बजेटमा विज्ञानसम्मत प्रणाली

बजेटमा विज्ञानसम्मत प्रणाली
सुन्नुहोस्

नेपालमा सरकारी ढुकुटीको जथाभावी प्रयोग विकासको बाधकमध्ये एक प्रमुख  तत्त्व हो । कुनै प्रणालीबिना नेताका खल्तीका योजनामा बजेट हाल्ने प्रवृत्ति छ । त्यसबाट कुनै प्रतिफल आउँदैन ।

बजेट त निश्चित प्रणालीबाट खर्च गरिनुपर्छ । प्राथमिक आयोजना र योजना छुट्ट्याउनुपर्छ । तिनैमा बढीभन्दा बढी बजेट हाल्नुपर्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले त झन् आयोजना बैंक बनाउनुपर्छ भन्छ । अनि त्यही बैंकमा परेका आयोजनामा मात्रै बजेट हाल्ने व्यवस्था पनि त्यही ऐनले गरेको छ । तर यही आर्थिक वर्ष २०८२/०८३ को रातो किताबअनुसार १ हजार ५ सय ५५ आयोजनामध्ये ४३ प्रतिशत (६ सय ७२ आयोजना) आयोजना बैंकबाहिरबाट बजेटमा समावेश भएका छन् ।

योजना आयोगले तीन करोड रुपैयाँँभन्दा माथिको आयोजना त्यस्तो बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था पनि गरेको छ । यो वर्षको बजेट ल्याउँदा तत्कालीन सरकारले तीन करोड रुपैयाँँभन्दा कममा योजना, आयोजनामा बजेट नहाल्ने नै भनेको थियो । तर कथनी एउटा र करणी अर्काे भयो । एक हजार रुपैयाँँका योजनामा पनि रकम राखेर सरकारले बजेट ल्यायो । जेन—जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्व सरकार पुरानै बजेट कार्यान्वयन गर्नुपर्ने अवस्थामा छ । तर अर्थमन्त्री रामेश्वर खनालले टुक्रे योजनाको बजेट कटौतीको निर्णय गराइसकेका छन् । अब आयोजना बैंकभन्दा बाहिरका आयोजनाको बजेटमा यो सरकारले के गर्ला भन्ने अर्काे जिज्ञासा बाँकी छ । 

आयोजना बैंकमा पनि त्यत्तिकै कुनै आयोजना पर्दैन । मन्त्रालयहरूले जथाभावी यो बैंकमा आयोजना पार्न सक्दैनन् । पहिचान, लेखाजोखा, छनोट र प्राथमिकीकरणको प्रक्रिया पूरा भएका आयोजना कार्यान्वयनका लागि आयोजनाहरूको संग्रह यो बैंकमा गरिन्छ । वित्तीय उत्तरदायित्व र बजेट विनियोजनलाई वैज्ञानिक ढंगको बनाउन यस्तो बैंक प्रभावकारी हुन्छ । तर प्रभावकारिता फितलो पार्ने कामचाहिँ सरकार आफैले गर्दै आएको छ ।

आयोजना बैंकमार्फत नै बजेट प्रणालीलाई लैजानुपर्छ भन्ने सरकारको दृष्टि त प्रस्ट भयो तर व्यवहार भ्रष्ट भइदिँदा प्रणाली ध्वस्त छ । हचुवाका भरमा आयोजना छनोट गर्ने परिपाटी छ ।  सरकारले बर्सेनि विनियोजन गरेको पुँजीगत खर्च लक्ष्यभन्दा कम हुनुको कारण त्यही हो । राजनीतिक नेतृत्वमा दृढइच्छाशक्ति नहुँदा नै बजेटमा बेथिति भइरहेको छ । 

कार्की सरकारसँगको अपेक्षाचाहिँ आयोजना बैंकमा परेका आयोजनाको बजेटमात्रै कार्यान्वयन होस् भन्ने हो । जस्केलाबाट घुसाइएका योजना र बजेटको कटौती गरी त्यसलाई पुनर्निर्माणमा खर्च गरियोस् भन्ने पनि हो । जसरी टुक्रे योजनाहरूको बजेट कटौतीको निर्णय सरकारले गर्‍यो, आयोजना बैंक बाहिरबाट पारिएका बजेटका सन्दर्भमा पनि त्यस्तै हुन जरुरी छ । यद्यपि कार्की सरकारले गरेको कटौतीमा आयोजना बैंकभित्रका आयोजनाको बजेट सुरक्षित रहेको बताइएको छ ।

अब प्रणालीबाहिरका सबै बजेट एकीकृत गर्ने हो भने पुनर्निर्माणका लागि आवश्यक बजेट अवश्यक पनि जुट्छ । र, आवश्यक ठाउँमा मात्रै बजेट विनियोजन गर्दा पक्कै त्यसले परिणाम दिन्छ । विज्ञानसम्मत बजेट प्रणालीलाई व्यवहारमा कडाइका साथ कार्यान्वयन नगर्दासम्म समृद्धि सम्भव छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.