बाली बिगार्ला है बेमौसमी पानीले !
काठमाडौं : भित्र्याउन लागेको धान पानीले बिगार्ने हो कि भन्ने चिन्ता अहिले किसानमा बढेको छ । मौसमविद्हरूले सोमबार रातिदेखि नै वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउनुपर्ने सुझाव दिएपछि यो चिन्ता बढेको हो । नेपालका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पूर्वी तराईमा झनै ठूलो पानी पर्न सक्ने भन्दै सचेत रहन सुझाएका छन् ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल भन्छन्, ‘तराईले खडेरीसँग संघर्ष गरेर रोपेको धान भि याउने बेलामा पर्न लागेको पानीले विनाश गर्ने हो कि ? सावधानी अपनाउनुहोस् ।’
सन् २०२१ मा पनि धान भित्र्याउन नपाउँदै परेको पानीले सारा किसानको सपना चकनाचुर बनाएको थियो । त्यतिबेला २४ घण्टामा ३६१ मिलिमिटरसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाउँछ ।
यस वर्षको जुन महिना नेपालका सम्पूर्ण भूभाग सुक्खा रहेको थियो । पर्याप्त पानी नपर्दा मधेस प्रदेशलगायत अन्य भूभाग नराम्ररी प्रभावित बन्यो । तर बाली थन्क्याउने बेलामा समेत पानीले दुःख दिन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सोमबार विज्ञप्ति जारी गरिसकेको छ । सोमबार रातिदेखि पर्ने पानीले दैनिक जनजीवन मात्रै नभएर कृषि, पर्यटन, पर्वतारोहणमा समेत असर पार्ने भएकाले सावधानी अपनाउनुपर्ने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्, ‘देशमा पश्चिमी वायु तथा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको कारणले सोमबार रातिदेखि बुधबार बिहानसम्म हिमपात र वर्षाको सम्भावना बढाएको छ ।’ गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा हिउँपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।
गण्डकी प्रदेशको गोरखा, म्याग्दी, मनाङ, मुस्ताङलगायत आसपासका ठाउँमा भारी हिउँ पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका सहप्राध्यापक पोखरेलले नेपालभरि अरब सागर र बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका असरकै कारण बादल फैलिएको बताएका छन् । पश्चिमी वायुको प्रभाव भने थोरै मात्रामा भएको उल्लेख गरेका छन् ।
मंगलबारदेखि पश्चिम नेपालमा भारी वर्षा हुने र पूर्वका आधाजसो भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मुलुकको आधा भागमा बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना रहेको पोखरेलले जनाए । अक्टोबर, नोभेम्बरमा साइक्लोनहरू विकसित हुने समय भएकाले त्यसको प्रभावले पानी पार्ने सम्भावना रहने मौसमविद्हरू बताउँछन् ।
सोमबारदेखि काठमाडौंको मौसम पनि धुम्मिएको छ । सोमबारको तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी नपरे पनि चिसो अनुभव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !