नेपालमा भएको परिवर्तनबारे सम्बन्धित मुलुकमा जानकारी गराउन नेपाली राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएकी छन्।
बुधबार परराष्ट्र मन्त्रालयबाट विभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।
त्यस्तै प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति तय भएको अवस्थामा विदेशी सरकार, संस्थाको सहयोग आवश्यक पर्ने भएकाले समन्वय गर्न पनि निर्देशन दिइन्। उनले जेनजी आन्दोलनका कारण सुस्ताएको पर्यटनलगायतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गरेकी थिइन्।
त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारीरूपमा सेवा प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन्। जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुननिर्माण गर्नका लागि पुननिर्माण कोष स्थापना गरिएको अवस्थामा यस विषयमा पनि आवश्यक प्रचार प्रसार गर्न प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता क्षेत्रीले बताए।
प्रतिक्रिया दिनुहोस !