कोशी प्रदेश: आन्दोलनले पिल्सिएको प्रहरीलाई चाडपर्व सुरक्षाको चुनौती

कोशी प्रदेश: आन्दोलनले पिल्सिएको प्रहरीलाई चाडपर्व सुरक्षाको चुनौती

विराटनगर : जेनजी आन्दोलनको आगोले पिल्सिएको कोशी प्रदेश प्रहरी अहिले दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजनामा उन्मुख भएको छ।

आन्दोलनपश्चात् भौतिक क्षति, मनोबलमा परेको आघात र साधन स्रोतको अभावकै बीच प्रहरीले प्रदेशभरि शान्ति सुरक्षा कायम गर्नुपर्ने चुनौती बोकेको छ। त्यहाँमाथि चाडपर्व सुरक्षाको चुनौती पनि थपिएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनले कोशी प्रदेश प्रहरीलाई अकल्पनीय धक्का पुर्‍याएको थियो। 

आन्दोलनमा मिसिएको अराजक समूहले प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटसम्म गर्‍यो। त्यस क्रममा ५६ वटा प्रहरी भवनमा क्षति पुगेको थियो भने ८४ वटा सवारीसाधन जलेका थिए। प्रहरीका हतियारसमेत लुटिएका थिए। लुटिएकामध्ये केही फिर्ता भए पनि धेरैजसो अझै भेटिएका छैनन्। प्रहरीका दजनौं युनिट विस्थापित भई सुरक्षा सेवा प्रवाहमै अवरोध सिर्जना भएको थियो।

आन्दोलनले रापले थला परेको प्रहरीलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धानजस्ता नियमित कामसँगै चाडपर्व सुरक्षासहित थप एवं अतिरिक्त दायित्व र जिम्मेवारी पनि थपिएको हो। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार भिडभाड हुने बजार, सार्वजनिक स्थल, मठमन्दिर, तीर्थस्थल, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र संवेदनशील ठाउँलाई विशेष सुरक्षा निगरानीमा राखिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गरिएको छ। 

पोखरेलका अनुसार चाडपर्वलाई लक्षित गरेर पिकेट, पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोबाइल गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। चाडपर्वमा हुनसक्ने सम्भावित अपराधमा चोरी, झैझगडा, जुवातास, मादक पदार्थ सेवन –मापसे), आतसबाजी, पटका, सडक दुर्घटना र महिला–बालबालिकामाथि हुने दुर्व्यवहार लगायतलाई प्रमुख चुनौतीको रूपमा प्रहरीले लिएको छ। 

चाडपर्वका बेला खाली घरमा चोरी हुने सम्भावना उच्च हुने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको पोखरेल बताउँछन्। घर छाडेर जानुपर्दा प्रहरी वा छिमेकीलाई जानकारी दिन, सीसी क्यामेरा जडान गर्न र आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको उनको भनाइ छ। ‘चाडपर्व रमाइलो गर्ने समय हो। तर, संयमित र सुरक्षित हुनुपर्छ,’ प्रवक्ता पोखरेल भन्छन्, ‘जुवातास नखेल्नुहोस्, मापसे गरेर हुने दुर्घटना वा झगडा रोक्न सावधान रहनुहोस्। आतसबाजी र पटकाले त्रास मात्र नभएर  सम्पत्तिको क्षति र मुद्रा बाहिरिने अवस्था पनि ल्याउँछ। त्यसैले त्यस्ता गतिविधि बन्द गर्न सबै सचेत हुनुपर्छ।’ 

प्रहरी संगठनले बोकेको आन्दोलनको चोट अझै पूर्णरूपमा निको भइसकेको छैन। क्षतिग्रस्त भवन र साधन स्रोत अभावकै कारण प्रहरीका धेरै युनिट अस्थायी रूपमा अन्यत्र राखिएका छन्। मर्ज गरिएका १ हजार ७१ युनिटमध्ये अधिकांश पुनःस्थापित भए पनि बाँकी ७९ युनिटलाई पनि क्रमशः पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको एसएसपी पोखरेलले जनाए।

उनका अनुसार सेवा प्रवाहमा अवरोध नआउने गरी प्रहरी सक्रिय छ। भिडभाड हुने स्थानलाई संवेदनशील क्षेत्र पहिचान गर्दै गोप्य गस्तीमार्फत ‘अन द स्पट’ अपराध नियन्त्रण गर्ने रणनीति अपनाइएको उनले बताए। सार्वजनिक यातायातमा पाकेटमारी र महिला–बालबालिकामाथि दुर्व्यवहार हुन सक्ने भएकाले यात्रुलाई समेत सचेत रहन आग्रह गरिएको छ।

आन्दोलनपश्चात् प्रहरी संगठनलाई समाजसँग विश्वास पुनः स्थापना गर्ने अतिरिक्त चुनौती थपिएको छ। आन्दोलनले प्रहरीलाई भौतिक मात्र नभएर मानसिक दबाबमा समेत पारेको छ। तर, चाडपर्वमा सफल सुरक्षा व्यवस्थापन भए प्रहरीप्रति नागरिकको भरोसा पुनः मजबुत हुने अपेक्षा गरिएको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले चाडपर्वलाई अपराधमुक्त बनाउन चौबीसै घण्टा प्रहरीलाई सक्रिय गराइएको बताए। ‘जनताले आफ्नो घर, सम्पत्ति र व्यक्तिगत सुरक्षामा जिम्मेवार बन्दै सूचना दिँदा प्रहरीको कारबाही थप प्रभावकारी हुन्छ,’ उनले भने। उनका अनुसार घर फर्किने यात्रुको गुनासा र समस्याको सम्बोधन गर्नका लागि प्रदेशका १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 

त्यस्तै, भारतबाट आउने नेपालीमाथि लुटपाट वा अभद्र व्यवहार हुनसक्ने सम्भावना देखेर सीमा नाकामा समेत सुरक्षा सहायता कक्ष राखिएको छ। सीमा क्षेत्रमा खटिएका प्रहरीलाई भारतीय ‘काउन्टर पार्ट’सँग समन्वय गरेर यात्रु सुरक्षामा ध्यान दिन निर्देशन दिइएको छ। ‘भयरहित, सुरक्षित र हर्षोल्लासपूर्वक चाडपर्व मनाउने वातावरण बनाउन हामीले जनशक्ति थप गरेर प्रहरी परिचालन व्यापक बनाएका छौं,’ डीआईजी कार्कीले भने। 

नागरिकलाई सचेत रहन आह्वान गर्दै उनले भने, ‘चाडपर्वमा रमाइलो गर्ने नाममा जथाभावी नगर्नुहोस्। व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिनुपर्छ। कुनै शंकास्पद गतिविधि देखिए वा घटना हुन लागे तत्काल प्रहरीलाई जानकारी दिनुहोस्। प्रहरी शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार छ।’

जेनजी आन्दोलनपश्चात् क्षतिग्रस्त संरचना र साधन–स्रोतको कमीजस्ता समस्यालाई पार लगाउँदै प्रहरीले यसवर्षको दसैं, तिहार र छठलाई सुरक्षित बनाउन आफ्नो क्षमता प्रदर्शन गर्ने कार्कीको भनाइ छ। यसपालिको चाडपर्व धार्मिक र सामाजिक पर्व मात्र नभएर प्रहरीको परीक्षणको घडीसमेत बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.