तस्करी गरेर ल्याइएको १० लाख बढीका कपडा र किराना सामान बरामद
विराटनगर : भारतको जोगवनीदेखि भन्सार छली गरी तस्करीमार्फत भित्राइएको १० लाख मूल्य बढीका कपडा र किराना सामान विराटनगरबाट मंगलबार बरामद भएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बेवारिसे अवस्थामा लत्ताकपडा र किराना सामान फेला पारेर बरामद गरिएको बताइन्। उनका अनुसार विराटनगर महानगरपालिका–७ बाट १० लाख ११ हजार ९ सय ४० रुपैयाँ बराबरको सामान बरामद भएको हो। कपडा ९ लाख ५७ हजार ६ सय रुपैयाँ र किराना सामान ५४ हजार ३ सय ४० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ।
कपडा र सामान कसले तस्करी गरेर ल्याएको हो भनेर खुल्न सकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। जोगवनीबाट अवैध रूपमा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान छाडेर तस्करीमा संलग्नहरू फरार भएको हुनसक्ने प्रहरीको आशंका छ। बरामद गरिएको कपडा र किराना सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी डीएसपी चुँडालले दिइन्।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार चाडपर्वका बेलामा तस्करी बढ्न सक्ने सम्भावना रहेकाले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ। सशस्त्र प्रहरी, भन्सार लगायतका निकायसँग समन्वय गरेर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए। तिहार नजिकिएसँगै तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर कडाइका लागि सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी एसपी कटवालले दिए।
प्रतिक्रिया दिनुहोस !