वीरगन्ज–२० का वडाध्यक्षले छाडे एमाले
वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधरण सदस्यसमेत नरहने गरि राजीनामा दिएका छन्। यसअघि जेनजी आन्दोलनका क्रममा एमालेको वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका परागले बुधबार भने एमालेको साधारण सदस्यबाटै राजीनामा दिएका हुन्।
बुधबार वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कमा भेला भएका जेनजी युवाहरूको भेलामा पुगेका वडाध्यक्ष परागले एमालेको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरे।आफूले असोज ६ गते नै एमालेको साधरण सदस्यबाट राजीनामा दिइसकेको बताउँदै उनले भने,'त्यो कुरा मिडियामा आएको थिएन।त्यसैले आज त्यहि कुरा सार्वजनिक गरेको हुँ।'
सुशासन र परिवर्तनको चाहना राखेका नागरिक र जेनजी पुस्ताको माग भएको तर नेकपा एमालेको नेतृत्व सुध्रिने संकेत नदेखिएपछि त्यस्तो पार्टीमा आफू बस्न नसक्ने निष्कर्ष निकालेर पार्टी परित्याग गरेको उनले बताए । आफू कुनै राजनीतिक दलमा आवद्ध नभएको बताउँदै उनले अहिलेको जेनजी पुस्ताको साथमा रहने बताए ।
यता नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष परागको राजीनामाबारे अनविज्ञ रहेको प्रतिक्रिया दिए।उनले भने,'लिखित रुपमा उहाँले राजीनामा दिनु भएको छैन। यसअघि पनि उहाँले सोसल मिडियाबाट महानगर उपाध्यक्षबाट राजीनामा दिएको सुनिएको थियो। आधिकारिक रुपमा पार्टीमा लिखित राजीनामा आयो भने हामी त्यसबारे केही सोच्छौं।'
प्रतिक्रिया दिनुहोस !