कांग्रेसले के सिकोस् ?
फेरि पनि सच्चिने कि सक्किने ? इतिहासले छोडेको यो ऐतिहासिक मोडमा पनि कांग्रेसले सही निर्णय लिएन भने विनाश पक्का छ।
नै बेला बीपी कोइराला भन्नुहुन्थ्यो, ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बसिरहने कार्यकर्ताहरू या त चरम अवसरवादी हुन् वा दास।’ आज बीपी हुनुहुन्न। उहाँले बाँचेको युग पनि छैन। तर उहाँका महानवाणीले कहीँ न कतै कांग्रेसलाई युग सुहाउँदा मार्गबाट अल्मलिन्छ कि भनेर झक्झक्याइरहेका हुन्छन्। एक—एक युगमा जन्म लिने नेता इतिहासमा बिरलै हुन्छन् र बीपी नेपालको राजनीतिक इतिहासमा एउटा त्यस्तै बिरलै जन्म हो। जो अब कहिल्यै हुने छैन। तथापि उहाँको राजनीतिक जीवनसँगै जन्मिएको पार्टी आजपर्यन्त छ। तर घिटघिटी अवस्थामा।
आज नेपालको राजनीतिमात्रै होइन बरु सिंगो राष्ट्रियता नै अस्तित्वको संकटमा छ। गत भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनका कारण एक प्रकारले नेपालको शासकीय व्यवस्थाबाट राजनीतिक दलहरू विस्थापित भइसकेको अवस्था छ। यद्यपि यो एउटा संक्रमणकालीन अवस्था हो। नेपाली राजनीतिले यस्ता कैयन संक्रमणकालीन अवस्था पार गर्दै आएको छ। तथापि यो भनेको अलि फरक प्रकारको संक्रमण हो। पटकपटक नेपाली राजनीति र राजनीतिक दलहरूलाई कोमामा पु¥याउन खोजिएको इतिहास लुकेको छैन। तथापि हामी पटकपटक खरो भएर अनि फेरि दह्रो भएर उभिएका छौं। यो पनि इतिहासको त्यस्तै पल हो, जहाँबाट हामी फेरि सच्चिएर र बदलिएर उभिनु छ। खरानी खोस्रिएर त्यसलाई टक्टक्याएर फेरि पनि नयाँ चोला लिएर राजनीतिको एउटा शत्मार्ग त हिँड्नु नै छ।
त्यसैले यो समय भनेको आत्मबल कमजोर बनाएर वा राजनीतिक आत्मसम्मान निहु¥याएर बस्ने बेला होइन, बरु हरेक बिहानीसँगै कसरी नयाँ नयाँ उमंग लिएर ब्युँझिने भनेर मन्थन गर्ने बेला हो। निर्मम भएर आत्मसमीक्षा गर्ने बेला हो। दृढ अनि दरिला राजनीतिक संकल्प लिएर फेरि पनि अघि बढ्ने बेला हो। समयभन्दा बलवान् कोही र केही हुन सक्दैन। समयलाई पर्खिने होइन, बरु त्यसको गति, रफ्तार र त्यसको भावसँग आफूलाई पनि दौडाउनु पर्नेछ। त्यसमा पनि कांग्रेसलाई त त्यो छुट छँदैछैन, जसको विलम्बका कारण देश अझै खरानी होस्।
