फैलँदै देश–विदेशमा देउडा गीत

संस्कृति

फैलँदै देश–विदेशमा देउडा गीत

सहरमा काम गर्दा तिनले पाएका दुःखबारे चर्चा गर्दा कथा लामो बन्छ। जुनसुकै व्यवस्था आए पनि नेपालीको सुखद् दिन आउनेगरी फेरबदल छैन।

बम्बै जान्या रेल तँ कैले बरेली झल्लाइ
म तोणीको तेल साई होइझाऊ पालौरी साग।
...अलि काकणी खोला।

सुदूरपश्चिम र कर्णाली प्रदेशका लाहुरेहरूको जीवनीमा आधारित गीत हो हो माथिको। भारतको बम्बै, बैंगलोर, दिल्ली, भूपाल, केरला, गोवादेखि जम्मूकाश्मिर तथा नैनीतालका कुनाकुनामा यहाँका कामदार कामको खोजीमा जाने गर्छन्। गौरापर्व, दसैं, तिहार र बिसु पर्वमा सानोतिनो कमाइ लिएर घर फर्कन्छन्। यो यस क्षेत्रका हजारौं बेरोजगार युवाको वास्तविक जीवनकथा हो।

ती सहरमा काम गर्दा तिनले पाएका दुःखबारे चर्चा गर्दा कथा लामो बन्छ। स्वदेश फर्कंदा नाकाहरू गौरीफन्टा, गड्डाचौकी र रुपौडियामा भन्सारका कर्मचारीले गरेको खानतलासी, भारतीय सीमा प्रहरीले गरेको ज्यादतीको पनि चर्चा गरिसाध्य छैन। जुनसुकै व्यवस्था आए पनि 
र जुनसुकै सरकार फेरिए पनि नेपाली युवाको जिन्दगी सुखद परिणाम आउनेगरी फेरिएको छैन। वास्तविक जिन्दगी सुदूर र कर्णालीवासी युवकयुवतीको उस्तै छ।

अहिले दिनहरू बित्दै गए, समय बदलिँदै गयो। लाहुरेहरूको गन्तव्य पनि फरक हुँदै गयो। केही आयस्रोत जुटाउन सक्नेहरू खाडी मुलुकमा लाहुरे बने। त्योभन्दा बढी स्रोत र शक्ति भएकाहरू अस्ट्रेलिया, जापान, कोरिया पुगे। आफ्नो मेहनतको कमाइले केहीले आर्थिक अवस्था राम्रो पनि गरे। अझ सशक्त पहुँच र आवाज भएकाहरू अमेरिका, बेलायत, क्यानडा, पोर्चुगललगायतका आय आम्दानी बढी हुने, जीवनस्तर राम्रो हुने मुलुकमा पुगे, यो क्रम दिनप्रतिदिन बढ्दैछ।
अम्रिका पानीको नाउलो जहाज पानी खान्या
धेक्याकी धिर्ज मन् हुन्या न धेक्याकी रुन्या।

एटलान्टिक महासागरले छोएको र विश्वको शक्तिशाली मुलुक अमेरिकामा नेपालीले पुग्नु सामान्य विषय होइन। निकै नै कठिन छ अमेरिकामा जीवन निर्वाह गर्न पनि। कामका मुलुक भएकाले अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया आदिमा नेपाली बोल्ने पनि फुर्सद पाउँदैनन्। समय मिलाएर आफ्नो देशको भाषा, संस्कृति र मौलिकपन बचाएर राख्नु, समय–समयमा देशका कलाकारलाई बोलाएर सांगीतिक प्रस्तुति दिलाउनुलाई सामान्य विषय मानिँदैन।

अझ काली कर्णालीबाट आएका व्यक्तिका लागि विदेशी भूमिमा कलाकारहरूलाई निम्याएर सांगीतिक कार्यक्रम गरी विश्वसामु आफ्नो मुलुकको मौलिकपन देखाउनु त फलामको चिउरा चपाउनु जस्तै देखिन्छ। यति हुँदाहुँदै पनि महिना दिन अघिदेखि बिदा मिलाएर देशका चाडपर्व मनाउनु र संस्कृतिको संरक्षण गर्नु भनेको देशका प्रधानमन्त्रीले राज्य चलाए जस्तै विषय हो। माथिको गीतले पानीजहाजको प्रसंग जोडेको छ। विदेशबाट ठूलाठूला पानीजहाजमा सामान अमेरिका भित्रिन्छन्। ओसारपसार गर्ने काममा कतिपय नेपाली पनि हुन सक्छन्।

आफ्ना मान्छेलाई देख्न पाए खुसी लाग्ने नदेखे चिन्ता लाग्ने भन्ने विषयको गीत हो यो। जमानाका यी प्रसंगलाई हालको प्रविधिले बदलिदिएको छ। घरघरबाट आफ्ना मानिसहरूको गतिविधि सहजै थाहा पाउन सकिन्छ। हातहातमा संसार घुमिरहेछ। देउडा गीतमा फन्को लगाए झैं संसारभर पुगेका संस्कृतिकर्मी युवाको राष्ट्रप्रतिको सद्भाव र स्नेह सामाजिक सञ्जालले दर्शाइरहेछ।
कैले पनि भुल्या छैन आफ्नो देशको छायाँ
चिठीमा रैवार दिउँला वाणुलीमा माया।

अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकमा रही गौरा, बिसु आदि काली कर्णाली प्रदेशका मौलिक पर्वमा जन्मघर सम्झेर परदेशी देउडा पारखी मनले गाएको गीत हो माथिको। ४० वर्षपहिले देउडा गीतका क्यासेट भारतमा बिक्री गर्ने मानिसहरू अहिले कतिपय मुलुकमा पुगेर भव्य रूपमा देउडा खेलाइरहेको दृश्य सामाजिक सञ्जालमा देख्न पाइन्छ। नयाँनयाँ देउडा गायकगायिका विदेशी भूमिमा देउडा संस्कृतिको सेवा गरिरहेछन्। संस्कृति संरक्षणका लागि योभन्दा ठूलो अवसर अरू के होला र ?

विश्वका विभिन्न सहरमा बसोबास गर्ने नेपालीले गौर र दसैंको अवसर पारी प्रत्येक वर्ष कलाकारलाई निम्तो दिएर मञ्च दिएको देखिन्छ। गायक भुवन दाहाल, उमाशंकर जोशी, महेश आउजी, विरही बम, गायिका निरुता खत्री, शोभा थापा, निशा रावल, गौरी भट्टलगायतका कलाकारले देउडाको प्रस्तुति देखाइरहेछन्। केही महिनापहिले अस्ट्रेलिया पुगेर कलाकार लक्ष्मी आचार्य, चक्र बम, अस्ट्रेलियामा बस्दै आएकी शास्त्रीय संगीतकी गायिका शृंखला जोशीले त्यहाँ रहेका नेपालीलाई सांगीतिक मसला बाँडिरहेको देखियो।

त्यसअघि अग्रजपंक्तिका कलाकार भोजराज भट्ट, नरेन्द्रराज रेग्मीले पनि अस्ट्रेलिया र खाडी मुलुकमा देउडा गाएर प्रवासी नेपालीलाई स्वस्थ मनोरञ्जन दिलाएको देखिन्थ्यो। यस पटकको गौरा पर्वमा टेक्सस अमेरिकामा गायिका रेखा जोशी र गायक रवि ओडलाई बोलाएर आयोजकले ठूलो गुण लगाए। गायक शंकर विष्ट र चाँदनी मल्लले पनि अमेरिकाका विभिन्न राज्यमा सांगीतिक प्रस्तुति दिइरहेछन्। देशका विभिन्न भाग धनगढी, महेन्द्रनगर, सुर्खेत, नेपालगन्ज, काठमाडौं लगायतका ठाउँमा पनि देउडा गायकगायिकाले दर्शकलाई भरपूर मनोरञ्जन दिलाइरहेछन्।
भारतका जुहारीलाल्को बस्न्या ढुंगो दिल्ली
म आफ्ना बैरागले गाउँछु जन भन्या सिल्ली।

२०४४ सालमा गाएको माथिको देउडा गीतले पंक्तिकारको जिन्दगीमा आमूल परिवर्तन ल्यायो। गीत गाउनु वादी जातिले मात्र हो भन्ने त्यसबेलाको मान्यतालाई यी र यस्तै खाले देउडा गीतले चिरिदियो। २०४१ सालमा पाकिस्तानी टेलिभिजनमा रेकर्ड गरेको देउडा गीतले सञ्चार जगत्मा झाँगिने मौका पायो। २०६२/६३ को जनआन्दोलनताका मुम्बईको देउडा प्रस्तुतिसँगै २०६६ सालमा कोरियामा देउडा गाएको मानसपटलमा ताजै छ। २०७० सालमा मलेसिया, २०७४ सालमा दुबईमा देउडा गीत गाउँदा त्यहाँका संस्कृतिकर्मीको निश्चल माया साँचेर राखेको छु।

यसैगरी, २०७५ र २०८१ सालमा अमेरिकाको न्युयोर्क, टेक्सास, कोलोराडो र युइसक्यान्सिन राज्यमा देउडा गीतको बीजारोपण गरेको देउडारूपी बिरुवा बढ्दैछ। यसपटक न्युयोर्कस्थित सुदूरपश्चिम समाजका अध्यक्ष दानसिंह विष्ट र साथीले गौरा पर्वका अवसरमा देउडा गाउन मञ्च दिलाए।

पंक्तिकारका लागि यो सौभाग्य हो। तीजको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासमा राजदूत चन्द्रकुमार घिमिरेले देउडा गीतका लागि दिनुभएको मञ्च, नेपाल पत्रकार महासंघ यूके आदिवासी जनजातिको ३१औं भव्य कार्यक्रम यूकेमा झ्याम्म... झ्याम्म... देउडागीत गाउँदाको ऐतिहासिक अवसर सुखद रह्यो।

यसरी देशमा मात्र होइन, विदेशमा पनि देउडा गीतको क्षेत्र फैलँदै छ। विदेशी भूमिमा नेपाली गीतहरू पस्किए जस्तो मौलिक देउडा गीतहरू गाउन मञ्च पाउनु सामान्य विषय होइन। ६ महिना वर्ष दिन अघिदेखि कार्यक्रम तय गर्नुपर्छ। पसिनाको कमाइले कार्यक्रम तय गर्नुपर्छ। यसैले त देश–विदेशमा सांस्कृतिक क्षेत्रमा काली कर्णालीको एकता बलियो छ। हामीले भन्दा विदेशमा बस्ने कर्मयोगीहरूले संस्कृतिको फैलावट गरेका छन्। देउडा गीतमा दिनप्रतिदिन विकृति भित्रिन लाग्यो। पहिलेका मौलिक शब्द र भाकाहरू हराउँदै छन्। उनीहरूको गुनासो र चिन्ता पनि यही हो।

जमानाका प्रसंगलाई हालको प्रविधिले बदलिदिएको छ। घरघरबाट आफ्ना मानिसहरूको गतिविधि सहजै थाहा पाउन सकिन्छ। हातहातमा संसार घुमिरहेछ। हातहातमा संसार घुमिरहेछ। देउडा गीतमा फन्को लगाए झैं संसारभर पुगेका संस्कृतिकर्मी युवाको राष्ट्रप्रतिको सद्भाव र स्नेह सामाजिक सञ्जालले दर्शाइरहेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.