मोरङमा जलिरहेको भवनबाटै अदालती सेवा सुरु

मोरङमा जलिरहेको भवनबाटै अदालती सेवा सुरु
सुन्नुहोस्

विराटनगर : जेन—जी आन्दोलनका नाममा उच्च अदालत विराटनगरको भवनमा भदौ २४ गते आगजनी गरियो । बिहीबारसम्म आगो निभेको थिएन । अदालतका विभिन्न कोठा र फर्निचरका सामान जलिरहेका थिए । अदालत धुवाँ र खरानीले ढाकिएको छ । भुइँ तलादेखि माथिल्लो तलासम्म सबैतिर आगोले छेडेर संरचना खण्डहर बनेका छन् । 

तर, त्यही खण्डहर बनेको भवनबाट शुक्रबारबाट अदालती सेवा सुरु गरियो । बन्दी प्रत्यक्षीकरणको पहिलो रिट दर्ता भयो । गरेर न्यायको ढोका खुला रहेको सन्देश प्रवाह गरिएको थियो । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भयो । शेरमुहम्मद मोरङको इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा छन् । 

साउन १ गते पक्राउ परेका उनलाई बारम्बार अदालतबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो । जेन—जी आन्दोलनको नाममा अराजक समूहले उच्च अदालतमा आगो झोस्यो । अदालतका प्रायः सबै चिज खरानी भए । जिल्ला अदालत मोरङमा पनि आगजनी गरियो । त्यसपछि थुनुवाको म्याद थप प्रक्रिया ठप्प भयो ।

अदालतको संरचना नै नष्ट भएकाले प्रहरीले शेर महम्मदको म्याद थपका लागि कानुनी प्रक्रिया पूरा गर्न सकेन । उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सञ्जीवकुमार साहले बन्दी प्रत्यक्षीकरणको रिट शुक्रबार दर्ता गरेका हुन् । 

मुुलुकको कानुनअनुसार कुनै पनि व्यक्तिलाई अदालतबाट म्याद थप नगरी २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न पाइँदैन । तर, अदालत नै खरानी भएकाले प्रक्रिया पूरा गर्न नसक्ने अवस्थामा प्रहरी छ । त्यसैले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै शेरको रिहाइ माग गर्दै साहले रिट दायर गरेका हुन् । 

उक्त रिटमाथिको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टका अनुसार रिट दर्ता हुँदासमेत कोठाभित्र धुवाँ उडिरहेको थियो । कतिपय भागमा अझै आगो बलिरहेको थियो । तर, अदालतले संवैधानिक हकलाई प्राथमिकता दिँदै खरानीबीच पनि कामकाज अघि बढाएको उनी बताउँछन् । आगोले भवनको सबैजसो तलामा क्षति पुगेको छ । विशेषगरी कार्यालय कक्ष, विभिन्न फाँट र मिसिल पूर्ण रूपमा नष्ट भएका छन् । ‘बचेका केही कागजात पनि आधा जलेका छन् । प्रयोगयोग्य छैनन्,’ भट्टले भने । 

अदालत परिसरमा पार्किङ गरिएका ११ वटा चारपाङ्ग्रे गाडी, वकिल र कर्मचारीका मोटरसाइकल पनि जलेर ध्वस्त भएको उनले बताए । प्रत्यक्षदर्शीका अनुसार केही युवाले आगजनीकै बेला ३–४ वटा मोटरसाइकल चोरेर लगेका छन् । यस घटनापछि अदालतको नियमित कामकाज ठप्प भएको छ । मुद्दा दर्ता वा सुनुवाइ तत्काल सम्भव छैन । मोरङ जिल्ला अदालतमा समेत दसैंअघि इजलास सञ्चालन हुन नसक्ने देखिएको छ । तर, बन्दी प्रत्यक्षीकरणजस्ता संवैधानिक हकसँग प्रत्यक्ष जोडिएका विषयमा भने अदालतले बाटो खुला राखेको छ । 

उच्च अदालत बार एसोसिएसनका सचिव विनोदकुमार तिमल्सिनाले जलेर खण्डहर र खरानी भएको अदालतमा रिट दर्ता गरेर सुनुवाइको पेसी तोेकिनुले ‘न्याय जीवित नै छ है भन्ने सन्देश’ प्रवाह भएको बताए । उनका अनुसार अदालत परिसरमा कर्मचारी, वकिल र कानुन अध्ययन गरिरहेका जेन—जी विद्यार्थीहरू शुक्रबार आफैं अदालतको सरसफाइमा जुटेका थिए । करिब ५० जना वकिल र जेन—जी समूहका विद्यार्थीले धुवाँ र खरानी सफा गर्दै जलेका कागजात छुट्ट्याउने काम गरे । विद्यार्थीले अदालत जलाएको घटनाप्रति गहिरो चिन्ता प्रकट गर्दै न्यायालय जनताको साझा धरोहर भएकाले यसलाई पुनस्र्थापना गर्नुपर्ने माग राखेका छन् । 

अदालत जलेर प्रतीक्षालयमै बस्नुपर्ने अवस्था आएको छ । तर, कानुन व्यवसायीहरू भन्छन्, ‘अदालत जले पनि न्याय मरेको छैन भन्ने प्रमाणका रूपमा यही रिट दर्तालाई लिन सकिन्छ ।’ कानुन व्यवसायीहरूले रिट दर्तालाई नेपालकै न्यायिक इतिहासमा गौरवपूर्ण क्षणका रूपमा लिएका छन् । संरचना खरानी भए पनि नागरिकका संवैधानिक हकलाई प्राथमिकता दिने अदालतको यो कदमलाई उनीहरूले ‘न्यायको जीवित प्रतीक’को रूपमा अथ्र्याएका छन् । 

न्यायालयलाई जलाउने समूहमाथि तत्काल अनुसन्धान र कारबाही हुनुपर्ने माग पनि सर्वत्र उठिरहेको छ । रजिस्ट्रार भट्टका अनुसार जलेर खण्डहर भएको अदालतमा नेपालकै पहिलो रिट दर्ता भएको हुन सक्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.