सुनसरी : लगातारको वर्षाले सुनसरीमा १ हजार ३ सयभन्दा बढी घर डुबनमा परेका छन् । वर्षातका कारण बाढी, डुबान र पहिरोका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
सुनसरीको धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी र भोक्राहा नरसिंहलगायतका स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन् । उनका अनुसार दर्जनौं ठाउँमा सडक अवरुद्ध भएका छन् । डुबानका कारण सयौं स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । कोशी लोकमार्गको धरान–भेडेटार सडकखण्ड र धरान–२० विष्णुपादुका–सागुरीगढी सडकखण्डमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । मधुवन प्रहरी चौकीको कार्यालय भवनमा समेत पानी पस्दा क्षति पुगेको डीएसपी खतिवडाले बताए ।
इनरुवा नगरपालिका–९ मा करिब १२० घर र इनरुवा–१० मा ७० घर बाढीले प्रभावित छन् । जाल्पापुर क्षेत्रमा मात्रै ३०० घर डुबानमा परेका छन् भने करिब ६० घरका बासिन्दा आफन्तकोमा आश्रय लिएर बसेका छन् । इनरुवा नगरपालिका–४ मरिक टोलमा सुनसरी खोलाको बाढी पस्दा २० घर र जानोद्दय आधारभूत विद्यालय डुबानमा परेको छ । इनरुवा नगरपालिका–८ गौरी टोलमा पनि २० घरमा डुवानमा परेका छन् ।
बराहक्षेत्र नगरपालिका क्षेत्रमा करिब १६० घर डुबानमा परेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए । उनले घर डुवान भएपछि बराहक्षेत्र–७ पानी टंकी क्षेत्रका चार घरका बासिन्दा छिमेकीकोमा आ श्रय लिएर बसेको बताए । बराहक्षेत्र–८ दोभान खोलाले स्थानीय ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बराहक्षेत्र नगरपालिका–४ स्थित ३३ बिघा क्षेत्रमा सर्दु खोलाले हाइटेन्सन टावरतर्फ कटान गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर डुबानमा परेका छन् । उद्धारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालित भई टपरा, डोरी र ट्युब प्रयोग गरेर डुबानमा परेकाहरूको उद्धार गरिएको डीएसपी खतिवडाले बताए । भोक्राहा नरसिंह गाउँपालिका–१ धार्मिक्ता टोलमा सुनसरी खोलाको बाढी पस्दा २० घर जलमग्न भएका छन् ।
भोक्राहाकै कार्डियो न्युरो अस्पतालमा पनि डुबान हुँदा चिकित्सकहरू अस्पताल प्रवेश गर्न सकेका थिएनन् । सशस्त्र प्रहरीले बोटमार्फत चार–पाँच जना चिकित्सकलाई अस्पतालभित्र पुर्याएका थिए ।
रामधुनी नगरपालिका–६ र ७ को पंचायन क्षेत्रमा करिब २० घर डुबानमा परेका छन् । इटहरी–५ का ड्रुम र सुकुम्बासी टोलमा गरी १० घर डुवानमा परेको प्रहरीले जनाएको छ । बाढी र पहिरोको जोखिम बढेको स्थानमा फसेकाहरूलाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरी सुरक्षित स्थानमा लगेका थिए । पीडितहरूलाई राहत वितरण नगरिएका कारण उनीहरूको अवस्था नाजुक बनेको छ । पानी घटेपछि मात्रै क्षतिको यकिन विवरण आउन सक्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
देशैभर बाढी–पहिरो, इलाममा ३७ को मृत्यु
दसैंमा सक्रिय भएको मनसुन र पश्चिमी वायुको प्रभावले देशभरका विभिन्न ठाउँमा भारी वर्षा भएको छ। बाढी–पहिरोमा परी देशभर कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने इलाममा मात्र आइतबार साँझसम्म ३७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार १ जना बेपत्ता छन्।
इलामका विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ। बाढी–पहिरोमा परी २० जना घाइते भएको डीएसपी भण्डारीले बताए। उनले घटनास्थल बिकट र प्रहरी पुग्न नसकेका कारण यकिन विवरण प्राप्त गर्न नसकिएको बताए।
इलाम नगरपालिका–६ मा गएको पहिरोमा फसेकाहरूको उद्धार गर्दै सुरक्षाकर्मीहरू । तस्बिर : सौजन्य जिल्ला प्रहरी कार्यालय इलाम
