इनरूवा–न्यू पूर्णिया र दोदोधरा–बरेली निर्माणका लागि संयुक्त कम्पनी बन्ने

इनरूवा–न्यू पूर्णिया र दोदोधरा–बरेली निर्माणका लागि संयुक्त कम्पनी बन्ने
सुन्नुहोस्

काठमाडौं : अन्तरदेशीय प्रसारणलाइन इनरूवा–न्यू पूर्णिया र दोदोधरा–बरेली निर्माणको प्रक्रिया अघि बढाइने भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ४ सय केभी (किलोभोल्ट) क्षमताका २ अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनाको प्रक्रिया अघि बढाउन स्वीकृति दिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

साथै बैठकले संयुक्त कम्पनीमा प्राधिकरणले हाल्नुपर्ने स्वपुँजी लगानीको पनि स्वीकृति दिएको छ । प्राधिकरणले इनरूवा–न्यू पूर्णियामा १ अर्ब र दोदोधरा–बरेली निर्माणका लागि २ अर्ब रुपैयाँ स्वपुँजी लगानी गर्नुपर्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको हो । 

२०८१ माघ अन्तिम साता भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १२औं बैठकले २ अन्तरदेशीय प्रसारणलाइन बनाउन सहमति जनाएको थियो । भारतको नयाँ दिल्लीमा भएको उक्त बैठकले नेपाल–भारतबीच इनरूवा–न्यु पूर्णिया र दोदोधरा–बरेलीबीचको ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माण कार्य संयुक्त सहकार्यमार्फत अघि बढाइने भनिएको छ । इनरूवा–न्यू पूर्णिया सन् २०२८÷२९ सम्म र दोदोधरा–बरेली २०२९÷३० सम्ममा सम्पन्न गर्ने भनिएको छ । 

यसका लागि नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फको प्रसारण लाइनका लागि ५१ प्रतिशत पावर ग्रिड र ४९ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको स्वपुँजी रहने गरी संयुक्त सहकार्यको मोडालिटीमा गर्ने सहमति भएको थियो । संयुक्त सहकार्यको कम्पनी स्थापना बैठक भएको एक महिनाभित्र सम्पन्न गर्नेसमेत सहमति भएको थियो । तर, प्रक्रियागत ढिलाइ कारण संयुक्त कम्पनी स्थापना गर्न केही समय लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले बताए । ‘दुवैतर्फ प्रक्रियागत समस्याका कारण संयुक्त कम्पनी स्थापनाको काम केही धकेलिएको हो । 

अब भारततर्फबाट पनि स्वीकृति लिइसकेको र हाम्रो पनि मन्त्रिपरिषद्ले स्वीकृत दिएकाले अब काम दु्रत गतिमा अघि बढ्छ,’ उनले भने । अब छिट्टै दुई देशबीच संयुक्त कम्पनी स्थापनाका लागि सेयरहोल्डर एग्रिमेन्ट र जोइन्ट भेन्चर एग्रिमेन्ट गरिने देवले बताए । दुवै एग्रिमेन्ट भएपछि संयुक्त कम्पनी स्थापना भई निर्माणको काम सुरु हुने बताइएको छ ।

निर्माण हुन लागेको इनरुवा–पूर्णिया प्रसारणलाइनको कुल लम्बाइ १३५ किलोमिटरमा नेपालले २६ किलोमिटर र भारतले १०९ किलोमिटर निर्माण गर्नुपर्ने छ । यस्तै दोदोधरा–बरेली प्रसारणलाइनको कुल लम्बाइ २१८ किलोमिटरमा नेपालले ३३ किलोमिटर र भारतले १८५ किलोमिटर निर्माण गर्नुपर्ने छ । 

२०८१ साल माघ ९ गते दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले उक्त दुई अन्तरदेशीय प्रसारणलाइन निर्माणको मोडालिटी (प्रारूप) टुंगो लगाएको थियो । 
उक्त बैठकले सेयर अनुपात ५१ र ४९ प्रतिशत हुने गरी प्रसारण लाइन निर्माण अघि बढाउने सहमति जनाएको थियो । उक्त बैठकले दुई वर्षदेखि टुंगो लगाउन नसकेको यी प्रसारणलाइन निर्माणको मोडालिटी टुंगो लगाएको थियो । 

नेपाल–भारत प्रसारणलाइन गुरुयोजनाले नेपालका विभिन्न ६ प्रसारणलाइन करिडोरहरूमा ११ वटा ४ सय केभी प्रसारणलाइन बनाउने भनिएको छ । त्यसमा ढल्केवर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण भएर सञ्चालनमा छ । दोस्रो बुटवल–गोरखपुर ४ सय केभी प्रसारणलाइन निर्माणाधीन रहेको छ । 

एमसीसी परियोजनाले सन् २०२६ मा सम्पन्न हुने गरी यसको निर्माण सुरु गरिसकेको छ भने भारततर्फको लाइन निर्माणको काम पनि अघि बढिरहेको छ । तेस्रो भनेको ढल्केवरदेखि सीतामणिसम्मको अन्तरदेशीय प्रसारणलाइन हो, जुन अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगमले बनाइरहेको छ ।

त्यसपछिको प्रसारणलाइन भनेका पूर्वमा इनरुवादेखि पूर्णियासम्म र सुदूरपश्चिममा लम्कीको दोदोधारादेखि भारतको बरेलीसम्म ४ सय केभी प्रसारणलाइनहरू बनाउने भन्ने प्रस्ताव छ । नेपाल–भारत मिलेर बनाउन लागेको यी अन्तरदेशीय प्रसारणलाइनको शुल्क (क्यापसिटी बुकिङ) नेपालले नै तिर्ने सहमति भइसकेको छ । अब प्रयोग गरे पनि–नगरे पनि वा क्षमताअनुसार विद्युत् प्रसार भए पनि–नभए पनि नेपालले प्रसारणलाइन शुल्क भारतलाई तिर्नुपर्ने छ ।

नेपालले यसअघि पनि भारतसँगको अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुज्जफपुर र निर्माणाधीन बुटवल–गोरखपुर ४ सय केभी प्रसारणलाइनको शुल्क २५ वर्षका लागि आफैंले तिर्ने सहमति गरिसकेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.