मिथिलामा गोधन पर्व मनाइयो
महोत्तरी : मिथिलानीहरू गाउँको चौबाटोमा एकाबिहानै जम्मा भई तिहार अन्तर्गतको गोधन पर्व मनाइएका छन्। प्रत्येक वर्ष यमपञ्चकको चौथो दिन मधेशमा मनाइने धार्मिक अनि सांस्कृतिक पर्व गोधन उल्लासमय तवरले मनाइएको हो। बुधबार एकाबिहानै उनीहरू गाईको गोबर र केराउ मिसाएर ओखलमा कुट्दै समूहगत रूपमा पर्व मनाएका हुन्। लोकलयमा आधारित मंगल गीतले गोधन कुट्ने समयको माहोललाई संगीतमय बनाएको थियो।
अघिल्लो दिन राति गाई–भैंसीको गोठमा गोबरबाट माता लक्ष्मी र भगवान विष्णुको प्रतीक स्वरूप ‘गोधन’ बनाइन्छ। त्यसको भोलिपल्ट एकाबिहानै केराउ मिसाएर कुट्ने चलन रहेको छ। महिलाले गोधनबाट निकालिएको केराउका दाना (बजरी) दाजुभाइलाई खुवाएपछि भाइहरूले दिदीबहिनीलाई कोसेली दिने परम्परा रहेको छ।
भनिन्छ, द्वापर युगमा भगवान श्रीकृष्णले इन्द्रको वर्षाको प्रकोपबाट गोकुलवासीलाई जोगाउन आफ्नो कान्छी औँलाको सहाराले गोवर्धन पर्वत उठाएका थिए। श्रीकृष्णले पर्वत उठाएर गोकुलवासीलाई सुरक्षा प्रदान गरिएको स्मरणमा यो पर्व मनाइने धार्मिक परम्परा रहेको छ।
गोधन मनाइएका मिथिलानीहरू भरद्वितीया मनाउने तयारीमा जुटेका छन्। देशभरिमा भाइटीका मनाइरहेको समयमा यमपञ्चकको पाँचौ दिन मिथिलान्चलमा भरद्वितीया मनाउने चलन रहेको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई फलफूल, पान–सुपारी, कपडा र मिठाइ अर्पण गर्ने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने परम्परा रहि आएको छ।
यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई केराउको दाना खुवाउने, अर्थात् ‘बजरी दिने’ चलन रहि आएको छ। यसको अर्थ दाजुभाइ दीर्घायु र बलियो रहून् भन्ने शुभकामना समेत रहेको धार्मिक मान्यता रहेको छ।
प्रतिक्रिया दिनुहोस !