शास्त्रमा दसैं वर्णन

शास्त्रमा दसैं वर्णन

मीठो खाने र राम्रो लाउने रहर सबैमा हुन्छ तर धेरै युवा विदेश छन् । तर, यहाँका युवा जेन–जीले यसपालि छिट्टै सत्ता ढाले । प्रहरी बिटको पुनस्र्थापना र प्रहरीको भरणपोषणका लागि घरघरमै रकम उठाइँदै छ अहिले । यतिसम्म निकृष्ट चाला पहिले थिएन, सबै काम नयाँ र नौलो हुँदैछ देशमा ।

दसैंको पूर्वसन्ध्यामा यसपालिको वर्षामा विपत्का घटनाबाट २ सय ४३ को मरण, ८ सय ६९ जना घाइते २४ जना बेपत्ताको सूची भर्खरै प्रकाशित गरेको छ । विपत् न्यूनीकरण प्राधिकरणले र सबैजसो प्रशासनका केन्द्रीय निकायहरू पालमुनि पुगेका छन् र सर्वोच्च अदालत आफैं पालमुनि मुद्दा छिन्दैछ । जेन–जी आन्दोलनका क्रममा करिब ७५ को ज्यान गएको छ यही भदौको अन्तिम सातामा । देश रोइरहँदा दसैं आएको छ ।

पूर्वीय धर्मदर्शनमा चार नवरात्रि– माघशुक्ल, चैत्रशुक्ल, आषाढ शुक्ल र आश्विन शुक्लपक्षका नवरात्रिमध्ये शारदीय रात्रिका रूपमा देखिने आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष रूपमा मानिन्छ । शक्ति उपासनाको यो नवरात्रिको पहिलो आकर्षण हो, ‘घटस्थापना’ । दियो, कलश, गणेश आदि र १० दिनसम्म आवश्यक विशेष सरसामग्री तयार पारिन्छ । घडामाथि अष्टदल, श्रीयन्त्र लेखी नवदुर्गा स्थापना गरी विशेष पूजा गरिने देवीका तीन मूलस्वरूप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन् । सृष्टिको उषाकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति वन्दना गरिएकी देवी सर्वकल्याणमयीका रूपमा चिनिन्छिन् र उनलाई भुवनेश्वरी भनिन्छ । मणिद्वीप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिकापुराण, दुर्गासप्तशती आदिमा गरिएको छ ।

घटस्थापनामा प्रयोग हुने जौ अन्नको सर्वाधिक शक्तिशाली छ । जौमा पोषणतŒव रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको कुरा वैज्ञानिक पुष्टि भएको छ । गाईको गोबर पवित्र मानिन्छ, यसमा रोगका कीटाणुहरू बस्न सक्दैनन् । माटाको घडामा गोबर टाँसी जौ रोप्ने र त्यसरी उमारिएको जौको जमरा शिरमा ग्रहण गर्नाले मनमस्तिष्क स्वच्छ, पवित्र भई आशीर्वाद योग्य हुन्छ । जौको जमरा, मालाबाट देवी प्रसन्न हुने र इच्छासिद्धिको वरदान दिन सकिन्छ । फूलपातीमा बढाइँसमेत हुँदै महाअष्टमी सुरु हुने र यसपछि दसैंको उत्कर्ष सुरु हुन्छ । महाअष्टमीका दिन पूजा गरिने देवी हुन् महागौरी ! यसदिन घरघरमा पशुपक्षीको बलि दिने पनि चलन छ विशेष शक्तिपीठहरूमा ।

सात्विकपूजामा संलग्न व्यक्तिहरूले पशुबलि नदिई कुभिण्डो अथवा बेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा छ । शाकाहारीले मुला, घिरौंला, कुभिण्डो, नरिबल, बेल आदि अर्पण गरेर बलिको पूर्णता गर्छन् । महाअष्टमीका दिन दसैंकोठामा शुद्ध आसन, पूजासामग्री तयार गरी पायस, फलपूmल, वस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मंगला, काली आदि देवीका विशेष नामोच्चारण गर्दै देवीको वन्दना गरिन्छ । अष्टमातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा हुन्छ । अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि छ । कालरात्रि गरी पूजा गर्दैै भोलिपल्ट महानवमीका दिन बिहान सयौं राँगाहरूको वलि दिने चलन रहेको छ, हनुमान ढोकामा । राँगालाई महिषासुरको रूप मानिन्छ । अघि महामाया देवीप्रति दानवहरू मोहित भएछन् । शुम्भ, निशुम्भ आदिले देवीप्रति बिहेको प्रस्ताव राखेछन् । दानवसंहारको क्रममा रहेकी देवीले यसै मौकामा युद्धमा विजय गर्नेसँग बिहे गर्ने मेरो संकल्प छ भन्ने प्रस्ताव राखेकीले सबैजसो दानव युद्धमा होमिँदै आफू अन्त्य भएछन्, कोही भागेछन् ।

