झापाको गौरीगञ्ज नाकाबाट तस्करी धन्दा, एसएसबीले बिउँ लोड भएको चारवटा गाडीसहित ६ जना तस्करलाई समाते

झापाको गौरीगञ्ज नाकाबाट तस्करी धन्दा, एसएसबीले बिउँ लोड भएको चारवटा गाडीसहित ६ जना तस्करलाई समाते
सुन्नुहोस्

झापा : झापाको गौरीगञ्ज नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको एउटा घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाँदै गरेको फर्सीको बिउँ लोड भएको चार वटा गाडीसहित ६ जना तस्करलाई पक्राउ गरेसँगै गौरीगञ्ज नाकाबाट हुने गरेको तस्कर धन्दाको पर्दाफास भएको हो। 

भारतीय एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले स्थानीयको सहयोगमा विशेष सूचनाको आधारमा ७५ बोरा फर्सीको बिउँ, दुईवटा पिकअप, दुई वटा ट्याक्टरसहित ६ जनालाई गएराति पक्राउ गरेको हो। एसएसबीका इन्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार नेपालबाट भारततर्फ बिउँ लगायत सामानको तस्करी भइरहेको सूचना प्राप्त भएको थियो। 

त्यही सूचनाको आधारमा लालापानी–खनियावाद सीमा नाकामा गएराति तस्करीहरूलाई गाडीसहित घेराउ गरी ठुलो मात्रामा बिउँ बरामद गरेको इन्स्पेक्टर कुमारले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। पक्राउ पर्नेमध्ये एक÷दुई जना नेपाली नागरिक भएको आशङ्का गरिएको छ। बरामद गरिएको बिउँ, चार वटा गाडीसहित ६ जनालाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइसकेको जनाइएको छ। 

केही दिनअघि मात्र फत्तेहपुर पुलिस थाना टेढागाछले फर्सीको बिउँ र चाइनिज स्याउ बरामद गरेको थियो। सीमा नाकाबाट तस्करी धन्दा बढेसँगै त्यहाँका स्थानीय गाउँले राती सुत्न नै पाउँदैन थिए। रातको समयमा गाडीका गाडीका सरसामान ओहोरदोहोर गर्दा गाउँले समस्या भइरहेको उनीहरूले एसएसबीलाई गुनासो समेत पोखेका थिए। 

भारतीय सुरक्षा निकायले बरामद गरेको लालापानी–खनियावाद सीमा नाका पारीपट्टि गौरीगञ्ज गाउँपालिका पर्छ। गौरीगञ्जको पनि खादमगाछी र खगुरगाछी नाका पर्छ। स्थानीय स्रोतका अनुसार गौरीगञ्ज नाकाबाट विगत केही महिनादेखि नेपालबाट भारततर्फ पठाउने बिउँ, चाइनिज स्याउ, मरीच, पपकन, मटर लगायतको काम ठुलो मात्रामा भइरहेको थियो। भारतबाट नेपालतर्फ लत्ताकपडा लगायत विभिन्न सरसामान भन्सार छलेर दिनहुँ भित्रिरहेको थियो। 

भारतीय सुरक्षा निकायले बरामद गरेको बिउँको काम गौरीगञ्जका विनोद र सन्जीव नाम गरेका व्यक्तिले गर्दै आइरहेको स्रोतको दाबी छ। सो बिउँको मुख्य मान्छे झापा गाउँपालिका जीवन भन्ने व्यक्तिको हो। उनीहरूको समूहले त्यहाँका स्थानीय सशस्त्र र नेपाल प्रहरीसँग राम्रै सेटिङ मिलाएर विगत लामो समयदेखि रातको समयमा ट्याक्टर र पिकअपमै सरसामानको ओसारपसार गर्दै आइरहेको स्रोतको दाबी छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जका डीएसपी सुमन थापाले भारतीय सुरक्षा निकायले नेपालबाट गएको बिउँसहितको गाडी र केही मान्छे पक्राउ परेको स्वीकारेका छन्। तर, गौरीगञ्जको सीमा नाकाबाट गएको हो वा मोरङको नाकाबाट भित्राएको बारेमा हामीले पनि अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘यस घटनाको बारेमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका गणपतिलाई जानकारी गराइसकेका छौँ।’ 

दक्षिण झापाको गौरीगञ्ज, झापा र मोरङको आमवारि, रङेली, नोचा, सोह्रघाट र सुनसरीको भान्टाबारी, कम्तानगञ्जतिरबाट पछिल्लो समयमा तस्करी धन्दा मौलाएपछि भारतीय सुरक्षा निकायले त्यसतर्फ चासो देखाए पनि नेपाल सुरक्षा निकाय भने मौन देखिएका छन्। जसकारण भन्सार कार्यालयहरू सुनसान बन्न थालिसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.