आन्दोलनको आगोले पिल्सिएको प्रहरी : सार्वजनिक स्थलमा छैन उपस्थिति

आन्दोलनको आगोले पिल्सिएको प्रहरी : सार्वजनिक स्थलमा छैन उपस्थिति
सुन्नुहोस्

विराटनगर : जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते कोशी प्रदेशमा फैलिएको हिंसात्मक प्रदर्शनले प्रहरीलाई निकै ठूलो असर पारेको छ। 

आन्दोलनको आवरणमा अराजक समूहले निसाना बनाएरै आगजनी, तोडफोड र आक्रमण गर्दा प्रहरीको मनोबल कमजोर बनेको हो। गिरेको मनोबल फर्काउन समय लाग्ने प्रहरी अधिकारीहरु बताउँछन्। आगजनी र तोडफोड गरेर प्रहरीका निकै संरचना ध्वस्त पारिएको छ। 

अहिले प्रहरीको काम कारबाही ठप्पजस्तै छ। दसैं सुरु भएर चाडपर्वले छोपिसक्दा पनि सार्वजनिक स्थलमा प्रहरीको उपस्थिति नै कमजोर बनेको छ। प्रहरीले सार्वजनिक स्थलदेखि नियमित कामकारबाहीमा प्रभावकारी उपस्थिति एवं प्रस्तुति देखाउन सकेको छैन। आन्दोलनका क्रममा अराजक समूहले कार्यालयका भवन, सवारीसाधन तथा प्रहरीलाई नै आक्रमणको निसाना बनाएपछि अहिले प्रहरीले सामान्य जिम्मेवारीसमेत निर्वाह गर्न सक्ने अवस्था गुमाएको छ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार ५६ वटा प्रहरी कार्यालय आक्रमणको शिकार भएका छन्। आगजनी र तोडफोडबाट १५ वटा कार्यालय पूर्णरूपमा जलेर ध्वस्त भएका छन् भने ४१ वटा आंशिक रूपमा क्षति पुगेको उनले बताए। पोखरेलका अनुसार आगजनी र तोडफोडबाट प्रहरीका ८४ वटा सवारीसाधन नष्ट भएका छन्। जसमा आठवटा ‘हेभी भेहिकल’समेत छन्। 

प्रहरीमाथि आक्रमणको हिसाबले सबैभन्दा बढी प्रभावित सुनसरीको इटहरी हो। जहाँ आन्दोलनकारीले भदौ २४ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमै आगजनी गर्दा भवन, ब्यारेक, बन्दोबस्तीका सामग्री र सवारीसाधन खरानी बने। त्यसपछि ट्राफिक प्रहरी प्रदेशका मुख्य सडकमा देखिनै छाडेका छन्। चाडबाड नजिकिँदै गर्दा सवारी चाप बढ्दो भए पनि सडकमा ट्राफिक प्रहरीको उपस्थिति न्यून छ।

कार्यालयका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार अहिले जीर्ण भवनको कालो पर्खाल मात्र बाँकी छ। ‘न सवारीसाधन छन्। न पोसाक, न त कुनै सामग्री। संरचनाविहीन अवस्थाले काम गर्न असम्भवजस्तै भएको छ,’ उनले भने। श्रेष्ठका अनुसार कोशी प्रदेशका १४ जिल्लको ट्राफिक व्यवस्थापन हेर्ने जिम्मेवारी पाएको यो कार्यालय अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन। इलाका प्रहरी कार्यालय इटहरीसमेत आगजनी गरेर पूर्णरूपमा ध्वस्त पारिएपछि त्यहाँ कार्यरत प्रहरी अस्थायी रूपमा तरहरास्थित चौकीमा बस्न थालेका छन्।

प्रहरी अधिकारीका अनुसार भवन जलेर खरानी भएको छ। सवारीसाधन ध्वस्त भएका छन्। कार्यालयमा आगजनी र तोडफोड गर्दै आन्दोलनकारीले बर्दी (पोसाक) उतारेर लखेटेपछि विस्थापित भएको प्रहरी अझैसम्म फर्किन सकेको छैन। ‘न बस्ने भवन छ। न त सवारीसाधन नै,’ प्रहरीका एक अधिकारी भन्छन्। उनले सबै कुरा गुमाएर विस्थापित भएको प्रहरीलाई पुरानो कार्यालयमा फर्किन कठिन भइरहेको छ। 

संरचना ध्वस्त भएर प्रहरी विस्थापित भएपछि कोशीका विभिन्न बजार र चोकहरूमा जुवाजन्य खेल खुलेआम हुन थालेका छन्। लंगुर बुर्जा (डाइस)जस्ता खेलहरु खुलेआम संचालन हुन थालेपछि सर्वसाधारणले नियन्त्रणको माग गरिरहेका छन्। जुवाजन्य खेलमा पैसाको हारमार हुने हुँदा त्यसले अन्य अपराध निम्त्याउने चिन्ता सर्वसाधारणमा छ। 

आन्दोलनका नाममा भएको अपराधिक गतिविधिले प्रहरीको मनोबल खस्किएको स्वीकार गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, ‘पूर्वाधार नष्ट हुँदा चुनौती बढेको हो। तर, समुदायसँगै मिलेर कार्यालय पुनर्स्थापना गर्ने काम भइरहेको छ। धेरैजसो खोसिएका हतियार फिर्ता आएका छन्। केही जलेर नष्ट भएका छन्।’ 

हालसम्म सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालय मात्रै पुनर्स्थापित भएको जानकारी कार्कीले दिए। जलाइएका बाँकी कार्यालय तत्काल पुनर्निर्माण असम्भव भएकाले कतिपय ठाउँमा प्रहरी विस्थापित अवस्थामै कार्यरत छन्। यसले अपराध नियन्त्रण, अनुसन्धानदेखि दैनिक शान्ति सुरक्षासम्म असर पारेको कार्कीले स्वीकार गरे। 

‘प्रहरीले यस्ता आन्दोलनहरू धेरै देखेको छ। हामी सुरक्षा दिन सक्षम छौं। पूर्वाधार नष्ट हुँदा काम प्रभावित भए पनि समुदायसँग मिलेर पुनःस्थापना गर्ने काम भइरहेको छ,’ डीआईजी कार्की भन्छन्। आन्दोलनका क्रममा खोसिएका हतियारमध्ये धेरैजसो फिर्ता ल्याइएको र केही जलेर नष्ट भएको प्रहरीको भनाइ छ। 

चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू भएको र नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रणमा विशेष ध्यान दिइएको उनले जनाए। साथै, चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको कार्कीको भनाइ छ। आन्दोलनका क्रममा प्रहरीले हतियार र बर्दी छाडेर भाग्नु परेको, कार्यालय जलाएर ध्वस्त पारिएको घटनाले असुरक्षाको चिन्ता बढाएको छ। 

प्रहरी आफैं असुरक्षित र विस्थापित बनेपछि आमनागरिकले सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिरहेको पूर्वशिक्षक केशव अधिकारी बताउँछन्। प्रहरी कार्यालय ध्वस्त हुनु, सवारी साधन नष्ट हुनु, बर्दी उतारेर प्रहरीलाई भाग्न बाध्य पारिनु तथा प्रहरीमाथि आक्रमण गरिनुजस्ता घटनाले सुरक्षा निकायको मनोबल खस्किएको उनको भनाइ छ। आन्दोलनको आगोले पिल्सिएको प्रहरीले तत्काल प्रभावकारी काम गर्न सक्ने अवस्था नदेखिएको अधिकारी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.