरे - प्रवक्ता, नेपाल प्रहरी प्रधान कार्यालय
सिमलताल दुर्घटनामा बेपत्ता ३९ जना यात्रु अझै पनि भेटिएका छैनन् । त्यस क्षेत्रलगायत देशभर दुर्घटना नहोस् भन्न सवारी आवगमनको अनुगमनलाई चुस्तदुरुस्त पारेका छौं । थप दुर्घटना नहोस् भनेर जीपीएसमार्फत अनुगमन गर्ने, बर्खाको मौसममा बढी सतकर्ता अपनाउने र सवारी चापलाई व्यवस्थित गरेर सञ्चालन गर्न दिने जस्ता कामहरू त्यस क्षेत्रमा खटिने प्रहरीहरूले गरेका छन् । दुर्घटनासम्बन्धी सार्वजनिक भएका प्रतिवेदनका सुझावहरूलाई कार्यान्वयन गर्ने कुरामा गम्भीरताका साथ काम गरिरहेका छौं । सुझावहरूलाई अक्षरशः पालना गरेर तल्लो तहसम्मका संरचनाहरूले काम गरेका छन् ।

ooo
सुकनकुमार साह (बेपत्ताका परिवार)
बोधीमाई नगरपालिका–३ रौतहट
खोलामा बस खसेर बुवा, आमा, बहिनी र भिनाजुलाई गुमायौं । भेटिनुहुन्छ कि भन्दाभन्दै एक वर्ष बित्यो । भेटिने आशा अहिले मरिसक्यो । कसैलाई पनि जीवित उद्धार र शवसमेत फेला पार्न नसकेपछि हाम्रो संस्कारअनुसार दाहसंस्कार र दान दिने काम गरिसक्यौं । अहिले खोजतलास गरेको भन्ने सुनेको छैन । घर परिवारले पनि आशा मार्‍यौं ।

मृतकका परिवारलाई १/१ लाख रुपैयाँ राहत रकम स्वरूप दिने भनिएको मधेस प्रदेश सरकारको रकम बुवाआमाको नाममा दिए पनि बहिनीको नाममा दिएन् । सानो भाइ अहिले नेपाली सेनामा कार्यरत छन् । उनै भाइले त्रिशूलीमा हुन लागेको कार्यक्रममा बोलाएकाले घर फर्किन लाग्दा दुर्घटना भएको हो । भाइ सरोज गाडीबाट हाम फालेर बाँच्न सफल भए ।

ooo
सन्तोष आचार्य - प्रमुख, सहरी पूर्वाधार विकास महाशाखा, भरतपुर महानगरपालिका, चितवन
सिमलताल प्रतिवेदन आइसकेपछि गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र सडक निर्माण गर्नु भनेर परिपत्र आएको छ । चालु आवदेखि महानगरले यसलाई अनिवार्य कार्यान्वयन गर्छ । सिमलताल क्षेत्रमा निर्माण गरिएको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन भएको देखिएन

 । यस आवमा महानगरभित्र करिव ८० वटा सडकका योजनाहरू छन् । तीमध्ये सबै योजनाहरू ग्रामीण भेगमा निर्माण हुन्छन् । एक आर्थिक वर्षभित्र निर्माण गरिसक्नुपर्ने योजनाहरूमा आईई र ईआईए गर्दा समयले साथ नदिएको अनुभव छ । आईई गर्दा कम्तीमा पनि तीन महिना र ईआईए गर्दा चार/पाँच महिना समय लाग्छ । बजेट पनि कम हुने र समय पनि लाग्ने हुँदा कार्यान्वयनमा समस्या देखिन्छ । तर, यसलाई कार्यान्वयन नगर्नुको विकल्प पनि छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.