हो, अब फेरि इतिहास निर्माणको एउटा निर्णायक घडीको नेतृत्व गर्नुपर्ने अप्रत्याशित विन्दुमा नेपाली कांग्रेस उभिएको छ। एकदमै निर्मम भएर भन्नैपर्छ, बीपीका ती आदर्शवाणीले मात्रै अबको कांग्रेस कांग्रेस रहने छैन। साँच्चिकै बीपीले भनेजस्तै ‘टुलुटुलु’ हेरिरहने कार्यकर्तामात्रै भएका कारण आज कांग्रेसमात्रै होइन, सिंगो देशको यो गति भएको हो। इतिहासका हरेक निर्णायक पलमा कांग्रेसले नै नेतृत्व गरेको। हरेक इतिहासको साक्षी बनेको कांग्रेस आज फेरि समयको एउटा प्रहरमा आएर निरीहजस्तो हुनुपरेको छ। यो कांग्रेसकै कारणले हो, पार्टीमा अकर्मण्य नेतृत्वका कारणले हो। अझ सबैभन्दा ठूलो कारक त ती लाखौं कार्यकर्ता नै हुन्, जो या त नेतृत्वको ‘दास’मात्रै भए वा ‘चरम अवसरवादी’।
कुनै पनि पार्टीमा नेतृत्व आफैं जन्मिने होइन। कस्तो नेतृत्व जन्माउने भन्ने कुरा हामीले कस्ता कार्यकर्ता हुर्काइरहेका छौं भन्नेमा पनि भर पर्छ। बीपीले जन्माएको त्यो कांग्रेस अनि आज यो हविगत भोगिरहेको कांग्रेस। याद गरौं, बीपीले चाहेको कांग्रेसको यो रूप कदापि हुँदै होइन र थिएन। बीपीका केहीमात्रै आदर्श पथमा हिँड्न र हिँडाउन सकेको भए आज कांग्रेसको यो दुर्दशा हुने थिएन र सिंगो राज्य अनि राजनीतिको यो हविगत पनि हुने थिएन। जसरी इतिहासका हरेक कालखण्डमा पार्टीले नेतृत्व लिएको छ अनि नेतृत्वको अवसर पाएको छ। त्यसैगरी इतिहासका यी घटनाहरूको जिम्मेवारी पनि कांग्रेसले लिनैपर्छ। इतिहासको श्रेयमात्रै लिने तर जिम्मेवारीबाट भाग्ने नीति पार्टीमा थिएन र हुँदैन। कांग्रेसको यो ध्रुवसत्य आदर्शलाई जब नेतृत्वले भुल्न थाल्यो तब यो परिणामले फेरि एकपटक सिंगो देश थिचिएको छ। यो तीतो यथार्थलाई आत्मसात् गर्दै नेपाली कांग्रेसले आगामी बाटो तय गर्नुपर्छ।
जेन–जी आन्दोलन अन्ततः एउटा अन्योलपूर्ण बाटोमा मोडियो। झट्ट सुन्दा र हेर्दा सामान्य लाग्ने मागहरूबाट आन्दोलन सुरु भएको थियो। अर्थात्, नवपुस्ताका मागहरू सामान्य नै थिए। उनीहरूले चाहेका थिए आत्मसम्मान। त्यो भने देशसँग जोडिएको हुन्छ। संसारको जुनसुकै कुनामा जाँदा पनि शिर ठाडो पारेर ‘नेपाली’ हुँ भन्न पाइयोस्। नयाँ पुस्ताले चाहेको त्यही भविष्य र यही वर्तमान थियो। जहाँ राज्य प्रशासन जनतामुखी होस्। न कि नेतृत्वको आफन्तमुखीमात्रै। अवसरको समान वितरण होस्, न कि नेताहरूको घरपरिवारमात्रै सीमित। जेन—जीले चाहेको त्यस्तै नेतृत्व थियो। त्यस्तै नीति थियो। त्यस्तै नेतृत्व अनि त्यस्तै राज्य प्रशासन। एउटा कागज बनाउन जाँदा पनि सरकारी कर्मचारीको हप्कीदप्कीबाट हैरानी खेपिरहेका अनि नेताहरूको शरणमा पुग्नैपर्ने एउटा लाजमर्दाे स्थितिबाट छुटकारा पाउन ‘स्मार्ट’ पुस्ताले मात्रै राज्यलाई खबरदारी गर्न पुगेको थियो।
तर शासकले त्यसलाई एउटा ठूलै ‘डर’ ठाने। जसले उनीहरू आफैंलाई मात्रै पोलेन बरु कैयौं कलिला जीवन मासिए अनि सिंगो देश नै खरानी हुन पुग्यो। यसको जिम्मेवारीबाट नेपाली कांग्रेस पनि भाग्नुहुन्न। त्यसको भागीदारका रूपमा कांग्रेसले नेपाली जनतासँग माफी माग्नैपर्छ। र सच्चिएर अघि बढ्नैपर्छ। जेन—जी आफैंमा कुनै एउटा समूह, राजनीतिक दल वा कुनै समूह होइन बरु यो त आम नवपुस्ताको सामूहिक भावना हो। त्यसको कदर हुनैपर्छ र त्यो भावनाको प्रतिबिम्ब नेपाली कांग्रेसमा देखिनुपर्छ। आजको पुस्ताले चाहेको कांग्रेसको त्यस्तै बिम्ब हुनुपर्छ। त्यसका लागि कांग्रेसभित्र नयाँ र युवा पुस्ताको भाव बुझ्ने दोस्रो वा तेस्रो तह जुर्मुराउनै पर्छ।
यो अन्योल अनि अनिश्चितताका बीच कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। देश अनि समग्र राजनीतिको भविष्य नै के होला ? भन्ने यो समयमा कांग्रेस जसरी पार्टी पुनर्जीवनको एउटा बहसभित्र थुनिएको छ अब विकल्प छैन, त्यसबाट बाहिर निस्किनैपर्छ। मक्किएको, थोत्रिएको अनि अविश्वसनीय र सिंगो जनताबाट एक प्रकारले अस्वीकृत भइसकेको नेतृत्वले अब फेरि नवकांग्रेसको नेतृत्व गर्न सक्दैन। हिजो नेतृत्वले यही कुरा नबुझेर वा नसुनेर आजको यो अवस्था आएको हो। अब फेरि त्यही अवस्था दोहोरिन दिनुहुन्न। परिस्थिति सहज हुन्थ्यो त नेपाली कांग्रेस यतिबेला १५औं महाधिवेशनको संघारमा हुनेथियो। तर परिस्थिति फेरिएको छ। बाटाहरू बदलिएका छन्।
फेरि पनि सच्चिने कि सक्किने ? इतिहासले छोडेको यो ऐतिहासिक मोडमा पनि कांग्रेसले सच्चिने बाटो रोजेन भने यसको दुर्गति वा विनाश कसैले रोक्न सक्दैन। समयले हामीलाई यति चोटिलो झापड हानेर अघि बढिसकेको छ त्यसको बदला होइन, बरु बदलिएर समयको गति समाउनु पर्नेछ। त्यो भनेकै नयाँ पुस्ताको भावनालाई समेट्नु हो। सके नियमित होस् वा विशेष महाधिवेशन तत्कालै निक्र्याेल गरोस्। कुनै राजनीतिक बहकाउमा लागेर संसद् पुनस्र्थापना वा त्यस्तै अन्योलग्रस्त र बिथोलिने बाटो नरोजोस्। किनकि यो भनेको त्यो राजनीतिक अवस्था होइन।
अवस्था र परिस्थितिलाई कांग्रेसले राम्रोसँग बुझोस्। फागुन २१ मा चुनावमा शक्ति लगाउने प्रण गरोस्। कांग्रेसले सबैभन्दा पहिला त आफ्नो नेतृत्व फेरोस्। चेत फेरोस्। र यो देशको मुहार फेर्ने दृढ संकल्प गरोस्। त्योसँगै गम्भीर, अनिश्चित, अन्योल र अत्यासलाग्दो स्थितिबाट यो देशलाई निकास दिन बाटो पनि पहिल्याओस्। यो जिम्मेवारीबाट उम्किने, भाग्ने अनि पछि हट्ने छुट नेपाली कांग्रेसलाई छँदै छैन। हुनु पनि हुँदैन।
प्रतिक्रिया दिनुहोस !