परिवारले पर्खिरहेको छ श्रीमयको शव
विराटनगर : जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मोरङ लक्ष्मीमार्गका १८ वर्षीय श्रीमय चौलागाईंको मृत्यु भयो। तर, शव अहिलेसम्म परिवारले पाएको छैन। जेनजी आन्दोलनका सहिद श्रीयमको परिवार अहिले असह्य पीडा र शोकमा डुबेको छ। उनको मृत्यु भएसँगै परिवारमा ठूलो बज्रपात पर्यो। उनी सोमबार बिहान कलेजबाट वासस्थान काँडाघारी फर्कंदै गर्दा आफ्नी बहिनीलाई ‘म केहीबेरमा फर्कन्छु’ भनेर बानेश्वरमा ओर्लिए। तर, बहिनीसँग चाँडै फर्किने बाचा गरेर बानेश्वर ओर्लिएपछि आन्दोलनमा होमिएका उनी अब कहिल्यै फर्किने छैनन्।
श्रीयम कलेजबाट फर्किएर माइतीघर मण्डलामा भइरहेको जेनजी आन्दोलनमा सहभागी बने। आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली टाउकोमा लागेर श्रीयमको मृत्यु भएको परिवारजनले बताएका छन्। उनी इटहरीबाट प्रवेशिका परीक्षा सकेर केही समयअघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका थिए।
काँडाघारी बसेर ग्लोबल कलेजमा अध्ययनरत उनले सामान्यतया राजनीतिमा चासो नदेखाउने परिवारको भनाइ छ। तर, भ्रष्टाचार अन्त्य र सुशासनको जेनजी अभियानले उनलाई समेत आकर्षित गरेको थियो। ‘आन्दोलनमा सहभागी हुँदा श्रीयम उत्साहित थिए । तर, परिवारलाई यस्तो भयानक परिणाम भोग्नु पर्ला भन्ने कल्पनासमेत थिएन,’ मामा केशव कार्कीले भने।
उनी भन्छन्, ‘भान्जा पढाइमा तेज थिए। राजनीतिमा सक्रिय थिएनन्। तर, आन्दोलनले उनलाई छोएको रहेछ। त्यो दिन उनी देशलाई निकास दिनुपर्ने सोचसहित आन्दोलनमा होमिएका रहेछन्। तर, विडम्बना अब उनी हाम्रो बीचमा छैनन्। परिवार र आफन्त शोकमा डुबेका छौं।’
श्रीयम सोमबार रातिसम्म घर नफर्केपछि परिवारजनले खोजी थालेका थिए। कार्की आफैं ट्रमा सेन्टर पुगे। त्यहाँ श्रीयमको नाम मृतकको सूचीमा सातौं नम्बरमा रहेछ। ‘सम्हालिन धेरै बेर लाग्यो। सँगै हुर्काएको र पढाएको सम्झनाले झस्कायो। घरमा खबर गर्ने साहस जुटाउन कठिन भयो,’ केशव भन्छन्। उनका अनुसार अहिलेसम्म परिवारले शव पाउन सकेको छैन। कहिले जिम्मा लगाउने हुन् भन्ने टुंगोसमेत छैन। हालः शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा राखिएको जानकारी परिवारले पाएको छ।
श्रीयमका बुबा गणेश चौलागाईंले छोराको शव जिम्मा लगाइदिन अनुनय विनय गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत उनको बिन्ती छ, ‘जेनजीको नेतृत्व गर्नु हुनेहरलाई सहिद परिवारको अनुरोध छ। कहिलेसम्म हामी हाम्रो छोराको लास कुरेर बस्ने हो? हाम्रा पीडा तपाईंहरूले बुझ्न सक्नु हुन्न। कम से कम लास दिनुहोस्। त्यही नै हाम्रा लागि ठूलो सहयोग हुनेछ।’
तर, जेनजीको नेतृत्व कसले गरिरहेको छ भन्ने विषयमा श्रीयमकै परिवार अन्योलमा छ। आन्दोलन पश्चात उत्पन्न राजनीतिक अस्थिरता र सरकार निर्माणको गोलचक्करमा अल्झिएको जेनजीले मृतकहरूको शव परिवारलाई जिम्मा लगाउने विषयका कुनै पहल नगरेको गुनासो गणेशले गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि नयाँ सरकार गठनबारे जेनजी नै आन्तरिक मतभेदमा अल्झिएका बेला सहिद परिवारको आवाज बेवास्ता भएको परिवारजनको गुनासो छ। मामा केशवले भने, ‘यो श्रीयमको मात्र कुरा नभएर आन्दोलनमा ज्यान गुमाएका सबै युवाको कुरा हो। जेनजी समूहले अहिलेसम्म सहिद परिवारसँग सम्पर्क गरेको छैन। अब कम्तीमा सहिद घोषणातिर लाग्नुपर्छ। हामीले भविष्य गुमायौं। अब मृत्युवरण गरेका नानीहरूलाई सहिद घोषणा गरिदिए केही भए पनि न्याय भएको अनुभूति हुनेछ।’
उनले मृतकका परिवार शव नपाउँदा अहिलेसम्म छटपटीमा परिरहेको बताए। श्रीयमका आफन्त र परिवार अहिले आँसु र पीडामै डुबेको केशव बताउँछन्। भन्छन्, ‘हाम्रो अन्तिम इच्छा एउटै हो, श्रीयमको शव चाहियो। सहिद घोषणा गर्नु पर्यो। हाम्रा लागि ठूलो न्याय त्यही हुनेछ।’ परिवारको अन्तिम इच्छा पनि ‘छोराको लास देऊ’ भन्ने नै रहेको केशवको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !