राजनीतिमा दम्भ होइन, सेवाभाव

राजनीतिमा दम्भ होइन, सेवाभाव

२०८२ भदौ २३–२४ गते भएको जेन—जी आन्दोलनले सत्ता पलट सँगसँगै नेतृत्वको दम्भ र पापको घैंटो विस्फोट भएको छ। आन्दोलनको यो रूप ठीक थियो वा थिएन भोलिका दिनमा पक्कै अनुसन्धान र विश्लेषण त हुन्छ नै। नेतृत्वबाट आफूमात्रै होइन, सात पुस्तेलाई पुग्नेगरी अकुत सम्पत्ति कमाउनेतर्फ ध्यान गयो। संस्थागत र व्यक्तिगत स्वार्थमा राज्यकोषको दुरुपयोग गरियो। सबै नेतृत्व दोषी पनि छैनन्। भ्रष्ट करारनामा पनि गर्न मिल्दैन। सीमित भ्रष्ट र अपारदर्शी नेतृत्वको कारण यो अपजशको भारी बोक्नु पर्‍यो सबै राजनीतिक तथा प्रशासनिक व्यक्तिले। त्यसको जवाफदेहिता तहगत नेतृत्वले लिनुपर्छ तलैसम्म।

तर यो स्वीकार्ने कि नस्वीकार्ने र मात्रात्मक भागिदारी कति हो ? भन्ने चाहिँ छुट्ट्याउन र खुट्ट्याउन जरुरी छ। यो तथ्य सबै नागरिकले थाहा पाउनेगरी बाहिर आउन सकेन भने निर्दाेष मानिसले कलंकको भारी बोकिरहनु पर्छ। पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच सामाजिक सञ्जालको जुहारी लज्जाबोध र घृणित छ। 

सत्ता कायापलट भएको एक हप्ता बितिसक्दा पनि आन्दोलनमा मृत्युवरण गर्ने सबै आन्दोलनकारीको दाहसंस्कार भएको छैन। गोली लागेर घाइते अस्पतालमा छट्पटाइरहेकै छन्। घाइतेका आमा–बुवा एवं आफन्तजन बेहोसी अवस्थाबाट भर्खरै बौरिन खोजिरहेका छन्। सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ तर मन्त्रिपरिषद्ले भने पूर्णता पाएको छैन।

आन्दोलनका क्रममा आगजनी भई नष्ट भएका ऐतिहासिक सार्वजनिक स्मारकहरू सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी अड्डा, विभिन्न दलका पार्टी कार्यालय, घर तथा निजी सम्पत्ति लगायतको वस्तुगत क्षतिको मूल्यांकन र लेखाजोखा हुन सकेको छैन। यो विषम परिस्थितिमा बालेन र हर्कले सामाजिक सञ्जालमा देखाएको रोइलो खेदजनक मात्र होइन, अति निन्दनीय पनि छ। दुवैमा मानवीय संवेदनाभन्दा पनि आत्माकेन्द्रित महत्वाकांक्षा देखिन्छ।

बालेन र हर्कको रोइलो : देश रोइरहेको छ। कतै विदेशी शक्तिले हाम्रो देशको अस्तित्व नै समाप्त गर्ने षड्यन्त्र गरिरहेका त छैनन् ? अहिलेको जटिल समस्यालाई कसरी समाधान गर्ने ? २०८२ फागुन २१ गते हुने निर्वाचनलाई सुनिश्चित बनाउँदै नष्ट भएका संरचनालाई कसरी पुनर्निर्माण गर्दै नागरिकलाई कसरी सहज ढंगले सेवा प्रवाह गर्ने भन्ने चिन्ता होला सरकार र प्रशासकलाई। तर बालेन र हर्क भने सामाजिक सञ्जालबाट उत्ताउलो ढंगले गालीगलौज गरेर समाजलाई दूषित बनाइरहेका छन्। नगर प्रमुखको हैसियतले कति बोल्ने र कति मर्यादा राख्ने ख्याल गरिरहेका छैनन्। यो विषम परिस्थितिमा हातेमालो गरेर अघि बढ्नुको सट्टा केको भाले जुधाइँ हो बालेन र हर्कको ?

कोही बन्दकोठाबाट सरकार ढाल्ने र बनाउने त कोही वर्तमान भूमिका पूरा नहुँदै नयाँ भूमिकाको खोजी गर्न दौरा–सुरुवाल बोकेर सिंहदरबार छिर्ने ! कठैबरा दुवैले किन नबुझेका होलान्, आफ्नो जिम्मेवारी र कर्तव्य। बालहठबाट कहाँ चल्छ र देश ? संस्था केन्द्रित नभई व्यक्ति केन्द्रित सोच नै राणाकालीन चिन्तन हो भन्ने बुझ्नुपर्छ बालेन र हर्कले। अनुरोध छ– आफ्नो पनि मर्यादा राख्नुहोस् र अन्य जनप्रतिनिधिको पनि मर्यादा जोगाइदिनुस्।

पदीय मर्यादा जोगाऔं : हामी बाँकी ७ सय ५१ पालिकाका जनप्रतिनिधिले पनि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म के, कसरी समृद्ध र नमुना पालिका बनाउन सकिन्छ भनेर निरन्तर काम गरिरहेका छौं। यहाँ बालेन र हर्कलाई भ्रम छ कि मभन्दा राम्रो र ठुलो कोही छैन। ‘मैले जे बोलें, त्यही कानुन हो’ भन्ने घमण्ड दुई मेयरका सार्वजनिक अभिव्यक्तिबाट स्पष्ट झल्किरहेको छ। सबै तहको नेतृत्वले बुझ्दा हुन्छ कि घमण्डले ठूलठूला शासकहरू देश विदेशमा ढलेको इतिहास हाम्रो सामु छर्लंगै छ। न लुकाउन सकिन्छ न बंग्याउन नै। राणा, राजा र ओली पनि घमण्डले नै सकिएका हुन्।

हेक्का रहोस्, बालेन र हर्कजी कतिपय पालिकामा महŒवपूर्ण र ऐतिहासिक काम भएका छन्। ती तपाईंहरू जस्तो मिडियाबाजी गर्न रुचाउँदैनन्। केवल काममा विश्वास गर्छन्। त्यसैले केही नभएको होइन, जति हुनुपर्ने त्यति हुन नसकेको हो। कतिपय पालिकाका प्रमुख भ्रष्टाचारको दलदलमा फसेर जेल चलान भएको विषय सञ्चारमाध्यमबाट आइरहेका छन्। अकुत सम्पत्ति कमाएर पदीय मर्यादाको दुरुपयोग नगरौं। हाम्रो भ्रष्ट मनोविज्ञान र गतिविधिले जेन—जी आन्दोलनको स्वरूप निर्माण गर्‍यो। त्यसैले मर्यादा जोगाऔं÷कर्तव्य पूरा गरौं।

शासक होइन, सेवक बनौं : नागरिकको अमूल्य मत पाएर हामी निर्वाचित भएका हौं। नागरिकले प्रत्यक्ष भेट्ने र तत्काल सेवा लिने सरकार भनेको नै स्थानीय सरकार हो। सेवाका सीमा र क्षेत्र असीमित रहेता पनि नागरिकका अपेक्षा र आकांक्षा स्थानीय सरकारको हैसियतभन्दा बढी छन्। निर्वाचनताका क्षमताभन्दा बढी मागलाई सम्बोधन गर्ने विषय घोषणापत्रमा उल्लेख गर्दै भाषण गर्‍र्यौं। हामी चुकिसकेका छौं। बोका मार्ने खजाना छ तर बाघ मार्ने धमास दियौं र समस्या बढेको छ सबैतिर। नागरिकसँग नम्र भएर व्यवहार पनि सरल र पारदर्शी हुनुपर्छ। निर्वाचनको समयमा भिजेको मुसोजस्तो अहिले नागरिकबाट निर्वाचित भएपछि सिंहजस्तो हिंस्रक नबनौं।

बालेनजस्तो अँध्यारो कोठामा बसेर तीर हान्ने र हर्कजस्तो श्रम शिविरको नाममा अभिमान गर्ने संस्कृतिको अन्त्य गर्दै उनीहरूका सकारात्मक कामको अनुसरण गरौं। मेरो गोरुको बाह्रै टक्का नगरी अन्य पालिकाका असल अभ्यासलाई आआफ्नो ठाउँमा लागू गर्ने हिम्मत गर्नुपर्छ, बालेन र हर्कले पनि। हामी सुसंस्कृत भयौं भने मात्रै नागरिकमा आशा र भरोसा जगाउन सकिन्छ। बालेन नागरिकका समस्या प्रत्यक्ष भेटेर सुन्दैनन्। सामाजिक सञ्जालबाट सिंहदरबार जलाइदिन्छु भन्दै कुर्लन्छन् अनि कसरी लोकतन्त्रवादी भए ? संयोग हो वा ग्र्यान्ड डिजाइन बालेनले सिंहदरबार जलाइदिन्छु भनेको वर्ष दिन पुग्दा नपुग्दै ऐतिहासिक धरोहर खरानी बनाइयो। ढिलोचाँडो यसको पर्दाफास हुन्छ नै। षड्यन्त्रकारी को थियो ?

सरकारी संरचना त बन्ला नै तर ऐतिहासिक दस्तावेज र तथ्यांक कसरी भेट्टाउने ? ‘कुनै देशको अस्तित्व समाप्त गर्नुछ भने त्यो देशको सभ्यता, संस्कृति र इतिहास मेटाइदिनू’ भन्छन्। हो, त्यसै गर्न खोजियो यहाँ। सबै जुटौं र एकताबद्ध भएर राष्ट्र निर्माणमा हातेमालो गरौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र अभिमानले पनि आयो यो वर्तमान परिस्थिति। प्रधानमन्त्रीको हैसियत र मर्यादा नबुझी हलुका ढंगले टिप्पणी गर्ने प्रवृत्ति नै हो यो अवस्था सिर्जना गर्ने मुख्य कारकतŒव। गतिविधिलाई अध्ययन नगरी काँध थापिरहने शेरबहादुर देउवा र सत्ता मोहमा हौसिने पुष्पकमल दाहालको तरल स्वभावका कारण घटना घटाउन षड्यन्त्रकारीलाई अनुकूल अवस्था भयो।

निष्कर्ष : लोकतान्त्रिक गणतन्त्रको जगमा मेयर भएका हुन्, हर्क र बालेन पनि। हजारौं मानिसको बलिदानी र संघर्षबाट स्थापित यो व्यवस्थाको विकल्प खोज्ने दुस्साहस गरे भने दुवै मेयरको अस्तित्व समाप्त हुनेछ। देशको सबैभन्दा ठूलो शत्रु भष्टाचार र अनियमितता रोक्ने पहिलो दायित्व हाम्रो हो। त्यसैले भ्रष्टाचारविरुद्ध एक ढिक्का होऔं। आफू पनि नगरौं र भरसक अरूलाई पनि भ्रष्टाचार हुन नदिऔं। भ्रष्टाचार रोक्न सकिएन भने जेन—जी आन्दोलनप्रति गद्दारी ठहरिनेछ। त्यसैले, म अभिमान र भ्रष्टाचार गर्दिनँ भन्ने दृढ संकल्प र कार्यान्वयनले मात्रै यो देशले काँचुली फेर्न सक्छ। मूलढोकाबाट नदेखिने र जस्केलाबाट हुने भ्रष्टाचार नै निराशाको मूल समस्या हो र विकास विरोधी अपराध पनि। साझा संकल्प गरौं– देश बनाउन इमान्दार बन्छौं र घुस खाँदैनौं।

नागरिक हाम्रा भगवान् हुन्, शासक होइन सेवक बन्छौं। हामीले अहिलेसम्म जानीनजानी गल्ती गर्‍यौं, अब गर्दैनौं। विगतमा भए गरेका कमजोरीप्रति माफ मागौं। ठूलो कमजोरी भए कानुनी कठघरामा उभिन तयार छु भन्ने प्रतिबद्धता गरौं। अन्यथा अभिमान र घमण्डले हामी खरानी हुनेछौं। यही प्रतिबद्धता र दृष्टिकोणले मात्रै हामी सबैको भलो हुनेछ। र समयमा नै सोचेनौं भने पुनः अस्थिरता बढ्छ र देशी–विदेशी षड्यन्त्रकारीको क्रीडास्थल हुनेछ हाम्रो देश।

भट्टराई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगर प्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.