मोरङमा जेनजी आन्दोलनमा अराजकता मच्चाउनेको पहिचान गर्दै प्रहरी

मोरङमा जेनजी आन्दोलनमा अराजकता मच्चाउनेको पहिचान गर्दै प्रहरी
पत्रकार भेटघाट एवं परिचयात्मक कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल ।
सुन्नुहोस्

विराटनगर  :  मोरङ प्रहरी यतिबेला जेनजी आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी, तोडफोड र लुटपाट मच्चाउने समूह एवं व्यक्तिको पहिचानमा जुटेको छ । 

आगजनी, तोडफोडजस्ता अपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने हिसाबले प्रहरी अघि बढेको हो । कानुनी दायरामा ल्याउन सरकारी एवं निजी सम्पत्तिमा आगजनी गरेर विध्वंस मच्चाउनेलाई प्रहरीले कडा निगरानी गरिरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा सरकारी तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आतंक फैलाउनेहरू पहिचानको अन्तिम चरणमा पुगेको र छिट्टै कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । 

मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बुधबार आयोजित पत्रकार भेटघाट एवं परिचयात्मक कार्यक्रममा जेनजीको आवरणमा अपराधिक आतंक मच्चाउने अब कारबाहीको दायरामा आउने जानकारी दिए । सोमबार मात्र जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर कार्यालयमा हाजिर भएका कटवालले आफ्नो पहिलो सार्वजनिक कार्यक्रममा भने, 'राज्य र नागरिकको सम्पत्तिमाथि आगजनी गर्नेहरुलाई उन्मुक्ति दिन सकिँदैन । प्रमाण संकलन भइसकेको छ । अब 'स्क्रिनिङ' गरेर संलग्नलाई कानुनी दायरामा ल्याइन्छ ।'

 
उनका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा अराजक भिडले विराटनगरसहित मोरङका सरकारी कार्यालय, निजी संरचना र व्यापारिक प्रतिष्ठान एवं मलसमेतमा आगजनी, तोडफोड र लुटपाट गरेको थियो । क्षतिग्रस्त संरचनाको मुचुल्का उठाइसकिएको र घटनाबारे पीडितले प्रहरीमा उजुरी समेत दर्ता गराइरहेको जानकारी एसपी कटवालले दिए । 

प्रहरीले यसअघि नै सर्वसाधारणलाई घटनासम्बन्धी फोटो, भिडियो वा अन्य प्रमाण उपलब्ध गराउन आह्वान गरेको थियो । प्रमाण उपलब्ध गराउनेको पहिचान गोप्य राखिने एसपी कटवालले स्पष्ट पारे । 'धेरै प्रमाणहरु हात परेका छन् । अझै संकलन भइरहेको छ । ती सबैको विश्लेषणपछि संलग्नहरु कारबाहीको दायरामा आउँछन्,'उनले भने । 

एसपी कटवालले जेनजी आन्दोलनलाई आवरण बनाएर आपराधिक गतिविधि गर्ने र अराजक भिडलाई त्यस्तो कार्यमा उक्साउनेहरूमाथि समेत कानुनी कारबाही हुने प्रष्ट पारे । 'यस्ता घटनाले प्रहरीको मनोबल खस्किएको छ । तर, अब कानुनी प्रक्रिया अघि बढाएर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको छ,'उनी भन्छन् । 

प्रहरी स्रोतका अनुसार भाग्न सक्ने सम्भावना रहेकाले विध्वंसमा संलग्न समूहलाई नजिकबाट निगरानी बढाइएको छ । 'जसरी पनि कारबाही हुन्छ । अहिले 'स्क्रिनिङ' गरेर प्रमाणित गरिरहेका छौं । विभिन्न घटनासँग सम्बन्धित प्रमाणको विश्लेषण पनि भइरहेको छ,' प्रहरी स्रोतले भन्यो ।

चाडपर्व लक्षित सुरक्षा 

बडादशैं सुरु भएसँगै मोरङ प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षासम्बन्धी नियमित कामसँगै चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको एसपी कटवालले बताए । 'चाडपर्वका बेला अपराधिक घटना बढ्न सक्छन् । त्यसकारण शान्ति सुरक्षा चुस्त–दुरुस्त बनाउन प्रहरी संवेदनशील र सक्रिय बनेको छ,' उनले भने । 

चाडपर्वका लागि मोरङमा रहेका सुरक्षाकर्मी मात्र नभइ अतिरिक्त फोर्ससमेत परिचालन गर्ने तयारी रहेको उनले स्पष्ट पारे । कटवालका अनुसार अपराधीलाई निर्मम हिसाबले कारबाही गर्ने, नागरिकलाई सुरक्षित वातावरण दिने र मोरङलाई अपराधमुक्त बनाउनेतर्फ प्रहरी प्रतिबद्ध छ । उनले शंकास्पद गतिविधि देखिएमा वा कुनै आपराधिक घटना हुन लाग्दा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह पनि गरे ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कुनै पनि घटनाबारे गलत वा अतिरञ्जित सूचना नदिन पत्रकारलाई अनुरोध गरिन् । 'पत्रकारको सूचनाले नै आमनागरिकले धारणा बनाउँछन् । त्यसैले प्रमाणित तथ्यलाई मात्र सार्वजनिक गरिदिनुहोला । हामी सत्य सूचना समयमै दिन तयार छौं,' उनले भनिन् ।

मोरङ प्रहरीले जेनजी आन्दोलनमा संलग्नलाई कानुनी दायरामा ल्याउने तयारी  गरेसँगै चाडपर्व लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाएर नागरिकलाई सुरक्षित र शान्त वातावरण दिने प्रतिबद्धता जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.