काठमाडौं : राजधानीको सडकमा एउटा रगताम्य जुत्ता अलपत्र परेको थियो । त्यही जुत्ताले आन्दोलनको ऊर्जालाई एकाएक शक्तिमा रूपान्तरण गरिदियो । कुशासन विरुद्धको शान्तिपूर्ण आन्दोलनका क्रममा सोमबार संसद् भवन अगाडिको प्रदर्शन हिंसात्मक बन्यो, जसमा प्रहरीको गोली लागेर एकै दिन कम्तीमा १९ जना युवाले प्राण त्यागे ।
ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभ श्रेष्ठ र कीर्तिपुरका बुद्धि तामाङ लगायतको अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । उनीहरू जस्ता सयौं युवा, देशमा सुशासन, समान अवसर र भ्रष्टाचारमुक्त शासनको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । प्रहरीको दमनमा परेर उनीहरूको अकालमै ज्यान गयो । रगतको आहालमा नयाँ बानेश्वर डुब्यो । टियर ग्यासको धुवाँले आकाश धुम्म भयो । सुलभको आत्माले अन्तिम श्वास फेर्यो सुशासनको नाममा । यता रगतले लत्तपतिएका घटनास्थलका जुत्ताले इतिहास कोर्दै भन्यो, ‘तिम्रो बलिदानी देशका लागि हो ।’
हजारौंको भीडलाई के नियन्त्रण हुन्थ्यो । नियन्त्रणबाहिर गयो । प्रहरीले गोली प्रहार गर्यो । स्थिति झन्–झन् उग्र बन्दै गयो । प्रहरी बन्दुकले आन्दोलनकारीको घुँडा होइन् छाती र टाउको ताक्यो । भट्ट्ट गोली चल्यो । थोरै आकाशमा, धेरै आन्दोलनकारीको छाती र टाउकोतिर । चार घण्टासम्म चलेको भिडन्तपछि सडकहरू रगतले रंगिए । सीभील अस्पतालको आकस्मिक कक्ष घाइतेले भरियो । बेड अभावका कारण भुइँमै राखेर उपचार गरियो । एम्बुलेन्सले नभ्याएपछि मोटरसाइकल र काँधमा बोकेर घटनास्थलबाट घाइतेहरू अस्पताल पु¥याइएका थिए ।कतिको एम्बुलेन्समा ल्याउँदा ल्याउँदै प्राण त्यागे, कतिले उपचारकै क्रममा ।
घाइतेहरूको अस्पतालहरू उपचार चल्दै छ । युवाहरूमा देश प्रेम छचल्किएको थियो । प्रदर्शनकारीहरू नेपाली झन्डा बोकेर सुशासनको लडाईँमा आएका थिए । गोली लागेर ढल्दा पनि झन्डा उनीहरूको शरीरमै थियो । अस्पतालको गेटमा साथीसँग फोन सम्पर्क गर्ने खोज्थें, साथी गुमाएका युवाहरू । भित्र सास फेरिरहेका गम्भीर घाइतेहरूको आवाजले सीभील अस्पताल स्तब्ध थियो । बेलाबेला टियरग्याँस ढिक्का अस्पालको कम्पाउन्डमै खस्थ्यो । साँझ पाँच बजे कतिपय लासहरू सिभिल हस्पिटलको पूर्वी गेटबाट पोस्टमार्टमका लागि पठाइएको बताउँदै थिए उद्धारमा खटिएका महोत्तरीका कृष्णा महतोहरू ।
बिहान क्याम्स पढ्दै डे«समा आएका स्कूले विद्यार्थीसहित सडकमा प्रहरीको गोली लागेर एक एक गरी ढलेका थिए । उनीहरूको राष्ट्रिय झण्डामा बेरेर अन्तिम बिदाइ गरियो–गौरवपूर्ण तर, हृदयविदारक । एक आमाले काँख गुमाइन्, बुवाले सपना, परिवारले आधार । तर, देशले फेरि एउटा बलिदान प्राप्त ग¥यो, नयाँ युगको यात्राका लागि ।
