प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सुन्नुहोस्

मलंगवा : प्रहरीलाई कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् । 

वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ । आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको अगाडिको माथिल्लो दुईवटा दाँत भाँचिएको डीएसपी राईले बताए । आक्रमणबाट प्रहरी चौकीमा कार्यरत अन्य ५ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्।

प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा तीनवटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७ मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिल राय यादव लगायतले कुटपिट गरेका थिए । कुटपिट गरेको आरोपमा पक्राउ परेका अनिललाई प्रहरी चौकीमा राखिएको अवस्थामा कारिलको पक्षबाट आएका वडाध्यक्ष दाससहितको टोलीले प्रहरी चौकीमा आक्रमण गरेका थिए । 

पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ। उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.