आन्दोलनका नाममा राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्तिमाथि निसाना बनाएको पाइयो : मुख्यमन्त्री
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्तिमाथि निसाना बनाइएको पाइएको प्रतिक्रिया दिएका छन्।
लुम्बिनीका विभिन्न जिल्लाहरूमा जलेर ध्वस्त भएका सरकारी एवं व्यक्तिगत सम्पत्ति अनुगमनमा निस्किएका आचार्यले यस्तो प्रतिक्रिया दिए। उनले हालसम्म अर्घाखाँची, दाङ, प्युठान, नवलरासी (पूर्व), बाँके, रुपन्देही र कपिलवस्तु जिल्लामा पुगेर खरानी बनेका संरचनाहरुको स्थलगत अनुगमन गरेका छन्।
आन्दोलनको बहाना बनाएर अराजक तत्वहरुले व्यक्तिगत सम्पत्ति माथि निशाना बनाएको पाइएको आचार्यको भनाई छ। उनले शनिवार कपिलवस्तुमा अनुगमन गरेका छन्। आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गरेर नागरिकलाई सेवा दिइरहेको समेत जानकारी दिए। ‘नागरिकसँग प्रत्यक्ष जोडिएका सिफारिस बनाउने कामहरू सुरु भइसकेका छन्।
सरकारी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई निरन्तरता दिन कर्मचारीहरूको मनोबल उच्च बनाउन सफल भएका छौं। त्यसपछि सेवा प्रवाह अघि बढेको छ’, आचार्यले भने, ‘सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन फर्काउने हाम्रो कोसिस जारी छ। अब कार्यालयहरूको पुनर्निर्माणको काम अघि बढ्नेछ। केही समयपछि सबै परिस्थिति सामान्य अवस्थामा आउनेछन्।’
प्रदेश सरकारले अत्यावश्यक सेवा प्रवाहमा जोडिएका कार्यालयहरूलाई सहयोग गरेको समेत मुख्यमन्त्री आचार्यले जानकारी दिए। जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट प्रभावित भएका सरकारी तथा सार्वजनिक कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र निजी भवनहरूको स्थलगत निरीक्षण गरिएको आचार्यले बताए। आन्दोलनको नाममा भएको घुसपैठ र अराजकताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संघीय सरकारसँग आग्रह गरेको समेत उनको भनाइ छ।
‘राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाइएको छ। यो कदापि स्वीकार्य हुँदैन’ उनले भने, ‘यस्ता कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनैपर्छ’, आगजनी, तोडफोड र लुटपाटले तहसनहस बनेको र कुनै पनि कार्यालयहरू सुरक्षित नभएको पाइएको छ।’
खरानीको थुप्रोबाट फेरि उभिने संकल्प गर्न समेत जरुरी रहेको उनले बताए। आचार्यका अनुसार प्रदेशभरी दुई सयभन्दा बढी कार्यालय र भवन आगलागी र लुटपाटबाट प्रत्यक्ष प्रभावित भएका छन्।
प्रतिक्रिया दिनुहोस !