कोशीका कृषिमन्त्रीले खोसे सचिव चढ्ने गाडी
विराटनगर : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले सचिव चढ्ने गाडीको चाबी खोसेका छन्। विगतदेखि नै विवादास्पद भूमिकामा देखिँदै आएका मन्त्री हाङगाम यो प्रकरणपछि पुनः एकपटक विवादमा तानिएका छन्। नेपाली कांग्रेसबाट प्रदेशको मन्त्री बनेका उनले सोमबार मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन्। मन्त्रालय स्रोतका अनुसार मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी थियो।
आफूलाई असहयोग गरेको भन्दै हाङगामले सचिवको गाडी नै खोसेको मन्त्रालयका कर्मचारीहरु बताउँछन्। मन्त्रालयको को १ झ ६७९ नम्बरको गाडी चढेर सचिव पाण्डे सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए। छलफल सकेर फर्कन खोज्दा उनले आफू चढेर आएको गाडी देखेनन्।
चालकलाई सम्पर्क गर्न खोज्दा फोन ‘स्विच अफ’ थियो। पछि बुझ्दा मन्त्रीकै निर्देशनमा गाडीको चाबी खोसिएको थाहा पाएको उनले बताए। त्यसपछि आफू मोटरसाइकल चढेर मन्त्रालय फर्किएको पाण्डेको भनाइ छ। पाण्डेले यो घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराइसकेका छन्।
करारका चालक हटाएर आफ्ना मान्छे नियुक्त गर्ने प्रयासदेखि सचिवालयका कर्मचारीको दैनिक भ्रमण भत्तालगायतसँग मन्त्री र सचिवबीचको द्वन्द्व जोडिएको कर्मचारीहरु बताउँछन्। उनीहरुका अनुसार मन्त्री हाङगामले आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मन्त्रालयमा कार्यरत रहेका कार्यालय सहयोगी र सवारी चालक गरेर १० जनालाई हटाउन सचिव पाण्डेलाई लामो समयदेखि दबाब दिइरहेका छन्। तर, मन्त्रीको दबाबलाई सचिव पाण्डेले स्वीकार गरेका छैनन्।
कर्मचारीहरुका अनुसार आफ्नो सचिवालयका कर्मचारीको असार महिनाको दैनिक भ्रमण भत्ताको विवरण अहिले पेस गरेर हाङगामले भुक्तानी मागिरहेका छन्। पुरानो आर्थिक वर्षको भुक्तानी अहिले गर्न नमिल्ने भनेर सचिव पाण्डले अस्वीकार गरेपछि उनीसँग मन्त्री हाङगाम थप रिसाएका छन्। साथै, अनआवश्यक रुपमा इन्धनको भुक्तानी माग्ने गरेको आरोप पनि मन्त्री हाङगाममाथि लागेको छ।
मन्त्री हाङगामले दिने गरेको अनुचित दबाब अस्वीकार गरेका कारण सचिव चढ्ने गाडीको चाबी नै खोसिदिएको मन्त्रालयका कर्मचारीहरुको भनाइ छ। ‘मन्त्रीले लामो समयदेखि अनावश्यक र अनुचित दबाब दिइरहेका छन्। तर, सचिवले अस्वीकार गर्ने गरेका कारण सम्बन्ध चिसिएको छ,’ एक कर्मचारीले भने। उनका अनुसार यसअघि पनि झापामा भएको कर्मचारी विवादमा दुवैबीच असमझदारी देखिएको थियो।
मन्त्रालयबाट सचिव पाण्डेको सरुवा भएको थियो। तर, मन्त्रिपरिषद्ले थमौती गरेपछि मन्त्री हाङगाम थप चिढिएका थिए। त्यही झोंक र विगतदेखिकै विभिन्न विवादकै कारण उनले सचिवको गाडीको चाबी खोसेको कर्मचारीहरूको आरोप छ। मन्त्री हाङगाम यसअघि पनि बारम्बार विवादमा तानिएका पात्र हुन्। गत जेठमा बजेट निर्माणमा आफूलाई ‘बाईपास’ गरेको भन्दै सचिव र महाशाखा प्रमुखलाई भौतिक कारबाही गर्ने धम्की उनले दिएका थिए। गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेमाथि समेत उनले कुटपिट गरेका थिए। त्यस्तै, मन्त्री हाङगामका समर्थकहरूले हालै ताप्लेजुङमा वडाध्यक्षलाई कुटपिट गरी घाइते बनाएको घटना सार्वजनिक भएको छ। त्यति मात्रै नभएर मन्त्री बन्नुअघि हाङगामले सार्वजनिक मञ्चबाटै ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए।
प्रदेशका मन्त्रीले बारम्बार धम्की दिने, कुटपिट गर्ने तथा सार्वजनिक सम्पत्ति प्रयोगमा अवरोध पुर्याउनेजस्ता हर्कत गरिरहेको भन्दै हाङगामको चौतर्फी आलोचना भइरहेको छ। हाङगामको गलत हर्कत, कार्यशैली र व्यवहारका कारण मन्त्रीकै मर्यादामा प्रश्न उठिरहेको सरोकारवालाहरु बताउँछन्। हाङगामले मन्त्री पदकै खिल्ली उडाइरहेको उनीहरुको भनाइ छ। मन्त्रालयका कर्मचारीहरु भन्छन्, ‘मन्त्री हाङगामले ‘यो मेरो राज्य हो’ भन्दै दादागिरी देखाउने गरेका छन्। अब हामी सहन सक्दैनौं।’ सचिवको गाडीको चाबी खोस्ने पछिल्लो विवादास्पद कदमले मन्त्री हाङगामको अनुशासनहीनता र गैरजिम्मेवार शैली पुनः उजागर भएको उनीहरुको भनाइ छ।
सचिव डा. पाण्डेले भने आफू चढेको गाडीको चाबी मन्त्रीको निर्देशनमा खोसिएको बताए। ‘उहाँ (मन्त्री) र मबीच कुनै विवाद छैन। तर, किन चाबी खोस्नु भयो भन्ने थाहा भएन,’ उनले भने। पाण्डेका अनुसार मन्त्री हाङगामले मन्त्रालयमा भएका अरु सरकारी गाडी पनि चढ्न नदिनु भनेर निर्देशन दिएको पाइएको छ। यस विषयमा बुझ्न खोज्दा मन्त्री हाङगाम सम्पर्कमा आउन चाहेनन्। बारम्बार गरेको फोन उनले काट्ने र नउठाउने गरिरहे।
प्रतिक्रिया दिनुहोस !