डम्बरको शव जलिरह्यो, मलामीका आँसु बगिरहे
धनकुटा : धन कमाउन विदेश गएका छोरा डम्बरबहादुर मगर कुवेतमा बिते। त्यसको तीन दिनमै घरव्यवहार सम्हालिरहेकी बुहारी विद्या मगरको पनि निधन भयो। छोरा–बुहारी एकैपटक गुमाउँदाको पीडाले बिछिप्त आमा मसिनी माया मगर आफैंलाई सम्हाल्न सकिरहेकी थिइनन्। तीन महिनाअघि मात्रै (गत जेठमा) श्रीमान् हबिहादुर मगरलाई गुमाएकी मसिनीको जीवनमा एकपछि अर्को परिवारका सदस्य गुमाउनुपर्दाका पीडा अनुमान गर्न पनि गाह्रो हुन्छ।
उमेरले ६८ वर्ष पुगेकी मसिनीमाया मगरलाई आमाबुवा गुमाएका तीन नातिनीको अभिभावकत्वसमेत काँधमा थपिएको छ। धन कमाउन गएको छोरा काठको बाकसमा देख्दा उनको मात्र होइन आफन्त र मलामीको मन भक्कानिएको थियो। नरुने कोही थिएनन्। आफन्त र मलामीले सान्त्वना दिँदा पनि मसिनीका गहभरि आँसु थिए। 
कुवेतमा मृत्यु भएका डम्बरबहादुर मगरको शव बिहीबार महालक्ष्मी–४ को दमारस्थित अरुणघाटमा अत्येष्टि गरियो। महालक्ष्मी–१ कटहरे सिप्रिङका डम्बरबहादुर मगरको भदौ ४ गते कुवेतमा मृत्यु भएको थियो। डम्बरबहादुरको मृत्यु भएको खबरले विक्षिप्त बनेकी उनकी श्रीमती विद्या मगरको तीन दिनपछि अर्थात् ७ गते मृत्यु भएको थियो।
सिंगो गाउँ नै शोकाकुल भएको उक्त घटनामा १२ दिनअघि विद्याको अत्येष्टि गरिएको थियो भने बिहीबार डम्बरको। डम्बरको अत्येष्टिमा ठूलो संख्यामा मलामी सहभागी थिए। घाटमा करिब दुई सयभन्दा बढी मलामी देखेको महालक्ष्मी–२ का वडाध्यक्ष पदम रखालले बताए। यो घाटमा यति धेरै मलामी विरलै देखिने गरेको उनले बताए।
डम्बरबहादुरको शव बुधबार राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पुगेको थियो। बिहीबार दिउँसो ३ बजे अरुणघाटमा ल्याइएको थियो। डम्बरको शव आउनुअघि नै घाटमा आफन्तसहित मलामीको भीड लागेको थियो। उनको शव आउनेबित्तिकै रुवावासी चल्यो। सबै मलामीका आँखामा आँसु बगे।
त्यहाँ नरुने कोही थिएनन, महालक्ष्मी नगरपालिकाका रोजगार संयोजक गौरव कार्की भन्छन्, ‘कसैका आँखा पनि ओभानो थिएनन्।’ डम्बरको शवलाई उनका दुई छोरी विपना र सञ्जु मगरले दागबत्ती दिए। उनीहरूले १२ दिनअघि मात्रै आमा पनि दागबत्ती दिएका थिए।
महालक्ष्मी नगरपालिकाले गत भदौ १३ गते मगरको सब नेपाल झिकाउन कागजात पठाएको थियो। डम्बरबहादुरका बुवा हरिबहादुर मगरको तीन महिना अघि जेठमा मात्रै मृत्यु भएको थियो। मृतक हरिबहादुर मगरका चार छोरामध्ये डम्बरबहादुर साहिँला हुन्। डम्बरका दाजुभाइहरू छुट्टिसकेका छन्।
उनका दुई दाजुमध्ये जेठा गाईघाटमा बस्छन्। माइला घरमै छन्। कान्छा भाइ वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्। दाजुभाइसँग छुट्टिएर डम्बरबहादुर श्रीमती र तीन छोरीसहित बेग्लै बस्थे। उनीहरूका १६ वर्षकी विपना मगर, १५ वर्षकी सञ्जु मगर र २ वर्षकी सम्युक्ता मगर छोरी छन्। दुई वर्षअघि विदेश गएका थिए, डम्बर। तीन छोरीमध्ये जेठी र माइली छोरी धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा शिक्षा संकायको कक्षा १२ र ११ मा अध्ययनरत थिए। भने दुई वर्षकी कान्छी छोरी आमा विद्यासँगै गाउँमा बस्थिन्। अहिले बुवा र आमा मृत्यु भएपछि तीन छोरी हजुरआमासहित आफन्तसँग घरमा बस्दै आएका छन्।
जेठान गणेशबहादुरका अनुसार ज्वाइँले जग्गा किनेको ऋण र छोरीहरूको पढाइ खर्चको जोहो गर्न दोस्रोपटक विदेश गएका थिए। ‘वैदेशिक रोजगारको सिलसिलामा ज्वाइँ पहिले पनि १० वर्ष साउदी र कतार बस्नु भएको थियो’, उनले भने, ‘एक वर्ष घरमै बसेर जग्गा किन्दाको ऋण र छोरीहरूलाई पढाउन भन्दै २०८० सालमा विदेश जानु भएको थियो।’ आफूले दुःख भोग्नु परे पनि छोरीहरूलाई राम्रो शिक्षा दिने बावुआमामा सपना थियो। तर, छोरीहरूको त्यो सपना पूरा गर्न नपाउँदै बावुआमाले संसार त्याग्न बाध्य भए।
अभिभावक गुमाएपछि बेसहारा बनेका छोरीहरूको भरणपोषण र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। घरमा कमाउने बावुआमा गुमाएपछि बेसहरा बनेका उनीहरूलाई भरणपोषण र अध्ययनमा आर्थिक संकट भएपछि सामाजिक सञ्जालमा अभियान सुरु गरिएको छिमेकी विमला थापाले बताइन्। आर्थिक सहयोग जुट्न थालेको उनले बताइन्। आर्थिक सहयोग संकलन अभियानमा उनीसहित, सुरेश राई, संगीता कटुवाल र तेजबहादुर अधिकारी सक्रिय छन्।
प्रतिक्रिया दिनुहोस !