आजको ‘जेन–जी’ पुस्ताले केवल नारासम्म सीमित गरेनन् आन्दोलनलाई । जनताा दुःख, व्याप्त असमानता, अन्याय र भ्रष्ट्राचारका विरुद्ध आवाज बुलन्द पार्दै बलिदानी दिए । त्यसले देशको राजनीतिक संरचना हल्लाएका छन् ।
उनीहरूको माग थियो—समान शिक्षा, समान अवसर, भ्रष्टाचारमुक्त शासन र सुशासन । सडकका जुत्ताले सहिदको खुट्टा खोज्दै न्यायको आशा गरिरहेको छ । युवाहरूलाई पे्ररित गर्दै जुत्ताले देशबासीसँग पुकार लगाउँदै छन् होला,— आऊ मलाई तिम्रो खुट्टा पहिराऊ, । देशलाई नयाँ युगतर्फ लैजाऊ...।
जब आम जनता सत्ता र शक्तिबाट आजित बन्छन्, उपचार, शिक्षा र न्यायसम्मबाट वञ्चित हुन्छन्, त्यही पीडाले नयाँ पुस्तालाई सडकमा ल्याउँछ । इतिहास साक्षी छ, देशमा जहानी राणा शासन ढाले र शक्तिशाली पञ्चायती व्यवस्था गयो । राजा पनि जनताले नै फाले । काठमाडौंको पेपसीकोलामा बस्ने २४ वर्षीय बिक्रम राउत भन्छन्, ‘लोकतन्त्रत र गणतन्त्र आयो । तर, नेता र नेताहरूका सन्तानका लागि मात्रै आयो । उनीहरू महँगा गाडी र झिलिमिली जीवन बिताइरहेका छन्, तर श्रमिकका सन्तानहरू विद्यालय पुग्न संघर्ष गरिरहेका छन् । यसै विरुद्धको आन्दोलन हामीले गरेका छौं ।’ जसले पसिना बगाउँदैन त्यसले मिठोमिठो खान्छ, राम्रो लाउँछन् । दिनरात काम गर्नेहरू भोक्कै र उपचारै नपाउने अवस्था रहेको उनी बताउँछन् ।
प्रदर्शनका क्रममा सडकमा छुटेको जुत्ता आज पनि प्रतीक बनेर कथा सुनाइरहेछ—अधुरा सपना, अधुरा संघर्ष र अझै बाँकी बाटोको कथा र व्यथा । त्यो जुत्ता भन्छ–‘सहिदको बलिदान कुनै आन्दोलनको अन्त्य होइन, यो त लोकतन्त्रको आत्मा हो ।’
जेन–जीको आन्दोलन चर्को २४ घण्टामै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गरेका थिए । आन्दोलनकारी संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत कब्जा गरेर आगो लगाए । मंगलबार रातिदेखि नै नेपाली सेनाले सुरक्षा कमान्ड लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरतलाई बार्तामा आउन अपिल गरेका छन् । अब देश नयाँ युगतर्फ जाने सम्भावना छ । त्यो कोणबाट जेन–जी, दल र सरोकारवालाहरू बहसमा जुटेका छन् ।
जब–जब सडकमा आवाज उठ्छ, अन्यायविरुद्ध मुठ्ठी उठ्छ, त्यही जुत्ताले फेरि चाल लिन्छ—आन्दोलनकारीको खुट्टामा परिणत भएर । नेपालमा एकपछि अर्को पुस्ताले आफ्नो रगत बगाएर परिवर्तनको बीजारोपण गरेका छन् । लोकतन्त्र प्राप्तिको आन्दोलनदेखि गणतन्त्रसम्म, अनि आज सुशासनको आवाजमा फेरि जेन–जीले ज्यानको आहुति दिए । ‘लडाइँ केवल नीतिगत सुधारका लागि होइन, बरु जनताको अस्तित्व र सम्मानका लागि हो’, उनी भन्छन्, ‘सडकको रगताम्य जुत्ताले जुन सन्देश छोडेको छ, त्यो केवल सहानुभूतिको होइन– प्रतिबद्धताको आह्वान हो ।’
प्रतिक्रिया दिनुहोस !