म्युनिख विमानस्थलमा एक्कासि ड्रोन देखा परेपछि...
काठमाडौं : जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौं ड्रोन देखिएपछि उडानहरू रोकिएका छन्। एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृंखलामध्ये पछिल्लो भएको बताए।
विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू बिहीबार राति स्थगित गरिएका थिए। यस कारण करिब तीन हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन्। त्यस्तै अवतरणका क्रममा रहेका १५ वटा विमानहरूलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्टसहितका अन्य सहरहरूमा मोडिनु परेको थियो।
प्रभावित यात्रुहरूको असुविधा कम गर्नका लागि अस्थायी व्यवस्था स्वरूप विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउने भन्ने विषयमा भने कुनै निश्चित जानकारी दिइएको छैन।
बिहीबार साँझ करिब साढे ७ बजे म्युनिख विमानस्थल वरिपरि धेरै व्यक्तिहरूले ड्रोन देखेको बताएका थिए। यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले बताए। जर्मन अधिकारीहरूले तत्कालै ड्रोनको उत्पत्ति पत्ता लगाउन खोजीकार्य प्रारम्भ गरेका छन्। यस क्रममा प्रहरी हेलिकप्टरहरू समेत तैनाथ गरिएको भए तापनि ड्रोनको किसिम र सङ्ख्याबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !