जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन
गोरखा : जेनजी विरोध प्रदर्शनको गृहकार्यबारे एकाधबाहेक प्रायः अनभिज्ञ थिए। त्यसतर्फ अगाध आस्था राख्नेबाहेक अरुले छिपछिपे जानकारीमात्र पाएका थिए। बलियो अनुसन्धान ब्युरोले पनि फितलो अनुसन्धान गरेकाले सरकारले पनि भदौ २३ को विरोध प्रदर्शनलाई नजरअन्दाज गर्यो। तर, नतिजा फरक देखियो।
भदौ २३ मा राज्यपक्षबाट चरम दमन भयो। धेरै जनधनको क्षति भयो। त्यसको बदलास्वरुप जेनजीले २४ गते प्रतिशोध विद्रोह गरे। राजनीतिक उथलपुथल हुने गरी भएको विद्रोहपछि क्रमशः यसका नेतृत्वकर्ताहरूको खुलासा हुन थाल्यो।
सरकार गठनका लागि जंगीअड्डा, शीतल निवासमा भएको वार्ता संवादमा होस् वा यस बीचमा रणनीति बनाउने सिलसिलामा होस् अथवा प्रधानमन्त्री चयनपछिको खुशीयाली साँटासाँट गर्ने क्रममा एउटा अपरिचित अनुहार एकाएक दृश्यमा दोहोरिरह्यो। उनी थिए, सुधन गुरुङ।
जेनजीको आन्दोलनलाई नेतृत्व गरेका युवा भनेर प्रस्तुत भएका उनी जेनजी भने थिएनन्। ‘जेनजी’ भनेर २८ वर्ष उमेर समूहकालाई चिनिन्छ तर उनी थिए ३५ वर्षका। सामाजिक सञ्जालमा सार्वजनिक भएको उनको नागरिकतामा उनको जन्ममिति २०४७ साल लेखिएको छ। नागरिकताको प्रतिलिपिमा जन्मस्थानमा गोरखाको चुमनुब्री गाउँपालिका-३ सिर्दिबास रहेको लेखिएको छ। स्थानीयबासी, इष्टमित्र, आफन्तजनका अनुसार उनको जन्म काठमाडौंमा भएको हो।
जेनजीले औपचारिकरूपमा कसैलाई पनि अभियानको संयोजक तोकेका छैनन्। तर, सामाजिक सञ्जाल, टेलिभिजनहरूमा उनको क्रियाकलाप अगाडि देखिने गरेको छ। उनको आवाज निर्णायक बन्ने गरेको छ। सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनको पाउमा साष्टाङ्ग दण्डवत गरेको तस्विर तथा भिडियोले अझै सबैको ध्यान खिचेको छ।
उनको पुर्ख्यौली थलो साविक सिर्दिबास गाविस नाग्चेत हो। उनका बुबा दिलबहादुर गुरुङलाई गाउँघरमा इष्टमित्र, आफन्तजनले ग्याल्बो भनेर संवोधन गर्ने गर्छन्। उनका तीन श्रीमतीमध्ये माहिली श्रीमतीबाट सुधनको जन्म भएको थियो। चितवनको मेघौलीमा उनको प्रारम्भिक स्कुले जीवन बित्यो। उनी १०, १२ वर्षको हुँदा बाबा र आमाको सम्बन्ध बिच्छेद भयो। त्यसपछि उनी मामाघरका हजुरबा, हजुरआमाको संरक्षणमा काठमाडौंमा हुर्किए, बढे, पढे। काठमाडौंमा जन्मे, चितवनमा बाल्यकाल बिताए पनि उनको जन्मस्थल गोरखा भनेरै चिनिन्छ। चुमनुब्री-३ को बुद्ध मावि मतदानकेन्द्रमा उनको मतदाता नामावली छ। तर, अहिलेसम्म मतदान गर्न नआएको स्थानीयबासीको भनाइ छ।
‘ऊ हाम्रो आफन्त हो, तर सानैदेखि देखेको मान्छेचाहिँ होइन’, चुमनुब्री गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङ भन्छिन्, ‘नागरिकता, मतदाता परिचयपत्रचाहिँ यहीँको छ।’ उनका दाइ नाता पर्ने सुमन गुरुङ चितवनमा बाल्यकाल सँगै बिताएको तर अहिले धेरै वर्षदेखि भेटघाट नभएको बताउँछन्।
ए लेभल पढेपछि उनी साथीभाइको संगतमा अलिक धेरै परे। संगतमै क्लब, डिस्को जाने बानी बसालिसकेका थिए। यही बीच उनले डिजेको काम सुरु गरे। डिजेमा स्थापित भएका उनले ठमेलमा ओएमजी नामको क्लब सञ्चालन गरे। क्लबबाट उनको आर्थिक राम्रै भयो।
व्यवसायी करिअरका क्रममा २०७२ सालको भूकम्पपछि सुधनलाई सामाजिक सेवातिर मोड्यो। विशेषगरी राहत र उद्धारमा उनको खटाइले चर्चा पायो। त्यसपछि उनले ‘हामी नेपाल’ नामक सामाजिक संस्था स्थापना गरे। यसमा अहिले १६ सयभन्दा बढी सदस्य जोडिएका छन्। सेवाभावले खुलेको यसमा देशी-विदेशी कम्पनीहरूबाट अनुदान प्राप्त हुने गरेको छ।
रात्रिकालीन व्यवसायबाट समाजसेवामा मोडिएका सुधनले भूकम्पका पीडितहरूलाई सहयोग गरेर प्रशंसासँगै राम्रो ख्याति कमाए। त्यसपछि रात्रिकालीन व्यवसायमा फर्किएनन्। बरु रियलस्टेट, एड्भेन्चर, वाटरस्पोर्ट्स बिजनेसतर्फ लागे।
बिजनेशको के कुरा, भूकम्पका बेला, कोभिडका बेला स्वयंसेवा गरेर एउटा तहमा चिनिएका उनी सबैभन्दा धेरै चर्चा अहिले कमाएका छन्। देशभरका र विशेष गरी गोरखाली युवाहरूले उनको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा गर्दै उनको मनग्य तारिफ गरेका छन्।
प्रतिक्रिया दिनुहोस !