इलामको माईजोगमाईमा ८ जना, देउमाई गाउँपालिकामा ८ जना, इलाम नगरपालिकामा ६ जना, सन्दकपुरमा ६ जना, माङसेवुङ गाउँपालिकामा ३ जना, सूर्र्योदयमा ५ जना, फाकफोकथुममा १ जनाको मृत्यु भएको डीएसपी भण्डारीले जानकारी दिए। मृतकहरू पाँचथर र दोलखा जिल्लाका विभिन्न भागबाट दसंैमा इलामामा पाहुना लाग्न आएका नागरिकलेसमेत ज्यान गुमाएका छन्। मृतकको पहिचान खुल्ने क्रम जारी रहे पनि अहिलेसम्म ३७ जनाको मृत्यु र एकजना नागरिक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय इलामले नामावली सार्वजनिक गरेको छ।
जसमध्ये मृतकहरूमा सुरेश लिम्बु (२८, फाकफोकथुम–३), मनमाया क्षेत्री (६५, सूर्योदय–१ मानेभञ्याङ), रमिका क्षेत्री (१०, सूर्योदय–१मानेभञ्याङ), दीप बस्नेत (४५, दोलखा), भवन्ती बस्नेत (४४, दोलखा), दिब्या बस्नेत (११, दोलखा), समिर देजाली (२३, इलाम–६), प्रवीण तामाङ (२३, इलाम–६), विराज पाठक तामाङ (२३, इलाम–६), अनु तामाङ (३२, झापा अर्जुनधारा–६), प्रिन्सिका मगर (८, माई–५), आवार दत्तुवर (३, झापा अर्जुनधारा–६), रोशन लिम्बु (२२, देउमाई–५), बबिसा राई (२२, देउमाई–५), दीपक लिम्बु (३०, देउमाई–५), ऋषिका लिम्बु (२७, देउमाई–५), दिपिका लिम्बु (९, देउमाई–५), सञ्जन लिम्बु (७, पाँचथर फाकफोटेप), सौरागत लिम्बु (११, पाँचथर फाकफोटेप), कृष्णमाया लिम्बु (५०, माईसेबुङ–१ पार्टी गाउँ), माया लिम्बु (५०, माईसेबुङ–१ पार्टी गाउँ) र नेहा राई (७, पाँचथर मिक्लाजुङ–९) छन्।
त्यस्तै, माईजोगमाई गाउँपालिका–६ ओडारे, माईजोगमाई–३ उयाख र सन्दकपुर गाउँपालिका–१ मा समेत पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। ती स्थानबाट मिमबहादुर राई (४३), हरिमाया राई (६६), देवी राई (७५), शेखर राई (४५), सारादा सेङदाई (७४), तारादेवी राई (४५), कृष्ण मगर (२८), किरण थेबे (२८), मनमाया थेबे (१८), मुस्सा थेबे (३), बमलाल सोडमी (५२), बुद्धमाया सोडमी (७०), धनबल सोडमी (४५), सरला सोडमी (४२) र प्रकृति सोडमी (१४) को मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी भण्डारीका अनुसार अझै केही हराइरहेका छन् र उद्धार तथा खोजी कार्य जारी छ। इलामको माई, देउमाई, माङसेवुङ, सूर्योदय र सन्दकपुर क्षेत्रमा ठूलो संख्यामा घरहरू पुरिएको र बाढीले बगाएको प्रारम्भिक रिपोर्ट आएको उनले बताए।
इलामका विभिन्न स्थानमा भैतिक संरचनामा समेत क्षति पु¥याएको छ। इलाम नगरपालिका ९ र ११ जोड्ने पुवा खोलामा निर्माण गरिएको नयाँ बेलिब्रिज पूर्णरूपमा बगाएको छ। यस्तै माइजोङमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोलामा बनेको नयाँ बेलिब्रिज पनि बगाएको छ।
इलाम नगरपालिका–११ र माई नगरपालिका–१० जोड्ने माइखोला बेलासीस्थित पक्की पुल भाँचिएको छ। देउमाई र माङ्सेबुङलाई जोड्ने पुल पनि बाढीले बगाएको छ। इलाम नगरपालिका–९ र १२ जोड्ने पक्की पुल बाढीको उच्च जोखिममा रहेको छ। यसैगरी, माइखोला राजदुवाली क्षेत्र समेत बाढीको उच्च जोखिममा रहेको छ।
बाढी–पहिरोमा फसेकाहरूलाई स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीहरूले घटनास्थलमा खटिएर उद्धार गरेको कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए। उनले कोशी प्रदेश भरीबाट बाढी र पहिरोमा फसेका ५ सय ३२ जना नागरिकको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिए। 
वर्षाका कारण कोशी प्रदेशमा १६ वटा घरमा पूर्ण क्षति भएको र ५ हजार ९ सय २५ घरपरिवार बिस्थापित भएको एसएसपी पोखरेलले जानकारी दिए। उनले कोशीमा २६ हजार ९ सय ८४ जना बाढी–पहिरोबाट प्रभावित भएको बताए। अत्याधिक वर्षातका कारण सडक सञ्जाल अवरुद्ध भएको र सम्पर्क कटिएका बस्तीमा पुग्न समस्या भएको प्रहरीले बताएको छ। पहिरोले विद्युत् र सञ्चार अवरोध हुँदा राहत तथा उद्धार कार्यमा थप चुनौती आएको छ। स्थानीय निकायले प्रभावित परिवारलाई अस्थायी बसोबास र राहतको व्यवस्था गर्न थालेका छन्। पहिरो र बाढीबाट ज्यान गुमाउने र बिस्तापित परिवारलाई तत्काल सहयोग र राहत प्रदान गरी पुनस्र्थापना गर्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !