तेल अवीवको धन्यवाद सभामा लाखौँको भीड, नेपालको झण्डा पनि फहराइयो
तेल अवीव : शनिबार साँझ तेल अवीवको होस्टेज स्क्वायरमा भएको विशाल धन्यवाद सभामा लाखौँ मानिस सहभागी भए। सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकफले भावनात्मक सम्बोधन गरेका थिए।
उनले भने, ʻमैले यो रातको सपना देखेको थिएँ। जब साहस र विश्वास भेटिन्छ, चमत्कार हुन्छ। तपाईँहरूले संसारकै आशा बोकेको हुनुहुन्छ। शान्ति कमजोरी होइन, उच्चतम शक्ति हो।ʼ
करिब एक लाखभन्दा बढी सहभागी भीडबीच विटकफले बन्धक परिवारहरूको दृढता र पीडालाई संसारलाई छोएको साहस भन्दै सम्मान गरे। उनले भने,ʻअब तपाईँहरू घर फर्किँदै हुनुहुन्छ।ʼ
सभामा अमेरिकी सेनाका सीईएनटीसीओएम प्रमुख एडमिरल ब्राड कूपर, जारेड कुशनर र डोनाल्ड ट्रमको छोरी इभाङ्का ट्रम्पले पनि सम्बोधन गरे। कुशनरले इजराइली सैनिकहरूको बलिदानको प्रशंसा गर्दै भने, ʻशान्तिको मूल्य बुझेका राष्ट्रहरू कहिल्यै हराउँदैनन्।ʼ इभाङ्काले राष्ट्रपति ट्रम्प सधैं तपाईँहरूको साथमा उभिएको बताइन्। यो रिहाइ विश्वास, साहस र साझा मानवताको विजय भएको उनले बताइन्।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नाम लिँदा केही सहभागीहरूले हूटिङ गरे पनि विटकफले सम्झौता सफल बनाउन नेतन्याहूको भूमिकाको प्रशंसा गरे।
नेपाली समुदायको बाक्लो उपस्थिति
उक्त ऐतिहासिक सभामा इजरायलमा रहेका नेपाली समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले नेपालको राष्ट्रिय झण्डा र विपिन जोशीको फोटोसहित सहभागिता जनाए। भीडबीच फहराएको रातो–निलो झण्डाले तेल अवीवको आकाशमा नेपाल र इजरायलबीचको मानवीय सम्बन्ध झल्काइरहेको थियो।
नेपालीहरूले “विपिनलाई घर फर्काऊ” लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बन्धक बनेका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाईका लागि सामूहिक प्रार्थना गरे। केही सहभागीहरूले भावनात्मक रूपमा भने,ʻविपिन हाम्रा लागि मात्र होइन, सम्पूर्ण नेपाली समुदायको प्रतीक हुन्। हामी उनको सुरक्षित घरफिर्तीका लागि निरन्तर प्रार्थना गरिरहेका छौं।ʼ
नेपाल र इजरायलबीचको श्रम, मित्रता र मानवताको सम्बन्धलाई प्रतिबिम्बित गर्ने यो उपस्थिति सभाको एक भावनात्मक क्षण बन्यो।
सबै बन्धक सोमबार बिहानभित्र मुक्त गर्ने तयारी
अन्तर्राष्ट्रिय मिडियाका अनुसार हमासले बाँकी रहेका सबै बन्धकहरू जीवित र मृत दुबै सोमबार (अक्टोबर १३, २०२५) बिहान सूर्योदय अघि मुक्त गर्ने तयारी गरेको छ।
रिपोर्ट अनुसार हमासले जीवित बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरओ)का प्रतिनिधिहरूलाई हस्तान्तरण गर्न सुरु गरिसकेको छ। हस्तान्तरण प्रक्रिया बिहान करिब ६ बजे सुरु हुने अपेक्षा गरिएको छ। यद्यपि स्थान अझै सार्वजनिक गरिएको छैन।
बन्धक सूचीमा विपिन जोशीको नाम पनि समावेश रहेकाले जोशीको परिवार, नेपाली दूतावास र इजरायलमा रहेका नेपाली समुदाय सबै जना उनको सकुशल फिर्तीको आशामा छन्।
अब विपिन फर्किन्छन् भन्ने विश्वासमा तेल अवीवमा शनिबार राति नेपालको झण्डा फहराउँदै उभिएका नेपालीहरूको आँखा आशा र भावनाले भरिएका थिए ।
पछिल्लो अपडेड अनुशार हमासले आज २० जना बन्धक जीवितै छोड्ने तयारी गरेको जानकारी रहेको छ। इजरायली स्रोतका अनुसार आज साँझ ७ बजेदेखि मध्यरातसम्म बन्धकहरू मुक्त गर्न सुरु हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !