जो हुन् जेन–जीका नेतृत्वकर्ता
गोरखा : जेन–जीको प्रदर्शनको तयारीबारे एकाधबाहेक प्रायः अनभिज्ञ थिए । त्यसतर्फ अगाध आस्था राख्नेबाहेक अरूले छिपछिपे जानकारी मात्र पाएका थिए । राज्यको ‘बलियो’ अनुसन्धान विभागले पनि फितलो अनुसन्धान गरेकाले सरकारले पनि भदौ २३ को विरोध प्रदर्शनलाई नजरअन्दाज गर्यो । तर, नतिजा नसोचेको भयो ।
भदौ २३ मा जेन–जीको प्रदर्शनमा राज्यपक्षबाट चरम दमन भयो । धेरै जनधनको क्षति भयो । त्यसको बदला स्वरूप जेन–जीले २४ गते प्रतिशोध विद्रोह गरे । राजनीतिक उथलपुथल हुने गरी भएको विद्रोहपछि क्रमशः यसका नेतृत्वकर्ताहरूको खुलासा हुन थाल्यो । सरकार गठनका लागि जंगीअड्डा, शीतल निवासमा भएको वार्ता संवादमा होओस् वा यसबीचमा रणनीति बनाउने सिलसिलामा होओस् । अर्थात्, प्रधानमन्त्री चयनपछिको खुसियाली साँटासाँट गर्ने क्रममा एउटा अपरिचित अनुहार एकाएक दृश्यमा प्रकट भयो । उनी हुन्– सुधन गुरुङ । जेन–जीको आन्दोलनलाई नेतृत्व गरेका उनी भने जेन–जी भने थिएनन् । ‘जेन–जी’ भनेर २८ वर्ष उमेर समूहकालाई चिनिन्छ तर उनी हुन, ३५ वर्षका । सामाजिक सञ्जालमा सार्वजनिक भएको उनको नागरिकतामा उनको जन्ममिति २०४७ साल लेखिएको छ । नागरिकताको प्रतिलिपिमा जन्मस्थान गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबास रहेको लेखिएको छ । स्थानीयवासी, इष्टमित्र, आफन्तजनका अनुसार उनको जन्म काठमाडौंमा भएको हो ।
जेन–जीले औपचारिक रूपमा कसैलाई पनि अभियानको संयोजक तोकेका छैनन् । तर, सामाजिक सञ्जाल, टेलिभिजनहरूमा उनको क्रियाकलाप अगाडि देखिने गरेको छ । उनको आवाज निर्णायक बन्ने गरेको छ । सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनको पाउमा साष्टाङ्ग दण्डवत गरेको तस्बिर तथा भिडियोले त सबैको ध्यान खिच्यो नै ।
उनको पुख्र्यौली थलो साविक सिर्दिबास गाविस नाग्चेत हो । उनका बुबा दिलबहादुर गुरुङलाई गाउँघरमा इष्टमित्र, आफन्तजनले ग्याल्बो भनेर सम्बोधन गर्छन् । उनका तीन श्रीमतीमध्ये माहिली श्रीमतीबाट सुधनको जन्म भएको हो । चितवनको मेघौलीमा उनको प्रारम्भिक स्कुले जीवन बित्यो । उनी १०–१२ वर्षको हुँदा बाबा र आमाको सम्बन्ध बिच्छेद भयो । त्यसपछि उनी मामाघरका हजुरबा, हजुर आमाको संरक्षणमा काठमाडौंमा हुर्किए, बढे, पढे । काठमाडौंमा जन्मे, चितवनमा बाल्यकाल बिताए पनि उनको जन्मस्थल गोरखा भनेरै चिनिन्छ ।
चुमनुब्री ३ को बुद्ध मावि मतदान केन्द्रमा उनको मतदाता नामावली छ । तर अहिलेसम्म मतदान गर्न उनी गाउँ नआएको स्थानीयवासीको भनाइ छ ।
‘उनी हाम्रो आफन्त हुन, तर सानैदेखि देखेको मान्छेचाहिँ होइनन्’, चुमनुब्री गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङ भन्छिन्, ‘नागरिकता, मतदाता परिचयपत्रचाहिँ यहीँको छ ।’
उनका दाइ नाता पर्ने सुमन गुरुङ चितवनमा बाल्यकाल सँगै बिताएको तर, धेरै वर्षदेखि भेटघाट नभएको बताउँछन् । ए लेभल पढेपछि उनी साथीभाइको संगतमा नै रमाए । संगीतमै क्लब, डिस्को जाने बानी बसालिसकेका थिए । उनले डिजेको काम सुरु गरे । डिजेमा स्थापित भएका उनले ठमेलमा ओएमजी क्लब सञ्चालन गरे । क्लबबाट उनको आर्थिक स्थिति राम्रै बन्यो ।
व्यवसायी करिअरका क्रममा ०७२ सालको भूकम्पपछि सुधन सामाजिक सेवातिर मोडिए । विशेषगरी राहत र उद्धारमा उनको खटाइले चर्चा पायो । त्यसपछि उनले ‘हामी नेपाल’ नामक सामाजिक संस्था स्थापना गरे । जसमा १ हजार ६ सयभन्दा बढी सदस्य जोडिएका छन् । सेवाभावले खुलेको यसमा देशी–विदेशी कम्पनीहरूबाट अनुदान प्राप्त हुने गरेको छ ।
रात्रिकालीन व्यवसायबाट समाजसेवामा मोडिएका सुधनले भूकम्पका पीडितहरूलाई सहयोग गरेर प्रशंसासँगै राम्रो ख्याति कमाए । यसपछि रात्रिकालीन व्यवसायमा फर्किएनन् । बरु रियलस्टेट, एड्भेन्चर, वाटरस्पोट्र्स बिजनेसतर्फ लागे । बिजनेसको के कुरा, भूकम्पका बेला, कोभिडका बेला स्वयंसेवा गरेर एउटा तहमा चिनिएका उननले सबैभन्दा धेरै चर्चा अहिले कमाएका छन् । देशभरका र विशेष गरी गोरखाली युवाहरूले उनको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा गर्दै उनको मनग्य तारिफ गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !