सुदूरपश्चिममा गौराको रौनक (फोटोफिचर)
बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको मुख्य दिन ‘अठवाली’ आज धुमधामका साथ मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ।
बैतडी, दार्चुला, डडेलधुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ। कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत् रूपमा सुरुवात गर्छन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ।

भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।
त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ।
अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।
आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ। ठाउँअनुसार गौरालाई फरक-फरक दिन विसर्जन गर्ने गरिन्छ।

गौरा पर्वको मुख्य आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्नुका साथै देउडा खेलेर रमाइलो गर्ने गरिन्छ।
देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सद्भाव कायम पनि गरिन्छ।

प्रतिक्रिया दिनुहोस !