देवीको अर्को नाम मोहिनी पनि हो सबैलाई मोहित पारी असुर वध गरेको सम्झनास्वरूप महाअष्टमी, महानवमीमा खासगरी शुभ विजयोत्सवको रूपमा मान्ने चलन छ । महिषासुर नामक राक्षस राँगोको रूप लिई युद्ध गर्न आएको र उसलाई पनि देवीले सखाप पारिदिएको सम्झनामा राँगाको बलि दिने र पशुपक्षीको रगत देवीलाई अर्पण गर्ने गरिएको हो । बडादसैंको उत्कृष्ट चाडको रूपमा घरघरको जमरा कोठामा विशेष पूजा, बलि दिने चलनअनुसार पूजा सम्पन्न गर्दैै अष्टमी, नवमीका दिन सुविधाअनुसार घर, कार्यालयमा रहेका सवारीसाधनहरूको विशेष पूजा एवं बलि दिने गरिन्छ । अष्टमीको अर्को पक्ष छ तलेजु भवानीको विशेष पूजा ! भक्तपुरस्थित तलेजु मन्दिरमा यसदिन विशेष पूजा हुन्छ । दुर्गाको रूपमा पूजा गरिने यी देवीलाई ८४ प्रकारका नैवेद्य चढाई विजयादशमीका दिन प्रसाद ग्रहण गर्ने चलन छ । महाअष्टमीकै दिन काठमाडौंको तलेजुमन्दिर पनि सबैका लागि खुल्ला हुने गरेको हो पहिलेदेखि नै ।

शास्त्रहरू प्रतीकात्मक हुन्छन् । सप्तशतीमा वर्णित रक्तबीज मानवमा भएको रक्तदोष हो । रक्तचाप, अनेकौं विकार, कुण्ठा र वैमनस्यता एकपछि अर्को बढ्दै जान्छन् । शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो । महिषासुर शरीरको बडप्पन हो, चण्ड र मुण्ड मानिसका आवेग, तनावहरू हुन् । धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, ईष्र्या, वैमनस्यता हटेर जान्छन् । आसुरी प्रवृत्तिहरू हट्छन् । यी सबैको बलिदान साँचो बलिदान हो । बलिदान भन्नाले त्याग हो, क्रोध, आवेग, तनाव, चिन्तारूपी बोको बुद्धिको बलिदान हो, दुर्बुद्धिको बलिदान हो । मानवमा भएका ती दुर्बलताहरूलाई बलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो । देवी संसारकै आमा भएकीले कुनै जीवहरू काखमा राखेर हत्या गर्न कुनै आमाले स्वीकार गर्दिनन् । घरघर वा शक्तिपीठहरूमा बलिदान गर्नुपर्ने हिंसा र क्रोध नै हो । अष्टमी, नवमीको संकेतले जीवनको ८०, ९० वर्षको संकेत गर्छ ।

जीवनमा बाँकी रहेका सबै आसुरी भावको बलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो । कन्यापूजा आदि पनि प्रायः यसै दिन गरिन्छ । जमरा कोठामा भगवती सिद्धिदाताको विशेष पूजा गरी सम्पूर्ण रूपमा सिद्धि प्राप्ति होस् भन्ने प्रार्थना गर्दै भोलिपल्ट सर्वत्र विजयको शुभकामना आशीर्वाद प्रदान गर्ने शक्ति प्राप्त गर्ने प्रयास गरिन्छ । दशमीमा भने टीकाप्रसाद वितरण गरिन्छ । हामीकहाँ कतै दशमीका दिन मात्रै र धेरैजसो स्थानमा टीका वितरण पूर्णिमासम्म गरिन्छ, जसलाई कोजाग्रत पूर्णिमा भनिन्छ र जमरा यसै दिन सेलाइन्छ । हाम्रो धर्म दर्शन आशीर्वादमा आधारित छ, अग्रजको आशीर्वाद अनुजलाई जरुरी हुन्छ नै । आशीर्वादले उत्साह प्राप्त हुन्छ दसैं भनेको उत्साह नै हो, ऊर्जा नै हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.