कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, नयाँ भवनको खोजी
विराटनगर : कोशी प्रदेशसभाको सातौं तथा चालु बजेट अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ। प्रदेशसभाको ४० औं भदौ १५ गते बसेको थियो। त्यसपछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको थियो। यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेर प्रदेशसभा भवन र प्रदेशसभा सचिवालय ध्वस्त बनाएको छ। आगजनीपछि प्रदेशसभा बैठक संचालनमा ठूलो समस्या आएको थियो।
आगजनीका कारण प्रदेशसभा भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने सचिवालय पनि प्रयोग गर्न सकिने अवस्थामा छैन। संसद भवन र सचिवालय प्रयोग गर्न नमिल्ने अवस्थाबीच शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रातिबाटै चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेशसभाका कर्मचारी र संसद सञ्चालनका लागि विराटनगरमा नयाँ कार्यालय खोज्ने प्रक्रिया सुरू भएको छ। विराटनगरको वीरेन्द्र सभागृह र कटहरी गाउँपालिकामा रहेको कृषि बजारको भवनलाई सचिवालय तथा प्रदेशसभा भवन सञ्चालनको विकल्पका रूपमा विचार गरिएको छ। तर, यसबारे अन्तिम निर्णय अझै हुन बाँकी छ।
प्रदेश सरकारले छिट्टै स्थायी भवनको व्यवस्थाका लागि छलफल तीव्र बनाउने जनाएको छ। आगजनीको घटनाले प्रदेशको नीति तथा बजेट कार्यान्वयनमा समेत अस्थायी व्यवधान ल्याएको छ।
प्रतिक्रिया दिनुहोस !